काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण रूपमा नष्ट भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ। बाढीमा पाँच जना बेपत्ता भएका छन्। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरण कार्य जारी छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विश्लेषणअनुसार बाढीले दुईवटा कङ्क्रिट पुल, दुईवटा झोलुङ्गे पुल र तीनवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। यसका साथै ३४ वटा पशु गोठ र तीनवटा सवारीसाधनमा समेत क्षति पुगेको छ।
आइतबार बिहान करिब ४ बजे आएको बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्ती प्रभावित भएका छन्। पैयुँ, बगर, दोभान, घट्टेखोला, जगत् र सल्लेरीलगायत क्षेत्रमा घर, सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। बाढीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलमा समेत क्षति पुर्याएको छ।
प्रारम्भिक अध्ययनअनुसार उत्तरी गोरखाको चुम्चेत क्षेत्रनजिक पहिरोले नदीको बहाव अवरुद्ध गरेपछि थुनिएको पानी एक्कासि खुलेर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। बाढीसँगै लेदो, गेग्रान र ठूला ढुङ्गा बग्दा नदी किनारका बस्तीमा ठूलो क्षति पुगेको हो। घटनाको वास्तविक कारण पत्ता लगाउन प्राविधिक अध्ययन भइरहेको छ।
बाढीपछि हालसम्म ९५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिक रहेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली खोज तथा उद्धार कार्यमा परिचालित छन्। दुर्गम बस्तीमा राहत सामग्री पुर्याउन सडक तथा हवाई मार्ग प्रयोग भइरहेको छ।
बाढीको प्रभाव बूढीगण्डकीमा मात्र सीमित नरही त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासीका नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ।
बाढीमा बेपत्ता भएका पाँच जनाको खोजी जारी छ। हालसम्म मानवीय मृत्यु भएको पुष्टि भएको छैन। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन तथा उद्धार कार्य जारी रहेकाले अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन।