काठमाडौं- साथसाथै फाउण्डेशन र पर्वत खेलकुद संघ न्यूयोर्क (अल्पाइन स्पोर्टस असोसिएसन) को संयुक्त आयोजनामा ‘हिमाल जोगाऔं, पृथ्वी बचाऔं’ विषयक अन्तरक्रिया कार्यक्रम अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ।
न्यूयोर्कको ज्याक्सन हाईट सिटीमा आयोजित कार्यक्रममा नेपालका हिमालहरू जलवायु परिवर्तनका कारण संकटमा परेको विषयमा गहन छलफल गरिएको थियो। नेपालबाट आएका पर्वतारोही, पत्रकार तथा विज्ञहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा हिमाली वातावरणीय सन्तुलन, दिगो पर्यटन प्रवर्द्धन, र समुदायस्तरबाट गरिनुपर्ने पहलका विषयमा विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रमका बाेल्दै प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जलवायु परिवर्तनका मुद्दालाई मिडियाले विशेष कभरेज गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा साथसाथै फाउण्डेशनकी अध्यक्ष प्रजिता कार्कीले नेपालमा दिगो पर्यटन विकास तथा हिमाली क्षेत्रको प्रवर्द्धनका लागि समुदायस्तरबाट कसरी प्रभावकारी कदम चाल्न सकिन्छ भन्दै, जलवायु परिवर्तनको असर हाम्रा हिमालहरुमा प्रष्ट देखिन थालेका बतार्इन। सेता, चम्किला हिमालहरु दिनप्रतिदिन कालापहाडमा परिणत हुदैँ गरेको बताउदैँ, अध्यक्ष्य कार्कीले नेपालका हिमालहरू विश्व सम्पदाका धरोहर भएकाले तिनको संरक्षण र प्रवर्द्धनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन्।
वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डित, नेपाल टेलिभिजनकी पत्रकार अनिता बिन्दु, रेडियो कान्तिपुरकी सञ्चारकर्मी कमला पन्थी, मदन पुरस्कार विजेता साहित्यकार तथा लेखक नीलम कार्की निहारिका लगायत नेपालबाट आएका व्यक्तित्वहरूलाई पर्वतीय खेलकुद संघ न्यूयोर्कका सल्लाहकार तथा शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पाले स्वागत गरेका थिए । सहभागीहरूले नेपालमा पर्यटन प्रवर्द्धन गरी स्थानीय समुदायको आर्थिक उन्नति र हिमाली क्षेत्रको दीर्घकालीन संरक्षणका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको सञ्चालन गर्दै महासचिव सन्जोग आचार्यले यस्ता गहन विषयमा मिडियाले प्राथमिकता दिनुपर्ने बताउँदै जलवायु संरक्षण सम्बन्धी संवादलाई अझ व्यापक बनाउने आवश्यकता रहेको उल्लेख गरे।
कार्यक्रमले नेपालका हिमालहरू केवल पर्यटनका लागि मात्र नभई, पृथ्वीको पर्यावरणीय सन्तुलन कायम राख्ने महत्वपूर्ण कारक भएकाले तिनको संरक्षण र दिगो व्यवस्थापनमा सबैको सामूहिक जिम्मेवारी रहेको सन्देश प्रवाह गरेको सहभागीहरूले बताए।