पर्यटकको रोजाइमा हात्तीदह सिमसार


साथसाथै न्युज
१०, वैशाख २०८१
पर्यटकको रोजाइमा हात्तीदह सिमसार

सिरहा- दुई वर्षअघि ‘कोइरालो खोला नमुना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’को विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गरेका छन्। 

हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिले वार्षिकोत्सवको अवसर पारी एक समारोहका बीच अध्यक्ष रुद्रनारायण चौधरीले पछिल्लो एक वर्ष अवधिको पर्यटक आगमनको अभिलेख सार्वजनिक गरेका छन्। सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको अध्यक्ष चौधरीले बताए। 

‘सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन रहन गयो। यसले हामीलाई थप उत्साहित बनाएको छ’, अध्यक्ष चौधरीले भने, ‘पर्यटकको रोजाइमा यस क्षेत्र पर्नुमा विभिन्न सहयोगी हातको भूमिका महत्त्वपूर्ण रहेको छ। आगामी दिनमा यस पर्यटकीय क्षेत्रलाई अझै व्यवस्थित बनाइँदै लगिने छ।’

डिभिजन वन कार्यालय, लहानको जैविक विविधता साथै पर्यापर्यटनको लागि सहयोग, लहान नगरपालिकाले सडक बाटो निर्माण तथा मर्मत, दिवङ्गत नेता प्रदीप गिरीको सङ्घीय संसदीय विकास कोषबाट खानेपानी ट्याङ्की निर्माण, १५ नं वडाले विद्युतीकरण र खानेपानी धारा जडान, बृहत् जलाधार व्यवस्थापन कार्यालय उदयपुर र  राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले वनभोज स्थल निर्माण र पर्यापर्यटन प्रवर्द्धनको लागि सहयोग प्राप्त भएपछि इको टुरिजम क्षेत्रको विकास गर्न सम्भव भएको अध्यक्ष चौधरीले जानकारी दिए। 

चुरे पर्वतको फेदमा हरियाली वनजङ्गल, बीचमा ‘बोटिङ’ सहितको स्वच्छ र सफा पोखरी, उद्यान निर्माण, चिसो हावापानी र शान्त वातावरण यहाँको आकर्षण हुन्। त्यसैगरी फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइन र प्राणी उद्यान केन्द्र सञ्चालन। करिब ५६ हेक्टरमा फैलिएको लहान १५ ढोड्नास्थित ‘कोइरालो सामुदायिक वन’मध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाइएको हो। 

आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्नको लागि साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे प्रवर्द्धन, घोडा सवारी, पोखरी माथि पुल निर्माण तथा सूचना केन्द्र स्थापना गर्नेजस्ता योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए। यस पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट प्रत्यक्षरुपमा आठ जना र अप्रत्यक्षता ३० जना संरक्षणकर्मीले रोजगार पाएका पनि अध्यक्ष चौधरीले बताए। 

नजिकै प्रसिद्ध राजदेवी मन्दिर भएकाले धार्मिक एवं वातावरणीय पर्यटनको एकसाथ विकास गर्न स्थानीय तह लागिपरेको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। यस सिमसार पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै नगरप्रमुख चौधरीले आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट भौतिक विकास र स्थानीय युवाको रोजगारी सिर्जनामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

सम्बन्धित समाचार

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

    काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व

  • सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

    म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend