काठमाडौं- गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र ताल क्षेत्रमा हिउँपहिरो खसेको छ। वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल पनि बगाएको वडा सदस्य धेजेन लामाले जानकारी दिइन्।
‘लामो समयसम्म जमेर बसेको हिउँ तालमा खसेपछि बहाब बढेको छ, एउटा पुल पनि बगायो,’ उनले भनिन्,‘सानो–सानो पहिरो त पहिले पनि खसिरहन्थ्यो, आज अल्ली ठूलै पहिरो खसेको छ।’
मौसम परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा जमेको ‘आइस’ खसेको उनले बताइन्। पहिरो पछि तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको उनले बताइन्। वीरेन्द्र तालबाट बग्ने पानी साविकको भन्दा बढेको छ।
सामागाउँ प्रहरी चौकिबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा जाँदै छ। पुल बगाएपछि बाटो अवरुद्ध भएको खबर आएको प्रहरीले जनाएको छ। अहिले मनास्लु क्षेत्र भम्रणको सिजन पनि हो।