चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम


१३, कात्तिक २०८३
चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना बढेको छ । मौसम प्रतिकूल हुने पूर्वानुमानपछि उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा निस्कने पर्यटकलाई सतर्क रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि सुरु भएको मौसमी प्रणालीको प्रभाव शुक्रबार र शनिबार थप देखिने सम्भावना छ । यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ ।

केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम पनि छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहने महाशाखाले जनाएको छ ।

मौसमको प्रतिकूलताले हिमाली पर्यटन तथा पदयात्रामा असर पार्न सक्ने देखिएको छ । यसअघि पनि हिमपात, बाढी र पहिरोका कारण अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आवागमन प्रभावित भएको थियो । पछिल्लो मौसमी प्रणालीले उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकका लागि थप चुनौती सिर्जना गर्न सक्छ ।

पर्यटन विभागले अक्टोबर २८ देखि नोभेम्बर १ सम्म उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ । हिमाली क्षेत्रमा पुगिसकेकाहरूलाई सुरक्षित स्थानमा रहन र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै किसानलाई धानबाली भित्र्याउन तथा काटेर सुकाइराखेको धान सुरक्षित राख्न पनि आग्रह गरिएको छ । लगातार वर्षा नभए पनि मौसममा आउने उतारचढावले कृषि, यातायात र पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले आवश्यक तयारी गर्नुपर्ने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाले मौसमी प्रणालीको नियमित निगरानी गरिरहेको जनाएको छ । विभागले जारी गर्ने पछिल्लो मौसम बुलेटिन र सूचनालाई आधार मानेर यात्रा तथा अन्य गतिविधिको योजना बनाउन आग्रह गरिएको छ ।

 

सम्बन्धित समाचार

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान

    काठमाडौँ- यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend