सगरमाथा विश्वको शीर हो र विश्वभरका मानिसहरु सगरमाथा क्षेत्रमा पुगिरहँदा मलाई पनि एक पटक जानैपर्छ भन्ने लागेको थियो। सगरमाथा क्षेत्रमा त जाने तर, म मधेशको महिला त्यहाँ कसरी जाने होला, जान सकिन्छ कि सकिँदैन भन्ने मनमा डर पनि थियो। जलवायु परिवर्तन र वन वातावरणको क्षेत्रमा काम गरेको हुँदा साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा 'जलवायु न्यायका लागि महिला एकता' भन्ने नारासहित सगरमाथा आधारशिविर पुगेर विश्वको ध्यानाकर्षण गराउने अभियानमा जोडिने अवसर प्रदान गर्यो। यो अवसरका लागि साथसाथैप्रति निकै कृतज्ञ छु।
साथसाथैको यस अभियानका क्रममा सगरमाथा जाने भनेर खुसी भए पनि पहाड र हिमालमा कहिल्यै नहिँडेको मलाई मनमा डर लागिरहेको थियो। यद्पि साथसाथैको यस अभियानमा मसहित अन्य २५ जना महिलाहरु भएका कारण पनि मलाई जानुपर्छ, पुग्न सकिन्छ भन्ने आँट आयो। हामीले काठमाडौंबाट यात्रा तय गर्यौं र लुक्लाबाट सगरमाथा आधार शिविरको पदयात्रामा हामी निस्कियौं।

सुरुको दिनमा हामी सबै जना सहजै हिँड्न सक्यौं। तर, जब-जब हामी उकालो लाग्दै गयौं, त्यसपछि भने अब सकिँदैन कि फर्किनुपर्छ कि भन्ने पनि दिमागमा नआएको होइन। मैले पहिलो पटक प्रत्यक्ष हिउँ परेको देखेको पनि त्यही बाटोमा हिँड्ने क्रममा नै हो। हिउँ परिरहेको समयमा, हिउँमा नै टेकेर उकालो चढ्नुपर्ने भएका कारण मलाई निकै गाह्रो हुँदै गएपछि घरमा फोन गरेर अब फर्किन सकिँदैन भनेर पनि कुरा गरे। घरबाट पनि अब त्यहाँ पुगिसकेको मान्छे आधार शिवर पुगेर फर्किनु भन्दै हौसला दिइयो। साथसाथैका अध्यक्ष प्रजिता कार्कीले दिनुभएको हौसलाले थप उर्जा मिलेको थियो।
जीवनको आधा उमेर कटाइसकेकी एक मधेशको महिला, जसले कहिल्यै हिमाल देखेको छैन, त्यो महिलाले सगरमाथा आधार शिविर पुगिसकेपछिको सन्देशले ठूलो अर्थ हुन्छ भन्नेजस्ता हौसलाले मलाई सगरमाथा आधार शिविरसम्म पुग्ने हिम्मत मिल्यो। कतिपय ठाउँमा बाटोमा हिँड्ने अन्य पदयात्रीहरु, भरियाहरुलाई सोध्दै, उनीहरुको संघर्षका कुराहरु सुन्दा पनि मलाई सगरमाथा आधार शिविरसम्म पुग्ने उर्जा मिल्यो।
हामी लुक्लाबाट पहिलो दिन फाकदिम बस्यौं र पहिलो दिनमा नै टाउको दुख्ने समस्या देखिएको थियो। त्यहाँ औषधी र केही सुपहरु खाएपछि अलि सञ्चो लागेको महसुस भयो र हामी नाम्चेतिर अघि बढ्यौं। मैले राति ११ बजेतिर अब त साँच्चिकै माथि जान सक्दिनँ भन्ने लाग्यो र फर्किने निर्णयमा पुगेको थियो। साथसाथैको अभियानमा जोडिएर जानुभएका सहभागीहरुको साथ, हौसला र प्रेरणाले मलाई सगरमाथाको आधार शिविरसम्म पुर्यायो। जुन मेरो वर्षौंदेखिको सपना पुरा भएको महसुस भयो। त्यहाँ पुगिसकेपछि त हामीले आधार शिविरसम्म पुग्न गरेको संघर्ष र फर्किनका लागि अझ त्यतिकै संघर्ष गर्नुपर्ने कुरासमेत बिर्सिसकेका थियौं।

जलवायु परिवर्तनले पारेको असरबारे नेपाल सरकार र विश्व समुदायको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरसम्म पुगेर सात बुँदे घोषणापत्र जारी गरेको हाम्रो टिमले पदयात्राका क्रममा हिमाली क्षेत्रमा रहेका स्थानीय तहका जनप्रतिनिधिहरु, हिमाली क्षेत्रका महिलाहरु, स्थानीयबासीहरु, भरिया तथा कृषकहरुसँग अन्क्रिया पनि गर्यौं। अन्तक्रियाका क्रममा उनीहरुले पछिल्लो केही वर्षदेखि बेमौसममा हिउँ पर्ने गरेको र जसले गर्दा जनजीवन नै प्रभावित भएको सुनाउनुभयो।
कृषि उत्पादनमा ह्रास आएको छ भने याक, चौरी, भेडा-च्याङ्ग्राजस्ता पशुपालनमा पनि समस्या भएको स्थानीहरुको गुनासो थियो। जलवायु परिवर्तनका कारण समयमा हिउँ नपर्ने हुँदा खडेरी पर्ने गरेको छ। हामीले सुनेका चाँदीजस्तै टल्किने सेता हिमालहरु पनि कालापत्थरहरुमा परिणत भइरहेका छन्। बोटबिरुवाहरु पनि देखिँदैन। यस्तै रहने हो भने हिमाली क्षेत्र पनि बालुवाबिनाको मरुभूमिमा परिणत हुने जोखिम देखिन्छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रममा तीव्र वृद्धिले हिमालहरु पग्लिने, हिमतालहरु विस्फोट हुने र हिमाली क्षेत्रका बासिन्दाहरु विस्थापित हुने जोखिम पनि बढ्दै गइरहेको छ।

अर्को कुरा हामीले पदयात्राका क्रममा हिमाली क्षेत्रका महिलाहरुको जनजीवन निकै कष्टकर बनिरहेको छ। उनीहरुको महिनाबारीमा समस्या हुने, प्रजनन् क्षमतामा असन्तुलन देखिनेलगायतका समस्याहरु बढ्दै गएको हिमाली क्षेत्रका महिलाहरुको गुनासो रहेको छ। भौगोलिक असहजताका कारण पनि समयमा स्वास्थ्योपचार नपाउने र मृत्यवरण गर्नुपर्ने पीडादायी परिस्थिति त्यहाँ रहेको छ। जलवायु परिवर्तन वा प्रकोपको मारमा सुविधा नभएका, आम्दानी नभएका दुर्गम भागका गरिब महिलाहरू सबैभन्दा बढी परिरहेका छन्। उनीहरूसँग स्रोत, सूचना वा अनुकूलन गर्ने सीपको पहुँच छैन।
यसले एकातिर बसाइसराईको दर तीव्र बनेको छ, यसको चाप सहरी र तराई क्षेत्रमा परिरहेको छ। अर्कोतिर हिमालहरु खण्डहरमा परिणत भइरहेका छन्। विभिन्न जलवायुजन्य प्रकोपका कारण विस्थापनको समस्या पनि बढ्दै गएको छ। यसरी विस्थापित हुँदा पनि आर्थिक तथा शारीरिकरुपमा कमजोर महिलाहरु चपेटामा पर्ने गरेको पनि स्थानीय महिलाहरुले गुनासो गर्ने गरेका छन्। यसरी जलवायु परिवर्तनको असरको फ्रन्टलाइनमा रहेका हिमालका महिलाहरुको समस्या समाधानका लागि सरकारले जलवायु परिवर्तन न्युनिकरणका लागि बनाइने कानुन तथा नीति निर्माण र निर्णय प्रक्रियाहरुमा महिलाहरुको सहभागिता बढाउनुपर्ने आजको आवश्यकता देखिन्छ।
