हुम्ला र मुस्ताङमा हिमपात


साथसाथै न्युज
१८, मंसिर २०८०
हुम्ला र मुस्ताङमा हिमपात

काठमाडाै‌ - हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । 
 
 सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताउनुभयो ।
 
हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको उहाँले बताउनुभयो। 
 
आज विहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन्।
 
बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताउनुभयो। अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ। 
 
यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ। जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ । चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। 
 
मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो।
 
विहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उहाँको भनाइ छ। यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन्। लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए। 
 
यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुननसकेको उहाँको भनाइ छ । विहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचनले बताउनुभयो। 
 
उहाँ भन्नुहुन्छ, “यस वर्ष पहिलो पटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था छ, यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए।”
 
मान्ममा हिमपात

कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि कालीकोटका किसान खुसी भएका छन् । कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन्।
 
पानीसहित हिमपात पर्नु किसानका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताउनुभयो। “गहुँ बाली छरेका बेला पानी परेकाले किसानका लागि निकै राम्रो भएको छ”, उहाँले भन्नुभयो। 
 
मान्मको तल्लो भू–भागमा पानी परेको छ भने उच्च क्षेत्रमा हिमपात सुरु भएको कालीकोट रास्कोट नगरपालिका–१ का धनिराम सिंम्खडाले जानकारी दिनुभयो। 

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend