पृथ्वी जोगाउने महाअभियानमा लागौं 


साथसाथै न्युज
१६, कात्तिक २०८०
पृथ्वी जोगाउने महाअभियानमा लागौं 

'ग्लोबल वार्मिङको युग सकिएको छ, ग्लोबल बोइलिङको युग सुरु भएको छ,' मैले आफ्नो भनाइ संयुक्त राष्ट्रसंघका महासचिवको भनाइबाट सुरु गरेँ। उहाँले जुलाई महिनाको अन्तिम साता दिएको सो अभिव्यक्तिले साँच्चिकै हामीलाई झस्काएको छ, गम्भीर बनाएको छ। जलवायु परिवर्तनका कारण सिर्जित समस्या न्यूनीकरणका लागि तत्काल पहल गर्न राष्ट्रसंघ प्रमुखले आग्रह गर्नुभएको छ। अनि हाम्रो काँधमा यतिबेला भविष्यको पुस्ताको लागि बस्न योग्य पृथ्वी सुरक्षित गर्ने ठूलो जिम्मेवारी छ। 

जलवायु परिवर्तनको असर वहुआयामिक छ, यसबारे तपाईंहरु जानकार हुनुहुन्छ। केही महिना अगाडि मात्रै क्यानडा, ग्रिस र इटालीमा निकै भयंकर आगलागी भयो, अनि चीनको राजधानी बेइजिङमा १४० वर्ष यताकै सबैभन्दा धेरै पानी पर्‍यो। गत जुलाई महिना अहिलेसम्मकै सबैभन्दा तातो महिना रह्यो जसले सबैलाई झस्कायो। 

गत वर्ष पाकिस्तानमा आएको बाढीले विश्वको ध्यान खिच्यो। हामीकहाँ सन् २०२१ मा मेलम्ची खोलामा आएको बाढी, त्यही वर्ष मनाङको बाढी र केही दिन अगाडी मात्रै कागबेनीमा भएको क्षति हाम्रो आँखा अगाडि छ। यस वर्ष तराई मधेशमा पर्याप्त पानी परेन, रोपाइँ राम्रोसँग हुन सकेन। कृषिमा जलवायु परिवर्तनले गम्भीर असर गरिरहेको छ, जसका कारण हामी खाद्य संकटतर्फ उन्मुख भइरहेका छौँ।   

हामी यो सम्मेलन निकै महत्वपूर्ण र अर्थपूर्ण समयमा गरिरहेका छौँ। अबको केही महिनामा नै विश्वका नेताहरु कोप २८ सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स (यूएई)मा भेला हुँदैछन्। नेपालले कोप २८ सम्मेलनमा नेपालले उठान गर्नुपर्ने एजेण्डामा छलफल भइरहेको छ। 

विशुद्ध रुपमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने उद्देश्यले महिलाहरुको पहलमा र उनीहरुकै नेतृत्वमा स्थापना भएको यो संस्था साथसाथै एक गैरनाफामुलक गैरसरकारी संस्था हो। हामीले जलवायु परिवर्तनको असरको बारेमा नीतिगत निमार्ण गर्ने केन्द्र तहदेखि स्थानीय तहसम्म निरन्तर काम गरिरहेका छौँ, जसमा तपाईंहरुको साथ र सहयोग छ। 

मलाई लाग्छ, हामीले जलवायु परिवर्तनको विषयलाई निकै प्राथमिकताका साथ उठाउनुपर्छ। तर, त्यसका लागि हामीले त्यत्तिकै तयारी पनि गर्नुपर्छ। सो क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय समुदायलाई देखाउन सक्ने थुप्रै विषय छन्। हामी सो एजेण्डाप्रति धनी मुलुकको ध्यानाकर्षण गर्न सफल भइसकेका छौं, अब राम्रो तयारीका साथ अगाडि बढ्ने बेला आयो, अर्थात काम गर्ने समय आयो। 

जलवायु परिवर्तनको असर स्थानीय तहमा देखिन थालिसकेको छ, यति मात्र होइन्, ठूलो समस्याको रुपमा आइसकेको छ। तर, स्थानीय तहमा अझै पनि यसलाई सही रुपमा बुझ्ने र त्यही अनुसार कदम चाल्न ढिलो भइसकेको भइसकेको छ। त्यसैले स्थानीय तहलाई जानकारी गराउन ढिलो भइसकेको छ। हामी स्थानीय तहमा पुग्ने कोसिस गरिरहेका छौँ र पुग्‍नेछौं, यसमा तपाईंहरुको साथ आवश्यक छ। 

विश्व तापमान वृद्धिका कारण नेपालका हिमालहरु पग्लीरेहका छन्। जसले एक दशकअघिसम्म सेताम्य देखिने हिमालहरु कालो चट्टानमा परिणत भइसकेका छन्। नेपालको हिउँ पग्लिँदा त्यसले नेपाललाई मात्र असर गर्दैन, विश्वको पानी प्रणालीलाई नै असर गरिरहेको छ। यसमा हामीले सानो प्रयास गरेका छौं, गर्न बाँकी धेरै छ। यही विषयबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवादको चर्चा चले पनि त्यो अगाडि बढ्न सकेको छैन।
 
जलवायु परिवर्तनको विकराल असरको लामो सूची छ, मैले केही विषयमात्र उठाएको हुँ। जलवायु परिवर्तनबाट सबैभन्दा बढी को–को प्रभावित भइरहेका छन? निश्चय नै महिला, आर्थिक रुपमा पिछडिएको वर्ग, शारीरिक रुपमा अशक्तलगायतको समुदाय बढी प्रभावित भइरहेका छन्। उनीहरुका पीडा, कथा र विषयहरुलाई हामीले नीति निर्माण तह र अन्तर्राष्ट्रिय मञ्चसम्म लैजान आवश्यक छ। जलवायु न्यायको विषयमा चर्चा भइरहेको छ, तर काम चाहीँ थोरै भएको छ। क्लाइमेट जस्टीसको कुरा गर्दा मानव मात्र होइन्, आज प्रकृतिलाई पनि न्याय चाहिएको छ, अनि यस पृथ्वीमा बस्ने मानिस मात्र होइन, जो कोहीलाई न्याय चाहिएको छ। अनि त्यो न्याय दिन पहल गर्ने चाहीँ हामी मानवले नै हो, किनभने आजको संकट मानव सिर्जित तथा हामीले सिर्जना गरेको समस्या हो। 

त्यसैले जलवायु परिवर्तनको असर कम गर्न काम गर्नु हाम्रो कर्तव्य र दायित्व हो। अझ म भन्छु, यो हाम्रा लागि बाध्यकारी हो, किनभने हाम्रो क्रियाकलापले आज पृथ्वी नै वेदनामा छ। त्यसैले हामी यो महाअभियानमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराइरहेका छौं। अनि यो विकराल समस्या कुनै संस्था र व्यक्तिले सम्बोधन गर्न सक्ने विषय होइन, हामीले सामूहिक पहल गर्न आवश्यक छ। हामी हातमा हात, साथमा साथ मिलाएर अगाडि बढनुपर्छ। हामी सबै सरोकारवाला साथसाथै जानुपर्छ भन्ने मान्यतामा दृढ छौ, त्यसैले हाम्रो संस्थाको नाम साथसाथै छ नी। 
अनि म के जोड दिएर भन्न चाहन्छु भने हामीले युवा, जसको भविष्य योसँग जोडिएको छ, उनीहरुलाई अगाडी बढाउनुपर्छ। अहिलेको युवा पुस्ताले नै विगतका अनुभवहरु र समस्याहरुबाट सिक्दै भोलिको पुस्तालाई सुरक्षित पृथ्वी सुम्पिन नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गर्न चाहन्छु। 

साथसाथै जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न महिलाले नै नेतृत्व गरेको एक गैरसरकारी संस्था हो। सन २०२१ म स्थापना भएको यो संस्था तपाईंहरुको माया र साथले छोटो समयमा नै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। हामी लगातर यस क्षेत्रमा लागिरहेको छौँ। हामी तपाईहरुसँग साथसाथै भएर यो पृथ्वी जोगाउने महान अभियानमा योगदान गर्न चाहन्छौँ, हामी विश्वास गर्छौं, हाम्रो थोपा–थोपाको प्रयासले सफलता प्राप्त गर्नेछ। 

(साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले जलवायु सम्मेलनमा दिनुभएको मन्तव्यको सम्पादित अंश।)

सम्बन्धित समाचार

  • जलवायु परिवर्तनका कारण उच्च जोखिममा छन् हिमालका महिलाहरु 

    सगरमाथा विश्वको शीर हो र विश्वभरका मानिसहरु सगरमाथा क्षेत्रमा पुगिरहँदा मलाई पनि एक पटक जानैपर्छ

  • जलवायु परिवर्तनका कारण हिमालभन्दा अग्ला समस्यासँग जुध्दै हिमालबासी 

    काठमाडौंबाट सगरमाथा क्षेत्रको यात्राका लागि दिमागमा जुन चित्र बनेको थियो, त्यो चित्र लुक्लामा ओर्लिने बित्तिकै

  • कोप-२८: नेपालको जलवायु संकटप्रति विश्‍वको ध्यानाकर्षण गराउने उपयुक्त अवसर

    कोप-२८ का लागि विश्वभरका करिब २०० राष्ट्रबाट सरकार प्रमुखहरु तथा प्रतिनिधिहरु, जलवायु अभियान समूहहरु, थिंक

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend