काठमाडौं- जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा देखिन थालेको छ। दक्षिण एसियाका नेपालसहित भारत र पाकिस्तानमा हिमाली क्षेत्रहरु जोखिमपूर्ण बन्दै गएका छन्।
हिमाली क्षेत्रमा वर्षाको असामान्य वृद्धिले पनि त्यस्ता भूभागलाई थप जोखिमपूर्ण बनाइरहेको छ। यसअघि भारतको उत्तराखण्डमा आएको पहिरो र बाढीमा परी दर्जनौं मानिसहरुले ज्यान गुमाए। नेपालको पनि मुस्ताङमा बाढी र पहिरोले बस्ती नै पुछेर लग्यो। पूर्वसूचनाले गर्दा मानवीय क्षति हुनबाट जोगियो।
हालै गरिएको एक अध्ययनले हिमालय लगायत विश्वका पर्वतहरूमा पहिले सबैभन्दा बढी हिउँ पर्ने उचाइमा अहिले अत्यधिक वर्षा भइरहेको देखाएको छ। बढ्दो तापमानले वर्षा गराउने मात्र नभई हिउँ र बरफ पनि पग्लने भएकाले यो परिवर्तनले हिमाली क्षेत्रहरूलाई थप जोखिमपूर्ण बनाएको वैज्ञानिकहरूको भनाइ छ।
वर्षाको पानीले माटोलाई पनि शिथिल बनाउने र यसले गर्दा पहिरो जाने, चट्टान खस्ने र बाढी आउने हुन्छ। यसको परिणामस्वरूप पानी मिसिएको लेदो माटो र टुक्रिएका चट्टानहरू पर्वतबाट तल खस्छन्। बढ्दो वर्षा र पग्लिएको हिउँका कारण पर्वतीय क्षेत्रमा प्रकोपको जोखिम वृद्धि भइरहेको छ।
'हाम्रो अध्ययनको निष्कर्षले उच्च स्थानमा, विशेष गरी उत्तरी गोलार्धको हिउँ धेरै पर्ने क्षेत्रहरूमा तापमान बढ्नुका कारण वर्षाको वृद्धि भएको देखाउने प्रमाणका केही सङ्केतहरू उपलब्ध गराउँछ,' नेचर जर्नलमा गत जुन महिनामा प्रकाशित अध्ययनमा लेखिएको छ।
इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) ले सन् २०१९ मा तयार पारेको विशेष प्रतिवेदनले उच्च तापक्रमका कारण हिमपातमा कमी आएको छ। यो प्रभाव विशेष गरी हिमाली क्षेत्रको तल्लो भेगमा देखिएको छ।
शून्य-डिग्री आइसोथर्म भनिने चिसो हिउँ खस्ने बिन्दु पनि माथि सरेको छ। यो विश्वको तापमान बढ्न गएको कारण भएको हो। 'फलस्वरूप यी पर्वतीय क्षेत्रहरू अत्यधिक वर्षाका घटना तथा त्यसले निम्त्याउने बाढी, पहिरो र भू-क्षय जस्ता खतराहरूको उच्च जोखिममा रहेका ठानिएको छ,' अध्ययनमा भनिएको छ।
भारत, भुटान, नेपाल र पाकिस्तानमा फैलिएको हिमालय पर्वत शृङ्खलाहरूमा निकै कम मौसमसम्बन्धी जानकारी राख्ने केन्द्रहरू छन् जसले गर्दा प्रायः यकिन तथ्यांकको अभाव हुने गरेको छ।
पर्वतहरूको तल्लो भागमा केही स्टेशनहरू राखिएका छन् तर तिनीहरूले संकलन गरेको प्रिसिपिटेशन भनिने आकाशबाट पानी झर्ने प्रणालीकाबारे प्राप्त जानकारीले त्यो वर्षाको हो वा हिमपातको हो भन्ने छुट्टाउँदैन।
यद्यपि सगरमाथाको आधार शिविर (५३१५ मिटर) मा स्थापना गरिएको मौसम स्टेशनले सन् २०२३ को जुन १ देखि अगस्ट १० सम्म त्यहाँ २४५.५ मिलिमिटर वर्षा भएकोमा त्यसमध्ये ७५ प्रतिशत 'प्रिसिपिटेशन' वर्षाका कारण भएको देखाएको छ। त्यसबाहेक अरू हिउँ वा हिउँ र पानीको मिश्रण थिए।
यो सन् २०२२ को जुनदेखि सेप्टेम्बरसम्म भएको ३२ प्रतिशत वर्षाको तुलनामा अधिक धेरै हो। सन् २०२१ को सोही चार महिनामा ४३ प्रतिशत वर्षा भएको थियो भने सन् २०२० मा त्यो सङ्ख्या ४१ प्रतिशत थियो।
'हामीलाई हिमपातको तुलनामा वर्षाको घटना बढी हुने गरी देखिएको परिवर्तन हालसालैको घटनाक्रम हो भन्ने लाग्छ। तर यसलाई मापन गर्ने लामो अवधिको पूर्ण तथ्याङ्क छैन,' नेश्नल जियोग्राफिक तथा रोलेक्स पर्पेचुअल प्लानेट एक्सपिडिशनमा संलग्न बेकर पेरी र टम म्याथ्युजले भनेका छन्।
बढ्दो तापमानले गर्दा हिमालयका हिमनदी पग्लने क्रम तीव्र भएको छ जसले गर्दा हिमतालहरू द्रुत गतिमा भरिन्छन्। त्यसपछि बाढीको जोखिम बढ्छ हुन्छ। हिमनदी पातलो बन्दा पर्वत पनि अस्थिर बनेको छ।
हिमालय क्षेत्रमा विश्वको औसतभन्दा तीन गुणा बढी तापक्रम वृद्धि हुने अनुमान गरिएको छ र यसका कारण त्यहाँ वर्षामा उल्लेखनीय वृद्धि हुने विभिन्न विभिन्न अध्ययनहरूले देखाएका छन्।
नेपालको हिमाली जिल्ला मुस्ताङमा मुसलधारे वर्षापछि आएको पहिरोका कारण एउटा खोला थुनिएर पानी जम्यो। अगस्ट १३ मा जमेको पानीको ताल विस्फोट हुँदा बाढी आइ तल्लो भेगका घर, पुल र सवारीसाधनहरू बगायो।
यो पहिले पानी कम पर्ने क्षेत्र थियो जहाँ पहिले हिमालय पर्वतहरूले छेकेका कारण आर्द्रता बोक्ने बादलहरू पुग्न सक्दैनथे। विज्ञहरूका अनुसार हिमालय क्षेत्रका पर्वतहरूमा यस्ता घटनाहरू बारम्बार र तीव्र हुँदै गएका छन्।
काठमाडौंस्थित इन्टरन्याशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टका अनुसन्धाता जेकब स्टेनरका अनुसार यस्ता घटनाहरूको असर स्वरूप अर्को घटना घट्छ र अवस्थालाई झनै विकराल बनाउँछ। उनले भने, 'र उच्च वर्षाको तीव्रता प्रायः यस्ता शृङ्खलाहरूको सुरुवात वा प्रभाव मात्र हो।'