हिमाली  भेगमा सारिँदै भेडीगोठ


साथसाथै न्युज
२३, फागुन २०८०
हिमाली  भेगमा सारिँदै भेडीगोठ

फुङ्लिङ- बेँसी झारिएका भेडीगोठलाई  हिमाली भेगतिर लान थालिएका छन्। जाडो छल्न र बारी मल्न बस्तीसम्म  भेडीगोठलाई सारिएका थिए।  हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ।

गाउँबस्तीमा खेती गर्ने समय सुरु भएसँगै बस्तीसँग भेडीगोठको सम्बन्ध छुट्नु एक बाध्यता पनि हो। बस्ती नजिक रहेका खाली चरन क्षेत्रमा अहिले अलैँची बगान विस्तार भएसँगै भेडीगोठ गाउँबस्तीमा धेरै समयसम्म बस्न सक्दैन। दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने रुपेश लिम्बूको रात त्रिपालमुनि बित्ने गरेको छ। फक्ताङलुङ गाउँपालिका–४ पिपुथापका उनी कहिले हिमालको फेदी त कहिले बस्तीतिर भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ। आफ्नो पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ बसेका हुन्।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वनजङ्गल, बुकी र खर्कमा भेटिन्छन्। उनले करिब तीन सय बढी भेडाबाख्रा पालेका छन्। हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ। 

फुङ्पलिङ नगरपालिका-१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ अहिले बस्तीदेखि अलिक माथि साम्लिङ खर्कमा उक्लेको छ। गाउँदेखि उक्लेको भेडीगोठ अब वैशाखे हुँदै फक्ताङलुङ गाउँपालिकामा रहेको विश्वको अग्लो कञ्चजङ्घा हिमालको आधार शिविरसम्म पुग्नेछन्। 

किसान लिम्बू करिब तीन महिनासम्म मिक्वाखोला गाउँपालिका–५ समुद्र सतहबाट चार हजार पाँच सय मिटरमा रहेका लोदेन क्षेत्रसम्म पुग्ने गर्नुहुन्छ। फेम्बू गाउँको फेदी हुँदै बग्ने खोक्सेवा खोला किनारमा रहेका बारीको फाँटमा उनको भेडीगोठ राखिएको छ। घुम्ती गोठका भेडालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ।

सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको लिम्बू बताउँछन्। लिम्बूसँग अहिले दुई सयवटा भेडा छन्। अहिले वार्षिक रु पाँचदेखि छ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताए।

उनले भने, “भेडाको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन”, बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन्।

दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको भेडापालक किसानको भनाइ छ। हिमाली बुकीमा पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ। भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ।

जङ्गलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपातलगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्ने भेडापालकको भनाइ छ। हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल हुने किसानको भनाइ छ। वन्यजन्तुको आक्रमणबाट बचाउन गोठमा भोटे प्रजातिका कुकुरसमेत बाल्ने गर्दछन्।

पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन्। युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्तीगोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ। हराउँदो घुम्तीगोठमा पशुपालन गर्ने परम्परागत पेसालाई अँगालेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने ताप्लेजुङका केही युवाहरू लागिपरेका छन्।

सम्बन्धित समाचार

  • जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

    जुम्ला, ४ असारः जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात्

  • नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

    गण्डकी- नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ। पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ

  • पुरैनी तालमा चराको सङ्ख्या घट्यो

    कञ्चनपुर- बेलौरी नगरपालिका ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend