पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान


साथसाथै न्युज
१६, चैत २०८०
पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज- बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ। तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उक्त कार्यालय सुनसान भएको छ।

'अहिले कुनै काम छैन, काम भएको भए हामी पनि व्यस्त हुन्थ्यौँ होला तर आइसिपी सञ्चालन भएपछि पुनः काम हुने आश्वासन पाएका छौँ,' जमुनाहस्थित अध्यागमन कार्यालयका प्रमुख दुर्गाकुमारी वलीले भने। उनले कोरोनाकालदेखि नै सो कार्यालयबाट हुने काम बन्द भएको जानकारी दिँदै भारतीय पक्षसँग कुरा गर्दा आइसिपी सञ्चालन भएपछि पुनः सञ्चालनमा आउने जानकारी पाएको बताए।

अध्यागमन कार्यालयमार्फत जमुनाह नाका हुँदै तेस्रो मुलुकबाट पर्यटक नेपाल आउने गरेको जानकारी दिँदै अध्यागमन प्रमुख वलीले विगतमा ‘भिसा’को म्याद थप गर्ने कार्य पनि सोही कार्यालयबाट हुँदै आएको बताए। खास गरी चीन, कम्बोडिया, अमेरिका र जापानबाट जमुनाह नाका हुँदै पर्यटक नेपाल आउने र नेपालबाट भारततर्फ जाने गरेको बताइएको छ।

अहिले पनि जमुनाह नाकामा आउने पर्यटकलाई अनुमति लिनका लागि रुपन्देहीको बेलहिया नाकामा पठाउने गरेको उल्लेख गर्दै उनले भने, 'काम नहुने कुरा धेरैले थाहा पाउनुभएको छ तर कहिलेकाहीँ फोनबाट सोधपुछ भइरहेको हुन्छ।' कार्यालय प्रमुख वलीले कामका लागि गृह मन्त्रालयलाई पटकपटक आग्रह गरेको जानकारी दिँदै आइसिपी सञ्चालन भएपछि प्रभावकारी काम हुने आश्वासन पाएको बताए। सो अध्यागमन कार्यालयमा अहिले आठ कर्मचारीको दरबन्दी रहेको तर सात कर्मचारी मात्रै कार्यरत छन्।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)बाँकेका अध्यक्ष श्रीराम सिग्देलले कोभिडकालमा तेस्रो मुलुकबाट आउने पर्यटकलाई नेपाल भएर भारत जान र भारत भएर नेपाल आउने अनुमति नदिँदा बाँकेको पर्यटन विकासमा असर परेको बताए। तेस्रो मुलुकका धेरै पर्यटक भारतको रुपैडिहा आएर फर्केका उल्लेख गदै उहाँले कोभिडकालअघिको भिसादिने व्यवस्थालाई अविलम्ब प्रारम्भ गर्न सरकारसँग माग गरे।

सिद्धार्थ बिजनेस ग्रुपका निर्देशक केशव न्यौपानेले अध्यागमन कार्यालय सञ्चालनमा नआउँदा तेस्रो मुलुकबाट आउने पर्यटक जमुनाह नाकाबाट भित्र्याउन अप्ठेरो भएको उल्लेख गर्दै यहाँ आउनका लागि पर्यटक बेलहिया जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य हुनुपर्ने बताए।

 

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend