सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न


३, जेठ २०८२
सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न
काठमाडौँ-  आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समिति  संयोजक डा आरजुराणा देउवाले ‘मिडिया ब्रिफिङ’मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकारी गराउनुभयो ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी संवादको औपचारिक उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले संवाद सत्रमा संवादको दृष्टिकोण र विश्वले जलवायु परिवर्तनसहित धेरै दबाबपूर्ण चुनौतीहरूको सामना गरिरहेका बेला यसको महत्व प्रस्तुत गर्नुभएको थियो । उहाँले चुनौती सम्बोधन गर्न ‘संवादको शक्ति’ मा पनि जोड दिनुभएको थियो ।
 
सम्बोधन गर्नुअघि, प्रधानमन्त्री ओलीले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अनावरण गर्नाका साथै कोप–२९ का अध्यक्ष मुख्तार बेबायेभलाई हस्तान्तरण गर्नुभएको थियो । परराष्ट्रमन्त्री डा राणाले स्वागत गर्नुभएको थियो ।
 
यस्तै, कोप २९ का अध्यक्षता तथा जलवायु मुद्दाहरूमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभले आफ्नो मुख्य भाषण दिँदै जलवायु परिवर्तनका धेरै आयामहरू र पहाडहरूमा पर्ने प्रभावलाई सम्बोधन गर्न आवश्यक विकल्प र समाधानबारे प्रकाश पार्नुभएको थियो ।
 
यस्तै, भारत सरकारका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले सत्रलाई सम्बोधन गर्दै पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका धेरै प्रभावबारे प्रकाश पार्नुभएको प्रेस ब्रिफिङमा मन्त्री डा राणाले बताउनुभयो ।
 
जनवादी गणतन्त्र चीनको स्थायी समितिका उपाध्यक्ष जिओ जीले सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका  गम्भीर प्रभावबारे जोड दिनुभएको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि भिडियो सन्देशमार्फत सत्रलाई सम्बोधन गर्नुभएको थियो ।
 
विभिन्न मुलुकबाट आउनुभएका विशिष्ट नेताहरू, नीति निर्माता, विशेषज्ञ र अन्य सरोकारवालाले सम्बोधन गरी संवादको उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भयो । त्यसपछि अन्तरराष्ट्रिय सम्मेलनको ढाँचा पछ्याउँदै पूर्ण सत्र भएको थियो । सत्रमा सहभागी देश, अन्तरराष्ट्रिय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरूले संवादको केन्द्रीय विषयमा आफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो । सो सत्रको अध्यक्षता मन्त्री डा राणाले गर्नुभएको थियो ।
 
कुल १९ प्रतिनिधिमण्डलहरू (१३ राष्ट्रिय र ६ क्षेत्रीय र अन्तरराष्ट्रिय सङ्गठनहरूको तर्फबाट) ले जलवायु परिवर्तन, पहाड र मानव जातिको भविष्यका विविध पक्षहरूलाई प्रकाश पार्दै आफ्ना वक्तव्यहरू दिनुभएको थियो । यसमा राष्ट्रिय प्रतिनिधिमण्डलहरूमा बङ्गलादेश, भूटान, नेपाल, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, भारत, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमान र पाकिस्तानका प्रतिनिधि हुनुहुन्थ्यो । अन्तरराष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूमा संयुक्त राष्ट्रसङ्घ, विश्व बैङ्क, एसियाली विकास बैङ्क, सार्क, बिम्स्टेक, इसिमोड रहेका छन् ।
 
प्रतिनिधिमण्डलहरूले पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका कारण परिरहेका प्रभाव तथा मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान पनि गर्नुभएको थियो।
 
राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • गोक्यो घोषणापत्र कार्यान्वयनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराइने

    सोलुखुम्बु- जलवायु न्यायका लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्न लगायत ९ बुँदे गोक्यो

  • नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

    पाटन (ललितपुर), २२ जेठ- साथसाथै फाउन्डेसन र काठमाडौँ विश्वविद्यालयको संयुक्त पहलमा नेपाल कोइला बहिर्गमन कार्यक्रम

  • ‘सगरमाथा संवाद’को सन्देशसहित सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण

    काठमाडौँ- सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा निस्कनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend