काठमाडौं- पछिल्लो एक महिनायता काठमाडौंसहित देशका केही सहरहरूमा वायु प्रदूषण उच्च बनेको छ। वातावरण विभागको सूचकांकमा आइतबार चितवनको भरतपुर सबैभन्दा प्रदूषित सहरमा सूचीकृत छ।
विभागका अनुासार भरतपुरमा आज बिहान ११:४५ बजे वायुको गुणस्तर सूचकांक एक्यूआई २२२ पुगेको छ । यस्तै, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एक्यूआई ११५ देखि १५३ सम्म पुगेको छ।
विभागको सूचकांकले मुगुको रारामा समेत डढेलोका कारण एक्यूआई १५३ पुगेको छ। यस्तै, पोखरामा समेत एक्यूआई १४० पुगेको विभागको रेकर्ड छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार आइतबार बिहान ११ः३० बजे विश्वका १२२ सहरहरूमध्ये काठमाडौं दोस्रो प्रदूषित नम्बरमा सूचीकृत छ।
काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई १९५ सम्म पुगेको विभागको रेकर्ड छ। एक्यूआई शून्यदेखि ५० सम्मको (हरियो) रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० सम्मको (पहेँला) भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म (खैरो) रहेको वायुले श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ।
यस्तै, १५१ देखि २०० सम्म एक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जान्छ।