विश्वमञ्चबाट बालेनको सन्देश– ‘पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धको बाटोमा विश्व हिँडोस्’

जलवायु संकट, हिमालयको विपद् र विश्वव्यापी असमानतामाथि प्रश्न उठाउँदै राष्ट्रसंघको महासभामा बालेनको सम्बोधन


साथसाथै न्युज
९, असोज २०८३
विश्वमञ्चबाट बालेनको सन्देश– ‘पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धको बाटोमा विश्व हिँडोस्’

न्युयोर्क, असोज ९ — प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाको विश्वमञ्चबाट नेपालको जलवायु संकट र हिमालय क्षेत्रमा बढ्दो विपद्को जोखिम उठाउँदै अन्त्यमा विश्व शान्ति र मानवकल्याणको कामना गरेका छन्। ८१औँ महासभालाई सम्बोधन गर्दै शाहले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।’

 

शाहले आफ्नो सम्बोधनको सुरुवात नै नेपालबाट विश्वका लागि आएको ‘चेतावनी’बाट गरेका थिए। उनले पछिल्लो भोटेकोशी–त्रिशूली विपद्लाई नेपालमा मात्र सीमित घटना नभई जलवायु संकटले हिमालय क्षेत्रमा सिर्जना गरिरहेको जोखिमको संकेतका रूपमा प्रस्तुत गरे।

 

उनका अनुसार उक्त विपद्मा कम्तीमा १ हजार ४ सय जनाको मृत्यु पुष्टि भएको र ६ हजारभन्दा बढी अझै बेपत्ता रहेका छन्। प्रारम्भिक मूल्यांकनले विपद्पछि नेपालको भौतिक पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक पर्ने रकम देशको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबर हुने देखाएको उनले महासभालाई जानकारी दिए।

 

‘हिमालबाट आएको चेतावनी सुनौँ’

 

प्रधानमन्त्री शाहले करिब तीन वर्षअघि नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सगरमाथाको आधार क्षेत्रबाट दिएको जलवायु संकटसम्बन्धी चेतावनी स्मरण गरे।

 

उनले जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न विश्वका राजनीतिक नेतृत्वले पर्याप्त गति र स्तरमा काम गर्न नसकेको बताए। हिमनदी पग्लिनु, हिमाली भू–भाग अस्थिर हुनु, हिमताल तथा पहाडी क्षेत्रमा विपद्को जोखिम बढ्नुजस्ता विषयलाई उनले जलवायु संकटसँग जोडेर प्रस्तुत गरे।

 

‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै शाहले हिमाल, नदी र बाढीले राजनीतिक सीमाको ख्याल नगर्ने भएकाले हिमालय क्षेत्रमा क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए।

 

नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ प्रस्ताव

 

शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्ने प्रस्ताव पनि महासभासमक्ष राखे।

 

प्रस्तावित संयन्त्रमार्फत जोखिमयुक्त हिमतालको निगरानी, भू–उपग्रहसम्बन्धी तथ्यांक तथा प्राविधिक ज्ञान आदानप्रदान, संयुक्त पूर्वसूचना प्रणाली सुदृढीकरण र विपद्का बेला सीमापार सहयोग समन्वय गर्ने उनको प्रस्ताव छ।

 

‘हिमालयलाई टुक्राटुक्रा सूचनाको सीमा होइन, अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाऔँ’ भन्ने धारणा राख्दै शाहले हिन्दुकुश हिमालय क्षेत्र करिब २ अर्ब मानिसको पानी, कृषि, पारिस्थितिक प्रणाली र जीविकोपार्जनसँग जोडिएको बताए।

 

‘नेपालले संकट सिर्जना गरेको होइन, तर ठूलो मूल्य चुकाइरहेको छ’

 

शाहले नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको बताए।

 

‘हामीले यो संकट सिर्जना गरेका होइनौँ, तर यसको ठूलो मूल्य चुकाइरहेका छौँ’ भन्ने उनको भनाइ थियो। हिमनदीहरू पछाडि हटिरहेको, हिमाली भूभाग अस्थिर बन्दै गएको र नदीको बहाव अनुमान गर्न कठिन हुँदै गएको उनले बताए।

 

उनले जलवायु विपद्लाई केवल मानवीय संकटका रूपमा नभई विकासको संकटका रूपमा लिनुपर्ने बताए। विपद्ले सडक, पुल, विद्यालय, घर तथा जीविकोपार्जनका संरचना नष्ट गर्दा विकासका उपलब्धि समेत पछाडि धकेलिने उनको भनाइ थियो।

 

जलवायु वित्तमा ‘राहतदेखि उत्थानशीलता’सम्म

 

प्रधानमन्त्री शाहले नेपालको जलवायु तथा विपद् व्यवस्थापनसम्बन्धी मागलाई छ वटा शब्दमा प्रस्तुत गरे।

 

‘राहत, पुनःस्थापना, पुनर्निर्माण। साथै, जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता।’

 

उनका अनुसार पहिलो तीन कुरा विपत्तिपछि तत्काल आवश्यक हुन्छन् भने पछिल्ला तीन विषयले विपद्लाई कमजोर देशहरूको स्थायी नियति बन्न नदिन आधार तयार गर्छन्।

 

शाहले लस एन्ड ड्यामेज फन्ड, ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटीलगायत विद्यमान जलवायु वित्तीय संयन्त्र पर्याप्त नभएको बताए। जलवायु वित्त प्राप्त गर्ने प्रक्रिया जटिल र लामो हुन नहुने उनको भनाइ थियो।

 

‘घर जलिरहेको बेला परिवारलाई ५० वटा फाराम भर्न लगाउँदैनौँ, हामी काम गर्छौँ’ भन्दै उनले जलवायु न्यायलाई व्यवहारमा उतार्नुपर्ने बताए।

 

युद्धका सामग्री सहज, किसानलाई मल र इन्धन किन कठिन?

 

शाहले आफ्नो सम्बोधनमा विश्वव्यवस्थाको अर्को पक्षमाथि पनि प्रश्न उठाए। उनले युद्धका लागि आवश्यक हतियार तथा सैन्य सामग्री विश्वका विभिन्न भागमा छिटो पुग्ने तर किसानका लागि आवश्यक मल र इन्धनको आपूर्ति सहज नहुने अवस्था रहेको बताए।

 

‘हामीले युद्धका लागि त्रुटिहीन र खाद्यान्नका लागि कमजोर आपूर्ति प्रणाली भएको विश्व बनाएका छौँ’ भन्ने उनको भनाइ थियो।

 

उनले यस्तो समस्या नेपालमा मात्र नभई दक्षिण एसियाका अन्य मुलुकहरूले समेत भोगिरहेको बताए। जलवायु संकटसँगै युद्ध, आर्थिक असमानता र भू–राजनीतिक तनावले कमजोर देशहरूमा थप दबाब सिर्जना गरिरहेको उनको तर्क थियो।

 

‘हिमालयबाट अर्को चेतावनी आउँदा तयार रहौँ’

 

सम्बोधनको अन्तिम भागमा शाहले नेपालमा पछिल्ला विपद्ले भविष्यमा जलवायुजन्य जोखिम अझ बढ्न सक्ने संकेत गरेको बताए। उनले विपद् आएपछि मात्र प्रतिक्रिया दिने अभ्यासबाट तयारीमा आधारित प्रणालीतर्फ जानुपर्नेमा जोड दिए।

 

उनले उत्थानशील पूर्वाधार, बीमा, नवीनता, संस्थागत क्षमता, प्रारम्भिक चेतावनी प्रणाली तथा जीविकोपार्जनको सुरक्षामा लगानी गर्न आह्वान गरे।

 

‘हामीलाई चेतावनी दिने, सचेत गराउने र जीवन बचाउने प्रणाली निर्माण गरौँ’ भन्दै उनले जीवाश्म इन्धनमा निर्भरता घटाउनुपर्ने बताए।

 

त्यसपछि उनले सगरमाथा र हिमालयलाई ‘विश्वको छानो’का रूपमा उल्लेख गर्दै भने– ‘जब विश्वको छानोबाट अर्को चेतावनी आउँछ, त्यसलाई सुन्न र त्यसअनुसार काम गर्न हामी तयार रहौँ।’

 

अन्त्यमा पशुपतिनाथ र बुद्धको सन्देश

 

जलवायु संकट, विपद्, विश्वव्यापी असमानता र अन्तर्राष्ट्रिय सहकार्यका विषय उठाएपछि शाहले आफ्नो पहिलो राष्ट्रसंघ महासभा सम्बोधनको अन्त्य भने नेपालको धार्मिक तथा बौद्ध परम्परासँग जोडिएको शान्तिको सन्देशबाट गरे।

 

उनले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।’

 

नेपालको हिमालयबाट आएको जलवायु चेतावनीलाई विश्वमञ्चमा राख्दै सुरु भएको उनको सम्बोधनको अन्त्य विश्वकल्याण र बुद्धको मार्गको कामनाबाट भएको हो।

 

सम्बन्धित समाचार

  • कोप–३१ मा हिमालदेखि जलवायु न्यायसम्मका मुद्दा उठाउने नेपालको तयारी

    काठमाडौं, कात्तिक १३। नेपालले आगामी नोभेम्बरमा टर्किएमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप३१)

  • अत्यधिक गर्मीको चपेटामा बेलायतका सडक, तीन वर्षमा कालोपत्रे बिग्रिने घटना ६७ प्रतिशत बढ्यो

    काठमाडौं, असोज १२ अत्यधिक गर्मीका कारण बेलायतका सडकमा कालोपत्रे नरम भएर बिग्रिने तथा सवारीसाधनको

  • शक्तिशाली एल निनोले फेब्रुअरीसम्म ४ लाख ५१ हजार अतिरिक्त गर्मीजन्य मृत्यु हुनसक्ने चेतावनी

    काठमाडौं, असोज ८ — यस वर्ष विकसित भइरहेको शक्तिशाली एल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend