गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती तथा भौतिक संरचनामा क्षति पुर्याएको छ। बाढीले घर, तीनवटा पुल र जलविद्युत् आयोजनाको निर्माणस्थलमा क्षति पुर्याएको छ। नदीको बहाव घटबढ भइरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङ क्षेत्रबीच पहिरो खसेर नदीको बहाव अवरुद्ध भएपछि बाढी आएको प्रारम्भिक विवरण छ। नदी थुनिएपछि एक्कासि पानी खुलेर लेदो, गेग्रान र ठूला ढुङ्गासहितको बाढी बस्तीमा पसेको थियो।
बाढीले चुमनुब्री गाउँपालिकाका पैयुँ, बगर, जगत्, सल्लेरी र घट्टेखोलालगायत क्षेत्र प्रभावित भएका छन्। विभिन्न बस्तीका घर बगेका छन् भने कतिपय घरमा बाढी पसेको छ। क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।
बाढीले न्याकचेत–सिर्दिबास जोड्ने झोलुङ्गे पुल, माछीखोला–केरौंजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–सोतीस्थित फलामे पुल बगाएको छ। पुलहरू बगेपछि प्रभावित बस्तीबीचको आवतजावतमा समस्या भएको छ। बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलमा रहेको क्याम्प तथा उपकरणमा समेत क्षति पुगेको छ। आयोजनामा कार्यरत कामदारहरू सुरक्षित स्थानमा पुगेका छन्।
बाढीको जोखिममा परेका जगत् क्षेत्रका ६ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यमा परिचालित छन्।
बूढीगण्डकीको बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा समेत जोखिम बढाएको छ। बेनीघाटदेखि मुग्लिनसम्मका नदी किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ। खोरलाबेँसी, माछीखोला, सोती, आरखेत र आरुघाटलगायत क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई नदीको बहाव बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा जान भनिएको छ।
बाढीबाट भएको कुल भौतिक क्षति तथा सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। नदीको बहाव घटबढ भइरहेकाले जोखिम पूर्ण रूपमा टरिसकेको छैन। स्थानीय बासिन्दालाई नदी किनारबाट टाढा रहन र प्रशासनको सूचनाअनुसार सतर्कता अपनाउन आग्रह गरिएको छ।