काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वको शिखर सगरमाथा क्षेत्रबाट जलवायु परिवर्तनको भयावह असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।
नेपालको चारदिने औपचारिक भ्रमणमा आइतबार काठमाडौं आएका महासचिव गुटेरेसले हिमनदी पूर्ण रूपमा हराउने खतराबाट विश्वलाई जोगाउन नसकिए संसारले नपर्खिने र भयावह स्थितिको सामना गर्नुपर्नेतर्फ विश्व समुदायलाई सचेत गराएका हुन्।
सगरमाथा क्षेत्रबाट महासचिव गुटेरेसले जारी गरेको सन्देशको पूर्णपाठ :
विश्वलाई सन्देश दिन नेपालमा छु। जलवायु परिवर्तनका सन्दर्भमा दुई चरणको खतरनाक अध्यायबाट दुःखद घटना हुन लागेको छ। पहिलो चरण हिमनदी र बरफ पग्लने कथा हो। उल्लेख्य तापमान भनेको उल्लेख्य ग्लेसियर पग्लनु हो। नेपालले ३० वर्षको अवधिमा झन्डै एकतिहाइ बरफ (हिउँ) गुमाएको छ।
अन्टार्कटिका र ग्रिनल्यान्डले हरेक वर्ष अर्बौँ टन बरफ गुमाइरहेका छन्। बरफहरू पग्लिनुको अर्थ सुगन्धित तालहरू र नदीहरूमा बाढी आउनु, सम्पूर्ण समुदायलाई बगाउनु हो। विश्वभर तटीय समुदायलाई खतरामा पार्ने गरी तीव्र रूपमा समुद्र बढेर गएका छन्। संकटले गति लिइरहेको छ। यसको मतलब यो त्रासदीको दोस्रो चरण अझ ठूलो हुन्छ– हिमनदीहरू पूर्ण रूपमा हराउनेछन्।
हिमतालहरू बरफका जलाशय हुन्। यहाँ हिमालयमा रहेका जलाशयले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी आपूर्ति गर्छन्। जब तिनीहरू संकुचित हुन्छन्, त्यसरी नै नदीहरू बग्दछन्। भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्रजस्ता प्रमुख हिमाली नदीको बहावमा ठूलो मात्रामा कमी आउन सक्छ। तल्लो तटीय देश र समुदायहरू सदाका लागि मेटाइँदै छ।
पानी र जमिनका लागि लाखौँ मानिस भयंकर प्रतिस्पर्धाको चालमा छन्। र, विश्वव्यापी रूपमा बाढी, खडेरी र पहिरोको गति बढ्दै गएको छ। म आज संसारको छानाबाट कराउन यहाँ आएको छु। पागलपन रोक्नुहोस्। हामीले जीवाश्म इन्धन युगको अन्त्य गर्नुपर्छ। हामीले अग्रपंक्तिमा रहेका मानिसलाई जोगाउन अब प्रयास गर्नुपर्छ। सबैभन्दा खराब जलवायु परिवर्तनको अराजकताबाट बच्न विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न प्रयास गरिहाल्नुपर्छ। संसारले पर्खन सक्दैन।