काठमाडौं- ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादका लागि सार्वजनिक गरिएको छ। प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डका जलवायु सल्लाहकार पपुलर जेन्टल भुषालले 'हिमाल, मानव र जलवायु परिवर्तन' का विषयमा हुने अन्तर्राष्ट्रिय संवादको लोगो सार्वजनिक गरिएको जानकारी दिएका हुन्।
आगामी जेठ ९ र १० गते काठमाडौंमा सम्बन्धित विषयका विशेषज्ञहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न लागिएको हो। पर्वतीय राष्ट्रहरुमा जलवायु परिवर्तनको समस्या समाधानका लागि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुतिका लागि महत्वपूर्ण हुने सरकारको विश्वास रहेको छ।
पर्वतीय देशहरू र सम्बद्ध सरोकारवालाहरूलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिअन्तर्गत कार्यक्रमहरूमा सहकार्य गर्न वातावरण बनाउने संवादको लक्ष्य राखिएको छ।
वन तथा वातावरण मन्त्रालयका अनुसार तीनवटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुईवटा प्लेनरी र सातवटा संवाद सञ्चालन गर्ने गरी तयारी गरिएको छ। पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्यांक’को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, संकटसन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय संकटको विषयमा आवश्यक प्रमाणहरू समेट्ने समावेश गरिने छ।
दोस्रो सत्रमा ‘पहाड र प्रकृतिमा आधारित भएर समाधानका उपायहरुमा’ केन्द्रित भएर छलफल गरिनेछ र तेस्रो सत्रमा पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्ने विषयहरु समावेश गरिएको छ।
यस संवादले पर्वतीय राष्ट्रहरूका सरकार, सरोकारवालाहरू र सहयोगीहरूलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानहरू अझ गहन रूपमा बुझ्न, विशेषज्ञता र अनुभवलाई एकीकृत गर्न र साझा संकल्पसहित पर्वतीय जलवायु उत्थानशील रणनीति विकास गर्न मद्दत गर्ने अपेक्षा लिइएको छ ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमका बारेमा सचेतना जगाउने, पर्वतीय देशहरूको साझा मुद्दा र समस्या पहिचान गरी सहयोग आदानप्रदान गर्ने र हिमाली क्षेत्रमा बसोबास गर्न वा आश्रित समुदायहरूलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रक्रियाहरूमा उनीहरूको हकअधिकार प्रदान गर्न साझा मञ्चको विकास गर्ने लक्ष्य रहेको छ।
यसैगरी, जलवायु परिवर्तनको असरसँग अनुकूलन हुन पर्वतीय क्षेत्रका जनता र उनीहरूको जीविकोपार्जनमा हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न, स्वच्छ ऊर्जा सङ्क्रमणलाई प्रवद्र्धन गर्ने, अब पर्वतीय ज्ञान, अनुसन्धान र नवीन समाधानहरू तथा अन्वेषणहरु एकापसमा आदानप्रदान गर्ने पनि लक्ष्य छ।
पर्वतीय राष्ट्रहरू र यस क्षेत्रमा बसोबास गर्ने वा आश्रित बासिन्दाका लागि प्रविधि हस्तान्तरण, क्षमता विकास र जलवायु वित्तसम्बन्धी बहुपक्षीयता, सहयोग तथा साझेदारीलाई बढावा दिने पनि संवादको लक्ष्य छ। उक्त विशेषज्ञ संवाद कार्यक्रममा नेपाललगायत पर्वतीय देशहरू, अन्तर्राष्ट्रिय समुदायहरू, विकास साझेदारहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, निजी क्षेत्रहरू र नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागी हुने अपेक्षा गरिएको छ। संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन्।