काठमाडौं- यसपालिको हिउँदमा हिमाली क्षेत्रमा हिउँ कम परेको छ। अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष नेपालका हिमालहरुमा केही वर्षयताकै कम हिउँ परेको छ। हुन त फागुन चैतमा पनि हिमाली क्षेत्रमा धेरै हिउँ पर्न सक्छ। तर, धेरै हिउँ जम्ने पुस, माघमा यो वर्ष हिउँ निकै कम परेको छ।
सोलुखुम्बुको सल्लेरीका ७२ वर्षीय शंकरबहादुर गुरुङले हिउँद यसरी हिउँविहीन भएको यसअघि नजानिएको बताए। यस वर्ष माथिल्लो क्षेत्रमा केही हिउँ परे पनि सल्लेरीमा हिउँ परेकै छैन। सोलुखुम्बु जस्तै जुम्लामा पनि यस वर्ष हिउँ निकै कम परेको छ। अघिल्ला वर्षहरुमा हिउँ पर्ने धेरै ठाउँमा हिउँ परेकै छैन भने परेको ठाउँमा पनि निकै कम छ। जुम्लाको तातोपानी गाँउपालिकाका प्रवक्ता अमरबहादुर रोकाय आफूले बितेको ४० वर्षमा यति कम हिउँको अनुभव नगरेको बताउछन्।
समग्र हिमालय क्षेत्रलाई हेर्ने हो भने विगत वर्षको तुलनामा यो वर्ष बढी सुक्खापन र कम हिउँ देखिएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले जनाएको छ। अमेरिकी विज्ञ एवम् प्राध्यापक माउरी पेल्टोकोले अमेरिकन जिओफिजिकल युनियनको एउटा ब्लगमा गएको हप्ता प्रकाशन गर्नुभएको लेखमा तीन महिनाअघिको तुलनामा सगरमाथाको हिमरेखा २०० मिटर माथि सरेको उल्लेख छ।
जल तथा मौसम विज्ञान विभागले पनि हिउँदयाममा पर्याप्त मात्रामा पानी नपर्दा हिमालय क्षेत्रहरूमा हिउँ घटेको बताएको छ। सामान्यता हिमरेखा पाँच हजार पाँच सय मिटरदेखि पाँच हजार ६ सय मिटरसम्म हुन्छ तर यस वर्ष खुम्बुमा हिमरेखा ६ हजार मिटरमा छ।
हिमाली क्षेत्रमा हिउँ कम हुँदा त्यहाँको कृषि उत्पादनमा प्रत्यक्ष असर गर्छ भने त्यसले नदी तटीय र तल्लो भूभागमा बसिरहेका मानिसहरूलाई पनि प्रभावित पार्न सक्ने विज्ञहरु बताउँछन्। हिमताल विज्ञ मोहनबहादुर चन्द हिमालमा कम हिउँ हुँदा त्यसले तल्लो भेगमा बसिरहेका मानिसहरूको जीवनमा पनि प्रत्यक्ष प्रभाव पार्ने बताउछन्। खानेपानी, सिँचाइलगायत, जलविद्युत् उत्पादनमा पनि यसको प्रत्यक्ष असर पर्ने देखिन्छ।