पर्यटकीय क्षेत्र पोखरी तालमा पूर्वाधार विकास गरिँदै


साथसाथै न्युज
२२, भदौ २०८०
पर्यटकीय क्षेत्र पोखरी तालमा पूर्वाधार विकास गरिँदै

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ। 

कावासोती नगरपालिका–१ मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न निर्माण कार्य सुरु गरिएको वडा नं १ का वडाध्यक्ष तबारक अहमद मियाँले बताए। 

पर्यटकीय दृष्टिकोणले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा पर्दै आएको छ। साथै ताल क्षेत्रमा पानी नअडिने समस्याले तालमा पानी अड्याउनै समस्या हुने गरको छ। 

त्यसकारण हालै नगरपालिकाले रु तीन करोड पाँच लाख २७ हजारको लागतमा विभिन्न संरचना निर्माण गर्न लागिएको वडा अध्यक्ष मियाँले बताए। तालमा पानी टिकाउन समस्या भएसँगै पहिलो चरणमा अहिले तालको भित्री भागमा एक हजार तीन सय मिटर लम्बाइको वरपर ढुङ्गाको पर्खाल लगाउन सुरु गरिएको छ। 

तालको ढिकसँगै जोडेर छ दशमलव पाँच मिटर उचाइको पर्खाल बनाउन लागिएको वडाध्यक्ष मियाँले बताए। यसले तालमा पानी लामो समयसम्म टिकाउन सहयोग पुग्ने उनले बताए। पोखरी तालको वरपर करिब सात सय मिटर लम्बाइको पैदल मार्ग निर्माणको कामसमेत सुरु गरिएको वडाध्यक्ष मियाँले बताए। 

तालको वरपर प्रतीक्षालय निर्माण गर्नाका साथै दुई ठाउँमा ढुङ्गाका लागि स्टेसन निर्माण गरिने उनले बताए। यी संरचना निर्माणले ताल क्षेत्रको आकर्षण थप बढ्ने वडाध्यक्ष मियाँले बताए। उक्त ताल क्षेत्र र पार्क कूल १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। वरपर विभिन्न वनस्पति रोपिएका छन्। साथै गैँडा, बाघ, फोटो खिच्ने स्थानसहित विभिन्न संरचना निर्माण गरिएको छ। 

हाल निर्माण गर्न लागिएको संरचनाले ताल क्षेत्रको आकर्षण थप बढ्ने अध्यक्ष मियाँले बताए। 'ताल क्षेत्र प्राकृतिक रुपमा आफैमा रमाइलो स्थानमा रहेको छ, थप पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण थप बढ्ने अपेक्षा छ,' उनले भने। 

पूर्व पश्चिम राजमार्ग देखि करिब छ किलोमिटरको दूरीमा रहेको पोखरी ताललाई केन्द्रित गरि सहज पहुँचका लागि सडकको स्तरोन्नतिको कामसमेत सँगै बढाइएको छ। कावासोती–१ र ६ को सिमानामा पर्ने हरियाली चोकदेखि स्लाम चोक हुँदै कोइलापानीसम्म दुई दशमलव सात किलोमिटर सडक कालोपत्रको कामसमेत अघि बढाइएको वडाध्यक्ष मियाँले बताए। 

नगरभित्र पर्यटन क्षेत्रको विकास, सडक, नालासहितका पूर्वाधारको विकास, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषय प्राथमिकता दिएर काम अघि बढाइएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए। पोखरी ताल क्षेत्रको विकाससहित विभिन्न योजना सञ्चालन गर्ने गरी  रु ५६ करोड बराबरका योजना सम्झौता भएर काम अघि बढेको नगर प्रमुख भुसालले बताए। पोखरी ताल क्षेत्र आफैँमा पालिकाको प्रमुख पर्यटकीय क्षेत्र भएकाले समेत यसलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको उनले बताए।

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend