धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा


साथसाथै न्युज
१२, वैशाख २०८१
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ। प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ।  

डाँडामा रहेको तीनकन्या माईको दर्शन गर्न आउनेको सङ्ख्या बढेको देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताउनुभयो। चैते पूर्णिमामा यहाँ पूजाका लागि ठूलो सङख्यामा भक्तजन आउने गर्दछन्। उक्त दिन तीनकन्या माईको पूजा हुने गर्दछ। थारु समुदाय यस दिन शिरथान कुमारवर्ती माईकारुपमा पूजा गर्न देवचुली डाँडा आउँछन्। 

सोमबारको चैते पूर्णिमाका दिन पूजाका लागि एक हजार ५५ जना दर्शनार्थी देवचुली डाँडा आएको अध्यक्ष गिरीले जानकारी दिए।  थारु समुदायका मानिस देवचुली-६ स्थित कीर्तिपुर पहिलो दिन बास बसेर माईको आराधाना गरी दोस्रो दिन इन्द्रसोत पुगेर बास बस्ने गर्छन्। तेस्रो दिन अर्थात् पूर्णिमाको दिन देवचुली डाँडामा पुगेर पूजा गर्ने चलन छ। पूर्णिमाको दिन अन्य समुदायले आफ्नो मनोकांक्षा पूरा होस् भनी पूजा गर्ने चलन छ। 

पूजा गर्न आउने श्रद्धालुभक्तजनको सहजताका लागि यसपटक देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले स्वयंसेवक परिचालन गरेको थियो। समितिका अध्यक्षका गिरीका अनुसार भीडलाई व्यवस्थापन गर्न सिर्जना सामुदायिक वन समूह कीर्तिपुर र चुलीबोझा मगर होमस्टेले स्वयंसेवक परिचालन गरेका थिए। पूजामा भक्तजनले भेडा, पाठापाठी, परेवा चढाउने मूल पुजारी गुनबहादुर गुरौले बताउनुभयो। समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर अग्लो ठाउँमा रहेको गुफाभित्र माईको पूजा गरिन्छ।  

तीन कन्यामाईमा पूजा गर्ने प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देवचुली नगरपालिका-६ का अध्यक्ष एवं देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिका सदस्य मिनबहादुर सोतीले बताउनुभयो। 

देवचुलीमाई, शिरनाथ कुमारवर्ती माईको नामलेसमेत प्रसिद्ध रहेको तीनकन्यामाईको प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन भव्यताका साथ पूजा गरिन्छ। माइको पूजाआजा गर्नाले जीवन र परलोकमासमेत सुख मिल्ने  धार्मिक मान्यता छ। 

१९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमश्रङ्खला, दक्षिणतर्फ सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ। 

द्वापरयुगमा पाँच पाण्डव द्रौपदीसहित केही समय गुप्तबास बसेको किंवदन्तीका कारण यस गुफाको धार्मिक महत्व छ।  गुफाभित्र मानिस, जनावरका आकृति देखिने र सारङ्गीको धुन निस्कने ढुङ्गाहरुका कारण यो गुफा विशेष आकर्षणको केन्द्रविन्दु बनेको छ। 

पूर्वपश्चिम राजमार्गको दलदलेदेखि मुन्डे हुँदै देवचुली नगरपालिकाको कीर्तिपुरबाट पाँच किलोमिटिरको दूरीमा देवचुली डाँडा पर्छ। कीर्तिपुरबाट पैदल हिँडेर करिब तीन घण्टामा देवचुली पुग्न सकिन्छ।

सवारीसाधनमा जाने र पहाड पनि घुम्न रुचाउने बुलिङटार–४ को बोझापोखरी हुँदै पूर्वतर्फबाट पनि चुली जान सक्छन्। कीर्तिपुर र बोझा पोखरीबाट पैदल आउनेहरु चुलीको फेदीमा भेट हुन्छन्। पैदलयात्रुलाई सहज होस् भनेर देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले सिँढी तथा रेलिङको व्यवस्था गरेको छ। 

चैत वैशाखमा फुल्ने लालीगुराँसले यहाँ आउने पर्यटकलाई पुलकित बनाउने गर्दछ। तीनकन्या माईसँग मागेका कुरा प्राप्त हुने विश्वासका कारण यहाँ आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको स्थानीय बताउँछन्। दलदले-बोझापोखरी-कोखेटार सडक, मुन्डे कीर्तिपुर सडकको निर्माणले पर्यटक यहाँ आउन सहज भएको छ।

सम्बन्धित समाचार

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

    काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व

  • सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

    म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend