काठमाडौं- निकै छिटो र तीव्र रुपमा फैलिने ‘आक्रामक–इन्भेसिभ’ प्रजातिले प्रत्येक वर्ष विश्वलाई ४२३ अर्ब अमेरिकी डलर बराबरको क्षति गरिरहेको संयुक्त राष्ट्रसंघको एक रिपोर्टले देखाएको छ।
यस किसिमका प्रजातिले बोटविरुवा र जिवजन्तु लोप गराउने, खाद्य सुरक्षाका लागि खतरा र विश्वभर वातावरणीय प्रकोप बढाइरहेको राष्ट्रसंघीय रिपोर्टमा उल्लेख छ।
एक ठाउँबाट अर्को ठाउँको भ्रमण र विश्वव्यापी व्यापार जस्ता मानवीय कारणले यस्ता जिव र वनस्पति अभूतपूर्व गतिमा फैलिइरहेको वैज्ञानिकहरुले बताएका छन्।
प्रत्येक वर्ष २०० वटा यस किसिमका नयाँ ‘एलियन प्रजाति’हरु गणनामा आइरहेको तथ्यांकले देखाएको छ। हालसम्म विश्वभर पहिचानमा आएका ३७ हजार एलियन प्रजातिमध्ये ५०० वटा खतरनाक मानिएका छन्।
यी प्रजातिले बालीनाली नष्ट गर्ने, स्थायी प्रजातिको लोप गराउने, जलस्रोत प्रदूषित पार्ने, रोग फैलाउने र विनाशकारी प्राकृतिक प्रकोपका लागि आधार स्थापना गरी ‘गम्भीर विश्वव्यापी खतरा’ निम्त्याइरहेका छन्।
यस्ता प्रजातिका कारण भइरहेको आर्थिक क्षति सन् १९७० यता हरेक दशकमा कम्तीमा चारगुणाले बढ्दै गएको वैज्ञानिकहरूले बताएका छन्।
'यो आंकडालाई एकदमै बेवास्ता गरिएको छ..., यो हिमशिलाको टुप्पो हो,' राष्ट्रसंघको जैविक विविधता र इकोसिस्टम सर्भिस (आईपीबीईएस) रिपोर्टका सहलेखक पर्यावरणविद् हेलेन रोयले भनेकी छन्।
यस्ता जिव र वनस्पतिजन्य प्रजातिको फैलावट र प्रभाव रोक्न सकिएन भने, सन् २००५ को तुलनामा सन् २०५० मा एकतिहाइ बढी यस्ता प्रजाति हुने आंकलन गरिएको छ।
जलवायु परिवर्तन बिग्रिँदै जाँदा यस्ता एलियन प्रजातिको खतरा पनि बढ्दै गइरहेको विज्ञहरुको भनाइ छ।
विश्वभर जरा, तर असर स्थानीय
एलियन प्रजातिहरु बोटविरुवा, जनावर वा अन्य प्रजातिहरु हुन्, जुन मानवीय कारणले नयाँ ठाउँ वा क्षेत्रमा पुग्छन्। जब यी प्रजातिले नयाँ ठाउँमा आफूलाई स्थापित गरेर जैविक विविधता, पारिस्थितिक प्रणालीदेखि मानवीय जीवनशैलीमा नै असर पार्छन्, तब यसलाई ‘आक्रमणकारी’ वा ‘हानिकारक’ प्रजाति भनिन्छ।
अफ्रिका महादेशमा तालमाथि र नदी थुन्ने हाइसिन्थ, क्यारेबियनमा माछा मार्ने काममा असर गरिरहेको सिंह माछा (लायन फिस) र हिन्द महासागरको क्रिसमस टापुमा फैलिरहेका ‘विशाल–जायन्ट अफ्रिकी शंखेकिरा’ केही आक्रमणकारी प्रजाति हुन्।
यस्तै, ‘ब्राउन ट्री सर्प’ले प्यासिफिक टापु गुआममा चराहरूको समाप्त गर्न थालेको छ। तीव्र रुपमा फैलिइरहेको ‘जेब्रा सिपी’ले उत्तर अमेरिकी ‘ग्रेट लेक’मा कब्जा जमाइरहेको छ।
यसबाहेक लामखुट्टेले डेंगी, जिका, मलेरिया र वेस्ट नाइल भाइरस जस्ता रोग नयाँ क्षेत्रमा फैलाइरहेको विषय पनि उत्तिकै खतरनाक विषय बनेको छ।
विभिन्न देश र महाद्वीपमा फैलिइरहेको आक्रमणकारी प्रजाति जैवविविधता भइरहेको क्षतिको प्रमुख कारक बनेको छ। विश्वमा लोप भएका विभिन्न प्रजातिको ६० प्रतिशत कारण यिनै आक्रमणकारी प्रजातिलाई दिइएको छ। यी एलियन प्रजातिहरु स्थापित भएपछि विनाशकारी सावित हुन्छन्।
गत महिना अमेरिकी राज्य हवाईमा भएको आधुनिक इतिहासकै घातक डढेलोमा स्थानीय रुपमा त्यहाँ नरहेको सुकेको घाँस र झाडीले आगो फैलिन मद्दत गरेको बताइएको छ।
विश्वव्यापी रुपमा जरा गाडेका यी प्रजातिको ठाउँअनुसार क्षति फरक–फरक भए पनि सबैभन्दा धेरै प्रभाव स्थानीय रुपमा पर्ने गरेको छ। हरेक देशका नागरिक र समुदायका मानिसले यसको असरको सामना गरिरहेका छन्।
आक्रामक प्रजातिसँगै जलीय र स्थल वासस्थानको विनाश, जिवजन्तुमाथि शोषण र जलवायु परिवर्तनलगायतले जैविक विविधतामा संकट निम्त्याइरहेको छ। खासगरी समुद्री प्रणाली र अन्य रोकथाम गरेमा यस्ता प्रजातिको खतराबाट जोगिन सक्नेमा वैज्ञानिकहरू आशावादी छन्।
खास गरी नयाँ ठाउँमा यस किसिमका प्रजातिको आगमन रोक्न सकेमा र तिनीहरु स्थापित हुनुभन्दा अघि नै नियन्त्रण गर्नु प्रभावकारी रहने विज्ञहरु बताउँछन्। यस्तै, पहिले नै स्थापित भइसकेका वा जरा गाडिसकेका प्रजातिहरुका लागि त्यसको उन्मूलन सबैभन्दा प्रभावकारी देखिएको छ।
रिपोर्टका सहलेखक एवं ओन्टारियो टेक विश्वविद्यालयका सामाजिक विज्ञान एवं मानविकी संकायका डिन पिटर स्टोएटले एलियन प्रजातिको प्रभावलाई बेवास्ता गर्न नहुने बताएका छन्। रिपोर्टले यस किसिमका आक्रामक प्रजाति नियन्त्रण गर्न सकिने सम्भावना देखाएको उनले बताए।
सन् २०२२ मा विश्वभरका देशहरु राष्ट्रसंघीय ‘कुनमिङ–मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क’मार्फत सन् २०३० सम्म एलियन प्रजातिको वृद्धि र विकास ५० प्रतिशतले रोक्ने लक्ष्यमा सहमत भएका छन्।