बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार


साथसाथै न्युज
२९, असोज २०८३
बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । आइतबारदेखि बुधबारसम्म चार दिनमा उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

बाढीले उत्तरी गोरका जोड्ने सडक, पदमार्ग र पुलमा क्षति पुर्‍याएपछि विभिन्न स्थानमा स्थानीय बासिन्दा तथा पर्यटक फसेका थिए । सडक सम्पर्क अवरुद्ध हुँदा उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन हेलिकोप्टर प्रयोग गर्नुपरेको शर्माले बताए ।

उनका अनुसार आइतबार ९६ जनाको उद्धार गरिएको थियो । सोमबार ३२१, मंगलबार १८६ र बुधबार ४४१ जनाको उद्धार भएको हो । 

बाढीले उत्तरी गोरखाका विभिन्न बस्तीमा क्षति पुर्‍याउनुका साथै जनजीवन प्रभावित बनाएको छ । चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल रेडक्रस सोसाइटीको प्रारम्भिक आकलनअनुसार जिल्लाका चार स्थानीय तहमा १७४ घरपरिवार प्रभावित भएका छन् ।

 

उद्धारसँगै राहत सामग्री ढुवानी

सडक र पदमार्ग अवरुद्ध भएपछि प्रभावित बस्तीमा राहत सामग्री पुर्‍याउनसमेत हेलिकोप्टर प्रयोग भइरहेको छ । हेलिकोप्टरबाट खाद्यान्न, त्रिपाल, म्याट, सिरक, सिरानी, सोलार र जेनेरेटरलगायत सामग्री ढुवानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

“राहत वितरण गर्नका लागि पनि हेलिकोप्टरकै प्रयोग भइरहेको छ । यताबाट उद्धार गर्न जाने हेलिकोप्टरले राहतका सामग्री लाने र उताबाट आउँदा मान्छेलाई उद्धार गरेर ल्याउने गरेको छ”, शर्माले भने ।

 

रेडक्रसद्वारा राहत तथा प्रतिकार्य तीव्र

नेपाल रेडक्रस सोसाइटीले पनि बाढी प्रभावित क्षेत्रमा राहत वितरण, क्षतिको आकलन र मानवीय सहायताका कामलाई तीव्रता दिएको छ ।

रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका स्वयंसेवक परिचालन गरिएको थियो । उनीहरूले जोखिममा रहेका समुदायलाई पूर्वसूचना दिनुका साथै प्रतिकार्यका काममा सहयोग गरिरहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा प्रभावित क्षेत्रमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र डिग्निटी किटलगायत गैरखाद्य सामग्री पठाइएको खनालले बताए । अस्पताल सञ्चालन गर्न सकिने दुईवटा ठूला टेन्टसमेत प्रभावित क्षेत्रमा पुर्‍याइएको उनले जानकारी दिए ।

“क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको र थप आवश्यक गैरखाद्य सामग्री आज सरकारको समन्वयमा पठाइँदै छ । प्रभावित क्षेत्रमा मानवीय सेवा पुर्‍याउन स्वयंसेवक तल्लीन छन्”, खनालले भने ।

बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित बस्तीमा पुग्न कठिनाइ भइरहेको छ । यस्तो अवस्थामा उद्धारसँगै राहत सामग्रीको ढुवानी र प्रभावित परिवारको आवश्यकता पहिचानलाई प्राथमिकता दिइएको छ ।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • हिमालमा विपद्को दोहोरो असर : हिम्लुङमा १५ को मृत्यु, हिमपातले मानसरोवर यात्रा प्रभावित

    काठमाडौं, असोज १६ हिमाली क्षेत्रमा निरन्तर वर्षासँगै भएको भारी हिमपातले नेपालको पर्वतीय पर्यटन र

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend