जलावायु परिवर्तनको असर : भारतमा हिमताल फुट्दा १० जनाको मृत्यु, १०२ बेपत्ता


साथसाथै न्युज
१९, असोज २०८०
जलावायु परिवर्तनको असर : भारतमा हिमताल फुट्दा १० जनाको मृत्यु, १०२ बेपत्ता

गुहाटी- भारतमा उच्च क्षेत्रमा रहेको हिमताल फुट्दा १० जनाको मृत्यु भएको छ भने १०२ जना भन्दा बढी बेपत्ता भएका छन्। भारतीय उद्धार टोलीहरूले हिमको ताल फुटेर आएको विनाशकारी बाढीमा बेपत्ता भएका १०२ जनाको खोजी गरिरहेको छ।

विश्वको तापक्रम बढ्दै जाँदा र हिउँ पग्लने क्रममा चट्टानले बाँधिएका हिमतालहरु फुट्ने क्रम बढेको छ।  जलवायु वैज्ञानिकहरूले बाढीले फराकिलो हिमालय पर्वत शृङ्खलामा बढ्दो खतरा निम्त्याउने चेतावनी दिएका छन्- र यसले सम्पूर्ण विश्वलाई क्षति निम्त्याउने बताइरहेका छन्। 

उत्तरपूर्वी भारतको पहाडी उपत्यकामा हिमताल फुटेको एक दिनपछि सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरणका निर्देशक प्रभाकर राईले एएफपीलाई भने, 'कम्तीमा १० जनाको मृत्यु भएको छ र अन्य १०२ जना बेपत्ता भएका छन्।'

अधिकारीहरूले सडकहरू 'गम्भीर रूपमा' क्षतिग्रस्त भएको र १४ वटा पुलहरू बगेको जानकारी दिएका छन्। ठूला क्षेत्रहरूमा सञ्चार र सडकहरू अवरुद्ध भएका कारण उद्धारकार्यमा समेत बाधा परेको छ। 

'बाढीको पानीले राज्यका चार जिल्लामा विनाश निम्त्याएको छ, मानिसहरू, सडक, पुलहरू बगाएको छ,' भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीले एएफपीलाई भने।

बेपत्तामध्ये २२ जना सैनिक रहेको सेनाले जनाएको छ। सेनाले टेलिफोन जडानहरू पुन: स्थापना गर्न र समस्यामा परेका पर्यटकहरू र स्थानीयहरूलाई चिकित्सा सहायता प्रदान गर्न काम गरिरहेको थियो।  

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा वरपरका चुचुरोमा हिमनदीको फेदमा रहेको अग्लो ल्होनाक तालको किनारमा भारी वर्षाले भएपछि पानीको बहाव बढेको हो। 

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) अनुसन्धान समूहका अनुसार जलवायु परिवर्तनका कारण हिमालयका हिमनदीहरू पहिलेभन्दा छिटो पग्लन थालेका छन्, जसले समुदायहरूमा अप्रत्याशित प्रकोपहरूको सामना गर्नुपरेको छ।

ल्होनाक तालको आकार झण्डै दुई तिहाइले संकुचित भएको र यो क्षेत्र करिब १५० फुटबल मैदान बराबर रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले जारी गरेको स्याटेलाइट तस्बिरहरूले देखाएको छ।

'तीव्र वर्षाले सिक्किममा यो विनाशकारी अवस्था निम्त्याएको छ, जहाँ वर्षाले हिमतालमा बाढी आएको र बाँधमा क्षति पुर्‍याएको छ,' नेपालमा हिमालय क्षेत्रहरूको निगरानी गर्ने हिउँ विशेषज्ञ वैज्ञानिक मिरियम ज्याक्सनले भनिन्।

'हामीले देख्छौं कि त्यस्ता चरम घटनाहरू बढ्दै गइरहेका छन् र तापक्रम बढ्दै जाँदा यस्ता घटनाहरुमा थप वृद्धि हुने गर्दछन।'

सन् २०२१ मा भारतको उत्तरी हिमालय राज्य उत्तराखण्डमा एउटा हिमताल फुट्दा दर्जनौंको मृत्यु भएको थियो। 

पूर्व-औद्योगिक कालदेखि पृथ्वीको सतहको औसत तापक्रम झण्डै १.२ डिग्री सेल्सियस (लगभग २ डिग्री फरेनहाइट) बढेको छ तर विश्वभरका उच्च हिमाली क्षेत्रहरू त्यो गतिमा दोब्बर बढेको जलवायु वैज्ञानिकहरूले बताएका छन्।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend