कालापत्थरमा परिणत हुँदै सेताम्य हिमालहरु  


८, चैत २०८०
कालापत्थरमा परिणत हुँदै सेताम्य हिमालहरु  

काठमाडौं- जलवायु परिवर्तनको मुद्दा शताब्दीकै प्रमुख र मानव सभ्यता र अस्तित्वको मामिलामा समेत ठूलो चुनौतीको रुपमा देखिएको छ। जलवायु परिवर्तनको कारक हरितगृह ग्यास उत्सर्जन र हरितगृह ग्यास उत्सर्जनको कारक मानवीय क्रियाकलापहरु नै हुन्। यसर्थमा मानव सिर्जित क्रियाकलापद्वारा हुने हरितगृह ग्यास उत्सर्जनलाई जलवायु परिवर्तनको मुख्य कारण मानिन्छ, जसका लागि तुलनात्मक रुपमा धनी र विकसित राष्ट्रहरु जिम्मेवार रहेका छन्। तर दु:खको कुरा, सबैभन्दा उच्च जोखिममा विकासोन्मुख, गरिब, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकहरु छन्। नेपाल, जलवायु परिवर्तनको कारक हरितगृह ग्यास उत्सर्जनको मुख्य हिस्सेदार नभए पनि जलवायुजन्य जोखिमका दृष्टिले चौथो स्थानमा पर्छ।

हालै साथसाथैले अन्तराष्ट्रिय नारी दिवसका दिन जलवायु परिवर्तको मुद्दा बोकेर विश्वको ध्यान केन्द्रित गर्न आयोजना गरेको कालापत्थरसम्मको पदैल यात्रामा २६ जना विभिन्‍न क्षेत्रमा अग्रणी भूमिमा रहेका महिला सहभागीहरुसँगको कुरा गर्दा समग्रको अनुभव एउटै थियो।

हिमाल तथा त्यहाँका स्थानीयको अवस्था र त्यस ठाउँमा परेको असरले नेपालका सेताम्मे हिमालहरु अब हिउँविहीन कालापत्थरमा मात्र देख्‍न पाइने परिस्थिती नआउला भन्न सकिँदैन। पुर्खाले कमाएका तथा संरक्षण गरेका हामीले धरै कुरा गुमाएको अवस्था छ। जलवायुको परिवर्तनमा नेपालको योगदान न्यून भए पनि जटिल जोखिमहरुको सामना गर्नुपरेको छ। 

नेपालमा देखिएका जलवायुजन्य जोखिमहरुलाई न्यूनिकरण र अनुकूलनका लागि दैनिक क्रियाकलापहरुमा विशेष ध्यान दिन आवश्यक छ। यसो गरेनौं भने भविष्यमा हामीले भयावह स्थितिको सामाना गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुनसक्दछ। यसकारण प्रत्यक व्यक्ति, घर, समाज र राष्ट्रले आफ्नो तर्फबाट जलवायु परिवर्तन न्यूनिकरणका लागि पहल गर्न अत्यावश्यक छ।

साथसाथैले आयोजना गरेको कार्यक्रममा सहभागीसँग कुरा गर्दा सबैले देखेको त्यहाँको अवस्था एउटै थियो। उनीहरुले भनेका छन्, ‘नेपालको हिमाल र हिमनदी पग्लिन गई तटीय क्षेत्रमा समस्या उत्पन्‍न हुनसक्ने प्रबल अवस्था देखिन्छ। त्यस्तै जलवायु परिवर्तनका कारण हिमाल, पहाड, तराई क्षेत्रमा मानिसहरुको पिउने पानीको स्रोतहरु सुक्ने सम्भावना उत्तिकै रहेको छ। नेपालको आर्थिक र भौतिक विकास प्राकृतिक स्रोतहरुमा निर्भर । तर, जलवायुजन्य विपद्‌का कारण प्राकृतिक श्रोतहरु नै विनाश हुने स्थिति भएकोले यसको असर कम गर्नका लागि सबै एकताबद्ध भएर हातेमालो गर्न ढिलाइ भइसके पनि समय घर्किसकेको छैन।' 

मानवीय गतिविधिले हरितगृह ग्यास उत्सर्जन भइ जलवायु परिवर्तनका कारण बाढी, पहिरो, खडेरीजस्ता विपद्हरु आउने भएकोले त्यसको प्रत्यक्ष असर कृषि क्षेत्रले समेत भोग्‍नु परेको छ। नेपालमा धरैलाई अहिले भएको मौसमी परिवर्तको कारण जलवायु परिवर्तन हो भनेर पनि थाहा नभएको अवस्था छ। दैवी प्रकोप भनेर आफ्नो भाग्य र आफ्नो अवस्थालाई दोषारोपण गरिरहेका छन्। 

जलवायु परिवर्तका कारण नेपालको तापक्रम वृद्धि प्रति वर्ष ०.०६ डिग्री सेल्सियसका दरमा भइरहेको पाइन्छ। जलवायु परिवर्तनबाट विशेष गरी नेपालजस्तै राष्ट्रिय अनुकूलन कार्यक्रम-२०६७ का अनुसार कृषि र खाद्य सुरक्षा लगायत ६ वटा विषयगत क्षेत्र र २ वटा साझा विषयगत क्षेत्रहरु जलवायु जन्य जोखिमका दृष्टिले बढी प्रभावित हुने जनाइएको छ।

जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणालीलाई असर गर्न सक्छ। यसले जटिल तथा खतरनाक मौसमका घटनाहरू, जैविक विविधतामा ह्रास, स्वास्थ्य जोखिम बढाउने, र मानिस विस्थापित  हुनेसम्मको स्थिति निम्त्याउन सक्दछ। जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि विभिन्‍न संघ-संस्था, अभियान्ता तथा सरकारले काम गरिरहेको भए पनि पर्याप्त छैन। 

कोप-२८ मा नेपालले पर्वतीय मुलुकहरुको नेतृत्व गर्दै जलवायु असर कम गर्न एकताबद्ध हुनुपर्ने सन्देश पर्वाह गरिए पनि त्यसमा ठोस उपलब्धी भने हासिल हुन सकेको छैन। कोप-२८ मा हानी तथा नोक्सानी कोष कार्यान्वयनमा सहमति जनाएको भए पनि त्यसका लागि न्युनतम मापदण्ड र शक्ति तथा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरुले आफ्नो प्रतिबद्धता पनि पूरा गर्न सकेका छैनन्। नेपालमा पनि जलवायु मन्त्रालय बनाउने विषय उठे पनि सरकारले पनि यसमा खासै चासो दिएको पाइँदैन। जसका कारण जलवायुका मुद्दाहरु सम्बोधनका लागि जटिलता उत्पन्‍न भएका छन्। 

पृथ्वीको सतहको सरदर तापक्रम सन् १८५० यता १.१ डिग्री सेल्सियसले बढेको छ। पृथ्वीको वायुमण्डलका केही ग्यासहरू जस्तै  हरितगृह ग्याँसहरू (कार्बनडाइअक्साइड, मिथेन आदि)ले ताप पृथ्वीबाट बाहिर निस्कन रोक्दछ। यी ग्यासहरू प्राकृतिक रूपमा नै वायुमण्डलमा हुन्छन् र पृथ्वीलाई स्थिर तापक्रममा राख्दछन्। यद्यपि मानविय क्रियाकलापहरु, जीवाश्म ईन्धनहरू (पेट्रोल, डिजल) को अत्यधिक प्रयवग, वन विनाश तथा वन पैदावरको अत्यधिक खपतले वातावरणमा अधिक मात्रामा हरितगृह ग्यास उत्सर्जित भइरहेको छ। जसले प्राकृतिक चक्रलाई नै परिवर्तन गरी पृथ्वीलाई तातो बनाइ राखेको छ।

नेपालको सन्दर्भमा हिमालको हिउँ पग्लिएर हिमाली क्षेत्रमा मात्र नभइ हिमालको मुनि बसोबास गरिरहेको समुदायको जीवनशैली र रहनसहन नै परिवर्तन गरिदएको छ भने कतिपय अवस्थामा त विस्थापित हुने स्थिति सिर्जना भएको छ। हिमाली क्षेत्रको घाँसे मैदान कम हुँदै गएको छ, कृषि उत्पादन ओरालो लागेको छ। पानीका स्रोत सुक्दै गएका छन्। यही कारण हिमाली क्षेत्रका मानिस बसाइँ सर्दैछन्। जसका कारण जानसांख्यिक असन्तुलनको जोखिम पनि सिर्जना भएको छ।

हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदीको क्षेत्रफल घट्दै गएको छ भने हिमपहिरोको क्रम बढ्दै गएको छ। जलवायु परिवर्तले गर्दा हिउँ पर्ने ठाउँमा हिमपात नभई पानी पर्ने, हिउँ परे थोरै मात्रामा पर्ने जस्ता समस्या देखिएका छन्। ‘हिमपात नभएर खेतीबाली उत्पादनमा ह्रास भएको र कुनै ठाउँमा बढी पानी पर्ने र कुनै पनि सुक्खा अवस्था रहेको खुम्बु पासङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‌मा छिरिङ  शेर्पाले बताएका छन्। 

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend