अनुभव

जलवायु परिवर्तनका कारण हिमालभन्दा अग्ला समस्यासँग जुध्दै हिमालबासी 


१२, चैत २०८०
जलवायु परिवर्तनका कारण हिमालभन्दा अग्ला समस्यासँग जुध्दै हिमालबासी 

काठमाडौंबाट सगरमाथा क्षेत्रको यात्राका लागि दिमागमा जुन चित्र बनेको थियो, त्यो चित्र लुक्लामा ओर्लिने बित्तिकै परिवर्तन भयो। लुक्ला ओर्लिएसँगै जीवनको यस क्षणसम्म सुनेको हिमाल देख्‍न पाइने हर्ष त थियो नै अझै कस्तो होला भन्‍ने कौतहुलता भने बाँकी नै थियो। लुक्लाबाट हामीले अझै १२ दिनको पदयात्रा गर्न बाँकी नै थियो, यद्पि मैले काठमाडौं हुँदा दिमागमा बनाएको चित्र र त्यहाँको परिदृश्य बिल्कुल फरक थियो। मन रोमाञ्‍चित र प्रफुल्लित भयो। 

विभिन्‍न देशबाट आउने विदेशीहरुले समेत देखिसकेको हिमालहरु हिमालको देशको छोरी भएर देख्‍न नपाएकोमा आफैंसँग प्रश्‍नहरु थिए भने मनमा खिन्‍नता थियो। तर, साथसाथैले 'जलवायु न्यायका लागि महिला एकता' भन्‍ने नारासहित सगरमाथा आधार शिविर र कालापत्थरमा पुगेर जलवायु न्यायका लागि विश्‍व समुदायको ध्यानाकर्षण गराउने अभियानमा जोडेकोमा निकै हर्षित भएँ। यसले जलवायु संकट समाधानका लागि थालिने पहलको हिस्सेदार बन्‍न पाएँ भने अर्कोतिर प्रत्यक्षरुपमा हिमाल देख्‍ने अवसर जुर्‍यो। 

EBC-Trek-Sathsathai.jpg

सगरमाथा आधार शिविरको यात्रामा जानुअघि विदेशका विभिन्‍न कार्यक्रमहरुमा जाँदा मैले हिमालबारे जानेको र सुनेको जवाफहरु दिने गर्थे भने अब मैले देखेको हिमालहरुबारे बयान गर्नसक्ने भएकी छु। मेरो यो यात्रा जीवनको अन्तिम क्षणसम्म पनि यादगार रहनेछ। कहिल्यै प्रत्यक्ष हिमाल नदेखेको म र साथसाथैको टीममा आबद्ध अन्य साथीहरुले १२ दिनको पदयात्रा तय गर्नु अघिल्लो दिनसम्म एकातिर बयान गर्न नसकिने खुसी थियो भने अर्कोतिर डर लागिरहेको थियो। 

हिमालको पैदल यात्रा, लेक लाग्‍नसक्ने भय, हिउँमा हिड्‍नुपर्नेलगायतका कुराहरुले मनमा भय उत्पन्‍न भइरहेको थियो। तर, साथसाथैको अभियानमा जोडिएका साथीहरुको हौसला र 'जलवायु न्याय' का लागि हिस्सेदार बनिरहेको खुसीले उर्जा प्रदान गरिरहेको थियो। केही खुसी, उत्साह र उमंग र केही अप्ठ्याराहरु पहिल्याउँदै १२ दिनको पदयात्रापछि हामी सगरमाथा आधार शिविर पुगेका थियौं। 

WhatsApp Image 2024-03-25 at 11.31.46.jpeg

पदयात्राका क्रममा स्थानीय महिलाहरु, स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तक्रियाका क्रममा हामीले जलवायु परिवर्तनले हिमाली क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको कुरा सहजै महसुस गर्‍यौं। उनीहरुले गर्दै नगरेको गल्तीको सजाय भोगिरहेको महसुस भयो। टाढाबाट हिमाल देख्‍दा फुरुङ्ग हुने मन हिमालबासीका कुराहरु सुन्‍दा भने निकै नरमाइलो लाग्यो। उनीहरुका कुरा सुन्दा लाग्यो, जलवायु परिवर्तनका कारण हिमालबासी भोगिरहेका समस्याहरुका अगाडि अग्ला हिमालहरु पनि होचा परिरहेका छन्। 

गाउँमा पाखुरा चलाउनसक्ने युवाहरु सहर र विदेश पलायन भएका छन्, केही भरियाहरु, महिलाहरु र वृद्धवृद्धाहरु मात्रै गाउँमा देखिन्छन्। टाढाबाट हेर्दा सेताम्य हिमाल देखिए पनि नजिकैबाट नियाल्दा हिमालहरुको हिउँ झरिसकेको छ। हिमतालहरु पग्लिने जोखिम बढेको छ। एकातिर विश्‍व समुदायको पानीको श्रोत मानिने हिमालहरुको हिउँ पग्‍लिरहेको छ भने अर्कोतिर समयमा हिउँ परेको छैन। जसको प्रत्यक्ष मार हिमालबासीहरुले भोगिरहेका छन्। 

Sagarmatha-Base-112.jpg

समयमा हिउँ नपर्ने, कहिले अत्यधिक हिउँ पर्नेलगायतका कुराहरुले कृषि उत्पादन घटाएको छ। कृषि उत्पादन घट्दा दैनिकी हातमुखको जोहोमा समस्या भइरहेको छ। हिम पहिरो र हिम तालहरु पग्लिनेलगायतका विपद्‌का समस्याका कारण बस्तीहरु नै विस्थापित हुने स्थिति सिर्जना भएको छ। हामी गएको समयमा सौभाग्यवश हिउँ परिरहेको थियो। तर, स्थानीहरुले समयमा हिउँ नपर्दा कृषि उत्पादन मात्र नभएर पशुपालन र दैनिक जीवनशैली नै पूर्ण प्रभावित भएको छ। 

यसबाहेक पर्यटकहरुले बोकेर लैजाने खानेकुरा तथा अन्य उपभोग्य सामग्रीहरुको प्रयोगपछि सही व्यस्थापन हुन सकेको छैन। सहज सडक पहुँच छैन, जटिल स्वास्थ्य समस्या तथा उपचारका लागि राम्रो अस्पतालको व्यवस्था त छैन नै, समस्यामा अस्पताल पुर्‍याउनसक्ने सुविधा पनि छैन। महिलाहरुले भोगिरहेका समस्याका पहाडहरु यति अग्ला छन् कि चाँदीझैं टल्किने अग्ला हिमालहरु पनि होचा लाग्‍न थाल्छन्।  

हिमालहरु कुनै दिन वञ्‍जर पत्थरहरुमा परिणत नहोलान् भन्‍न सकिँदैन। त्यसकारण सरकारले नेपालका हिमाल जोगाउन विश्‍व समुदायलाई झक्झकाउने र हिमाल जोगाउने अभियानमा तत्काल लाग्‍न आवश्यक छ। सरकार र सम्बद्ध निकायले काठमाडौंमा बसेर हिमाल जोगाउने कुरा गरेर मात्र स्थानीयको पीडा बुझ्‍न नसकिने कुरा पनि मैले १२ दिनको पदयात्राका क्रममा महसुस गरेँ। 

WhatsApp Image 2024-03-25 at 11.48.07.jpeg
साथसाथैले आयोजना गरेको सगरमाथा आधार शिविरतर्फको पदयात्राकर्मीहरुको सामूहिक तस्बिर। 

१२ दिनको सगरमाथा आधार शिविरसम्मको पदयात्राका सहभागी गराएर यति धेरै कुरा देख्‍ने, बुझ्‍ने र प्रत्यक्ष भोग्‍ने अवसर जुराएकोमा साथसाथैप्रति कृतज्ञता व्यक्त गर्दछु। यसका साथै यस अभियानमा सरकार र सरोकारवाला निकायहरुले पनि हातेमालो गर्नुपर्नेमा जोड दिन चाहन्छु। हिमालभन्दा अग्ला समस्या बोकेर ओठमा मुस्कान फुलाइरहेका हिमालका महिलाहरु भेटेर लाग्‍यो, उनीहरु साँच्चै साहसी छन्, साँच्चै अद्भूत छन्। उनीहरुको जीवन प्रभावित गराउने जलवायु संकट समाधानका लागि सरकार र सरोकारवाला निकायले साथसाथैजस्तै पहलकदमी लिन आवश्यक छ। 

अन्त्यमा यस किसिमको पदयात्राहरु अन्य निकायले पनि गर्न आवश्यक छ। जसले गर्दा स्थानीयहरुले भोगिरहेका समस्याहरु सहजै बुझ्‍न सकिन्छ र उनीहरुका समस्या समाधानका लागि सही उपायहरु अपनाउन सहज हुनेछ। यसप्रकारका यात्राका लागि अत्यावश्यक चारवटा विषयहरु : सहयात्रीहरूको समूहको छनोट र भूमिका, यात्रीको हिम्मत वा सुझबुझ, यात्रीको स्वास्थ्य अवस्था र मौसमको अनुकुलताका ध्यान दिन पनि सुझाव दिन चाहन्छु। 

WhatsApp Image 2024-03-25 at 11.33.42.jpeg

'जलवायु न्यायका लागि महिला एकता' भन्‍ने मुल नाराका साथ साथसाथैले आयोजना गरेको सगरमाथा आधारशविरसम्मको पदयात्राबारे गोमा विष्टसँग गरिएको कुराकानीमा आधारित सामाजिक अभियन्ता सीता रुपाखेतीको अनुभव।  

सम्बन्धित समाचार

  • जलवायु परिवर्तनका कारण उच्च जोखिममा छन् हिमालका महिलाहरु 

    सगरमाथा विश्वको शीर हो र विश्वभरका मानिसहरु सगरमाथा क्षेत्रमा पुगिरहँदा मलाई पनि एक पटक जानैपर्छ

  • कोप-२८: नेपालको जलवायु संकटप्रति विश्‍वको ध्यानाकर्षण गराउने उपयुक्त अवसर

    कोप-२८ का लागि विश्वभरका करिब २०० राष्ट्रबाट सरकार प्रमुखहरु तथा प्रतिनिधिहरु, जलवायु अभियान समूहहरु, थिंक

  • पृथ्वी जोगाउने महाअभियानमा लागौं 

    'ग्लोबल वार्मिङको युग सकिएको छ, ग्लोबल बोइलिङको युग सुरु भएको छ,' मैले आफ्नो भनाइ संयुक्त

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend