सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा


७, जेठ २०८२
सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

काठमाडौँ-  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते सम्मेलन आयोजना गर्न लागेको हो ।
     
नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा भाग लिन हालसम्म १६ देशका एक सय ७७ आरोहीले नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ ।
     
सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरूले सहभागिता जनाउनेछन् ।
     
“सम्मेलनमा ७१ वर्षअघिदेखिका सगरमाथा आरोहीको सहभागिता रहनेछ । कीर्तिमानी आरोहीको अनुभव आदनप्रदान हुनेछ । फरक क्षमता भएका कीर्तिमानी आरोहीको प्रस्तुति रहनेछ”, अध्यक्ष नेपालले भन्नुभयो । उहाँका अनुसार सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गरिनेछ ।
     
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा बृहत् छलफल हुने अध्यक्ष नेपालले जानकारी दिनुभयो । हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसीको आदानप्रदान हुनेछन् । 


प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा हिमालका समस्याका बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको  छ । 


पर्यटन व्यवसायीको छाता संस्थाहरू नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाललगायत संस्थाको समन्वय र सहकार्य रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । 


सम्मेलनले नेपाल भ्रमण गर्न आउने तथा बढी खर्च गर्ने पर्यटकलाई हौसला प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटनमा महत्त्वपूर्ण इभेन्टका रूपमा आयोजना हुने यस समिटर सम्मेलन साहसिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 


राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • ‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

    काठमाडौँ - काठमाडौँ उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा

  • माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

    चितवन, ४ असारः यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३

  • ‘जलवायु चेतना प्रभावकारी बनाउन एकीकृत प्रयास आवश्यक’

    काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी चेतना जनस्तरसम्म बढ्दै गएको

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend