हिमालका मुद्दामा साझा धारणा बनाउन  जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद हुने


साथसाथै न्युज
३, वैशाख २०८१
हिमालका मुद्दामा साझा धारणा बनाउन  जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद हुने

काठमाडौं- नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ। आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका विशेषज्ञहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रममा वनमन्त्री नवलकिशोर साह सुडीले संवादमा सबैको सरोकारको विषय भएकाले सबैको सहयोगको अपेक्षा गरे। उनले पर्वतीय राष्ट्रहरुमा जलवायु परिवर्तनको समस्या समाधानका लागि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुतिका लागि महत्वपूर्ण हुने बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा अरनिको पाण्डेले यस संवादले स्थानीय मुद्दाहरुलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताए। प्रधानमन्त्री दाहालका जलवायु सल्लाहकार डा पपुलर जेन्टलले हिमालका मुद्दामा साझा धारणा तय गर्न संवाद गर्न लागेको बताउँदै यसमा हिमालका साथै सम्पूर्ण पारिस्थितिकीय प्रणालीका बारेमा समेत छलफल हुने उल्लेख गरे। 

मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी यो संवादको उद्देश्य जलवायु परिवर्तनको सन्दर्भमा पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यहरुलाई सुदृढ, समन्वय र प्राथमिकता दिने रहेको बताए। साथै उनले पर्वतीय  देशहरू र सम्बद्ध सरोकारवालाहरूलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिअन्तर्गत कार्यक्रमहरूमा सहकार्य गर्न वातावरण बनाउने संवादको लक्ष्य राखिएको जानकारी दिए।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले संवादका क्रममा पर्वतीय क्षेत्रमा साझेदारलगायत सबै पर्वतीय देशहरूका प्रतिनिधिहरूले संयुक्त रूपमा संवादबाट साझा निष्कर्षहरू निकाल्ने बताए। साथै उनले अन्तर्राष्ट्रिय संवादलाई सफल बनाउन समग्र रणनीतिक मार्गदर्शन प्रदान गर्न सरकारले विभिन्न समिति गठन गरेको बताए।

मन्त्रालयका प्रवक्ता डा बद्रीराज ढुङ्गानाले तीनवटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुईवटा प्लेनरी र सातवटा संवाद सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए। 

पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्याङ्क’को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, सङ्कटसन्नता र जोखिम,  हिमाली क्षेत्रमा भइरहेको वातावरणीय सङ्कटको विषयमा आवश्यक प्रमाणहरू समेट्ने समावेश गरिने उनको भनाइ छ।

दोस्रो सत्रमा ‘पहाड र प्रकृतिमा आधारित भएर समाधानका उपायहरुमा’ केन्द्रित भएर छलफल गरिनेछ र तेस्रो सत्रमा पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्ने विषयहरु समावेश गरिएको छ।

यस संवादले पर्वतीय राष्ट्रहरूका सरकार, सरोकारवालाहरू र सहयोगीहरूलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानहरू अझ गहन रूपमा बुझ्न, विशेषज्ञता र अनुभवलाई एकीकृत गर्न र साझा सङ्कल्पसहित पर्वतीय जलवायु उत्थानशील रणनीति विकास गर्न मद्दत गर्ने अपेक्षा लिइएको छ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमका बारेमा सचेतना जगाउने, पर्वतीय देशहरूको साझा मुद्दा र समस्या पहिचान गरी सहयोग आदानप्रदान गर्ने र हिमाली क्षेत्रमा बसोबास गर्न वा आश्रित समुदायहरूलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रक्रियाहरूमा उनीहरूको हकअधिकार प्रदान गर्न साझा मञ्चको विकास गर्ने लक्ष्य रहेको छ।

यसैगरी, जलवायु परिवर्तनको असरसँग अनुकूलन हुन पर्वतीय क्षेत्रका जनता र उनीहरूको जीविकोपार्जनमा हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न, स्वच्छ ऊर्जा सङ्क्रमणलाई प्रवद्र्धन गर्ने, अब पर्वतीय ज्ञान, अनुसन्धान र नवीन समाधानहरू तथा अन्वेषणहरु एकापसमा आदानप्रदान गर्ने पनि लक्ष्य छ।

पर्वतीय राष्ट्रहरू र यस क्षेत्रमा बसोबास गर्ने वा आश्रित बासिन्दाका लागि प्रविधि हस्तान्तरण, क्षमता विकास र जलवायु वित्तसम्बन्धी बहुपक्षीयता, सहयोग तथा साझेदारीलाई बढावा दिने पनि संवादको लक्ष्य छ। उक्त विशेषज्ञ संवाद कार्यक्रममा नेपाललगायत पर्वतीय देशहरू, अन्तर्राष्ट्रिय समुदायहरू, विकास साझेदारहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, निजी क्षेत्रहरू र नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागी हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend