कालापत्थर(सोलुखुम्बु)- ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मनाइएको छ। विभिन्न विधामा ख्याति प्राप्त नारीहरुको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा आज शुक्रबार सगरमाथा आधारशिविरमा सम्मेलन सकिएको हो।
उक्त सम्मेलनले जलवायु न्यायका लागि ७ बुँदे घोषणापत्र समेत जारी गरेको छ। जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालहरुमा देखिएका असरहरुको बारेमा विभिन्न तहका सरकारहरुको गम्भीर ध्यानाकर्षण गराउँने, खुम्बु क्षेत्रसहित नेपालका विभिन्न भागमा जलवायु परिवर्तनले महिलाको जीवनशैलीमा ल्याएका समस्या सम्बोधनका लागि राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरि अघि बढ्ने, जलवायु न्याय, अनुकूलन र न्युनिकरणका लागि स्थानीयस्तरमा पहलकदमी गर्नुका साथै त्यसमा महिलाको सहभागिता सुनिश्चित गर्ने र हिमालय क्षेत्रसहित विभिन्न ठाउँमा पर्यटन प्रबर्द्धन गर्दै हिमाल वरपर बढ्दो फोहोरमैला नियन्त्रण गर्ने र पुन: प्रयोग गर्न सकिने सामानलाई प्रोत्साहित गर्न सरोकारवाला निकायलाई जागरुक गराउनुका साथै जनचेतना जगाउने घोषणापत्रमा उल्लेख छ।
जलवायु परिवर्तनले ल्याएका समस्या समाधानका लागि हिमाल,पहाड, तराई र देशबाहिर रहेका सबै नेपालीसँग हातेमालो गर्ने र जलवायु न्यायका लागि समाजका विभिन्न तह र समुदायका महिलासहित सगरमाथा आधारशिविरमा उभिएको लगायतका बुदा घोषणापत्रमा उल्लेख गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक सङ्स्था अध्यक्ष प्रजिता कार्कीले प्रकृति बचेमात्र प्राणी जगत रहने भएकाले यो समय प्रकृतिलाई पनि न्याय गर्ने बेला भएको बताउनुभयो । जलवायु परिवर्तनको असरबाट सबै भन्दा बढी महिला र बालबालिका पीडित रहेकाले यसको न्यूनीकरणमा विश्व समुदाय जुट्नुपर्ने उहाँको जोड छ।
मधेसी आयोगका सदस्य रेणुदेबी शाहले हिमालमा देखिएको जलवायु परिवर्तनको असरबाट मधेस पनि अछुतो नरहेकाले न्यूनीकरणका लागि सबै हातेमालो गर्दै एकजुट हुन आवहान गर्नुभयो । जलवायु परिवर्तनका कारण मधेसको कृषि प्रणालीदेखि त्यहाँका महिलाको जनजीवीकामा समेत प्रत्यक्ष असर परेको स्मरण गराउदै क्षति न्यूनीकरणका लागि हिमाल,पहाड र तराईको साथ अपरिहार्य रहेको उहाँको भनाइ छ । सम्मेलनमा गौरआवसिय नेपाली संघका उपाध्यक्ष रोजिना प्रधान राई, शिक्षाविद् दुर्गा भट्टराई, मिस नेपाल शृच्छा प्रधान, मितिनी नेपालका सस्थापक अध्यक्ष लक्ष्मी घलान, नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि डा.रशिला प्रधान लगायतले जलवायु परिवर्तनको असरले महिलामा परेको असरबारे चर्चा गरेका थिए।
विभिन्न विधाका अगुवा तथा ख्याति प्राप्त सगरमाथा आधार शिविर पुगेका १९ जना महिलाहरूको टोलीले जलवायु न्यायका लागि हरेक मानवीय क्रियाकलाप प्रकृतिमैत्री हुनुपर्ने निचोड निकाल्दै पहिलो सुरुवात आफैबाट गर्ने प्रतिबद्धता जनाएका छन्। - सुवास दर्नाल/रासस ।