काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी चेतना जनस्तरसम्म बढ्दै गएको उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन एकीकृत प्रयासको आवश्यकता औँल्याउनुभएको छ ।
नेपाल प्रेस युनियनले स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटमा प्रेस भूमिका’ कार्यक्रममा उहाँले जलवायु चेतना सम्बन्धमा सरकारसँगै सरोकारवाला सबैको भूमिका एकीकृत रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कार्बन उत्सर्जनमा नेपालको नगण्य भूमिका रहे पनि जलवायुको असरबाट बढी प्रभावित हुनु परेको समेत बताउनुभयो ।
पूर्वसञ्चारमन्त्री समेत रहनुभएका डा रिजालले भन्नुभयो, “नेपालले पछिल्लो समय बेमौसमी वर्षाका कारण जलवायु विपद्का ठूलो क्षति ब्यहोर्नु परेको छ । यसमा क्षतिपूर्ति र दाबीका लागि अन्तरराष्ट्रिय पहल र पैरबी आवश्यक छ ।”
फरक प्रसङ्गमा उहाँले पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोग बढेसँगै देखिएका चुनौती सामना गर्न सबै पक्षसँगै मिडियाको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य उदयशम्शेर राणाले नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि जलवायु वित्तमा पहुँच पुर्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै उहाँले सामाजिक सञ्जालमा देखिएका विकृति समाधानका लागि मिडियाका भूमिकाबारे प्रकाश पार्नुभयो ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तन विश्वको जल्दोबल्दो विषय भएको उल्लेख गर्दै यसमा मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले मिडियामा देखिएका विकृति समाधानका लागि प्रेस युनियन जस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार हरिहर विरहीले पछिल्लो समय केही व्यक्तिका विकृति देखाएर सिङ्गो राजनीतिक व्यवस्थालाई नै बदनाम गराउने काम भइरहेको बताउनुभयो । उहाँले यस्तो अवस्थामा भ्रम चिरेर यथार्थ देखाउनका लागि प्रेसको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, पूर्वअध्यक्षहरु रमेश तूफान, कुलचन्द्र वाग्ले, समीरजङ्ग शाह, बद्री सिग्देल, युनियनका उपाध्यक्ष नकुल अर्याल, पत्रकार महासङ्घका उपाध्यक्ष उमिद वागचन्द र नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य प्रेमिका रानाले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि युनियनले खेल्दै आएको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
---
राष्ट्रिय समाचार समिति (रासस)