काठमाडौं : नेपालका ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन्। त्यस्तै, ७३ लाख खडेरी, ५७ लाख अत्यधिक गर्मी र २९ लाख वर्षाजन्य पहिरोको जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ।
युनिसेफले सार्वजनिक गरेको ‘ग्रोइङ अप इन अ क्लाइमेट हटस्पट : द रिस्क सेपिङ द लाइभ्स एन्ड फ्युचर अफ नेपाल्स चिल्ड्रेन’ प्रतिवेदनअनुसार २४ लाख बालबालिका एकैपटक विभिन्न जलवायुजन्य विपद्को उच्च जोखिममा छन्।
प्रतिवेदनले वायु प्रदूषण, खडेरी र गर्मीका कारण बालबालिकाको स्वास्थ्य, पोषण र पढाइमा असर परेको उल्लेख गरेको छ। खडेरीले खानेपानी र कृषि उत्पादनमा समस्या निम्त्याएको छ भने बाढीपहिरोका कारण घर छाड्नुपर्ने अवस्था आउँदा बालबालिकाको पढाइसमेत छुट्ने गरेको छ।
नेपालमा पाँच वर्षमुनिका चारमध्ये एक बालबालिका पुड्कोपनबाट प्रभावित छन्। त्यस्तै, २२ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा छन्। गरिब परिवार, बालिका, अपांगता भएका बालबालिका र दुर्गम क्षेत्रमा बसोबास गर्नेहरू जलवायुजन्य विपद्बाट बढी प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ।
युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाले जलवायु परिवर्तनको असर बालबालिकाले बढी भोगिरहेको बताएकी छन्। ‘जलवायु परिवर्तनको समस्या सिर्जना गर्न बालबालिकाको योगदान नगण्य भए पनि यसको सबैभन्दा गम्भीर असर उनीहरूले भोगिरहेका छन्,’ उनले भनेकी छन्।
आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको आन्टाल्यामा हुने ३१औँ विश्व जलवायु सम्मेलन (कोप–३१) अघि युनिसेफले बालबालिकाको आवश्यकता र अधिकारलाई जलवायु नीति तथा बजेटमा समेट्न सरकार र विकास साझेदारलाई आग्रह गरेको छ।
यसैबीच, नेपाल सरकारले अक्टोबर २९ मा सम्पन्न राष्ट्रिय जलवायु सम्मेलनमा ‘बालबालिका, युवा तथा जलवायु कार्यसम्बन्धी घोषणापत्र’ अनुमोदन गरेको छ। उक्त घोषणापत्रलाई हालसम्म ७८ देशले समर्थन गरिसकेका छन्। नेपालले अनुमोदन गरेको घोषणापत्र कोप–३१ का अवसरमा युनिसेफका प्रतिनिधिलाई हस्तान्तरण गर्ने तयारी छ।