तराई-मधेसमा सुक्दै पानीका स्रोत, खानेपानी अभाव चुलिँदै


साथसाथै न्युज
७, साउन २०८०
तराई-मधेसमा सुक्दै पानीका स्रोत, खानेपानी अभाव चुलिँदै

काठमाडौं- खडेरीका कारण तराई-मधेसमा पानीको स्रोत सुकेपछि खानेपानीको अभाव चुलिएको छ। साउन लागिसक्दासमेत जिल्लामा राम्रोसँग वर्षा नहुँदा पानीका स्रोत सुक्ने क्रम रोकिएको छैन।

सर्लाहीको बागमती नगरपालिका– ३ धरहरामा गाउँभरिकै चापाकल सुकेपछि स्थानीय प्राविधिक बोलाएर पानीको खोजीमा जुटेका छन्। गत वैशाखसम्म पानी आइरहेको चापाकलहरू अहिले धमाधम सुकिरहेको स्थानीय वीरबहादुर वाइबाले बताए।

चापाकल सुक्न थालेपछि पानीको हाहाकार भएको मलंगवा नगरपालिका–२ का स्थानीय राजेश्वर राउतले बताए। पानी आइरहेका चापाकलबाट समेत पहिलेजस्तो पानी आउन छाडेको उनले सुनाए। गाउँका केही चापाकलमा मात्र पानी आएका कारण सबैले एकै ठाउँबाट पानी भर्ने गरिरहेका छन्। अहिलेसम्म कहिल्यै पानीको समस्या नभएको गाउँमा एकाएक चापाकल सुक्न थालेपछि स्थानीय चिन्तित भएका छन्।

हरिवन नगरपालिका–८ निवासी अर्जुन दाहालले केही दिन पहिले मात्र खानेपानीको धारा जोडेका थिए। वर्षौंदेखि पानी पिउँदै आएको आँगनीको चापाकल देखाउँदै उनले भने, ‘धन्न गाउँमा धाराको सुविधा छ। त्यही पनि नभएको ठाउँका नागरिकले कसरी पानी खाएका होलान?’ यद्यपि, धाराबाट जोडेको पानी चापाकलकोजस्तो भने नहुने उनको भनाइ थियो।

जिल्लाको उत्तरी क्षेत्रमा पानीको स्रोतको रूपमा कुवा तथा इनार प्रयोग हुँदै आइरहेको छ भने दक्षिणी क्षेत्रमा चापाकलको भर छ। ‘केही वर्ष पहिलासम्म १५ देखि २० फिटमै पानीको स्रोत फेला पर्ने गरेको ठाउँमा अहिले सयौँ फिट तलसम्म पानी फेला पर्दैन,’ चापाकल गाड्ने प्राविधिक सर्लाहीको हरिवन निवासी मिजल खानले भने, ‘गत दुई-तीन महिनायता चापाकल सुकेर फोन गर्नेहरू धेरै छन्।’ 

आफूहरू दैनिक पानीको खोजीमा निस्कने गरेको प्राविधिकहरू बताउँछन्। त्यसमध्ये निकै कम ठाउँमा थोरै मात्र पानी भेटिने गरेको छ। सबैतिर पानीको सतह तलतिर सरेको चापाकल प्राविधिक बिकाउ महतोले बताए। केही वर्षदेखि पर्याप्त वर्षा नभएका कारण जमिनमा पानी सुक्दै गएको उनको भनाइ छ।

चापाकल सुक्न थालेपछि स्थानीयले घण्टौँ धाएर पानीको जोहो गर्नुपर्ने अवस्था आएको छ। जिल्लाको चुरे क्षेत्रमा त झनै खानेपानीको चरम अभाव हुन थालेको छ। हरिवन नगरपालिका– १ स्थित वनमाराका स्थानीयले खानेपानीको ठूलो समस्या भोग्नुपरिरहेको गुनासो गरेका छन्। पानीको अभाव भएपछि कोशौँ टाढाका खोला तथा खोल्साबाट धमिलो पानी ल्याएर पिउने गरेको स्थानीय बिमानसिंह तामाङले बताए। जिल्लाको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाअन्तर्गत चुरे क्षेत्रका नागरिक खानेपानीको चरम अभाव भोग्न बाध्य छन्।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सर्लाहीमा कुल परिवारको २९.८ प्रतिशत अर्थात् १९ लाख ८२ हजार १८० परिवारले ट्युबेल (चापाकल)बाट पानी पिउने गरेका छन्। २३ हजार ८२७ परिवारले खोला तथा झरनाको र २ लाख ६२ हजार ४४ परिवारले मूलबाट धारामा ल्याएको पानी पिउने गरेका छन्। 

त्यसैगरी, १ लाख ४१ हजार ८५७ परिवारले खुला इनार तथा कुवाको पानी पिउने गरेका छन् भने १ लाख २ हजार २३५ परिवारले व्यवस्थित इनार तथा कुवाबाट पानी पिउँदै आएका छन्। २२.४ प्रतिशत अर्थात् १४ लाख ९० हजार ८ सय ४६ परिवारले सामूहिक धारा र २३ लाख ४ हजार १५ परिवार (३४.६ प्रतिशत)ले व्यक्तिगत धारा जडान गरेर शुद्ध पानी पिउने गरेका छन्। 

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend