मौसमसम्बन्धी कैयौं कीर्तिमान भंग, अझ खराब अवस्था आउने वैज्ञानिकहरूको चेतावनी


साथसाथै न्युज
७, साउन २०८०
मौसमसम्बन्धी कैयौं कीर्तिमान भंग, अझ खराब अवस्था आउने वैज्ञानिकहरूको चेतावनी

काठमाडौं- वैज्ञानिकहरूले तापक्रम, समुद्री ताप र एन्टार्क्टिक सागरको बरफमा देखिएका मौसम सम्बन्धी गतिविधिहरूप्रति चिन्ता व्यक्त गरेका छन्। एक जना वैज्ञानिकले पृथ्वीमा विगत कहिल्यै पनि यस्तो नदेखिएको बताएका छन्।

संयुक्त राष्ट्रसंघले युरोपमा खतरनाक उष्णलहर अझै बढ्नसक्ने चेतावनी दिएको छ। उत्तरी गोलार्धमा उष्ण लहर चलिरहँदा ग्रिसले ५० वर्ष यताकै सर्वाधिक तातो जुलाई महिना अनुभव गरिरहेको छ।

संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमा पनि जुलाई अहिलेसम्मकै सर्वाधिक गर्मी महिना बन्नसक्ने ठानिएको छ। मौसम र समुद्र ज्यादै जटिल भएकाले यी घटनाक्रमलाई जलवायु परिवर्तनसँग तत्कालै जोडिहाल्न अप्ठेरो छ।

तर अध्ययनहरू जारि छन् र वैज्ञानिकहरूले अझ खराब अवस्था आउनसक्ने आकलन गरिरहेका छन्।

“मौसम प्रणालीका सबै हिस्सा कीर्तिमानी वा असामान्य अवस्थामा रहेको यस्तै परिस्थिति मलाई थाहा छैन,” लन्डन स्कुल अफ इकोनोमिक्सका वातावरणीय भूगोलविद् थोमस स्मिथ भन्छन्।

इम्पेरिअल कलेज लन्डनस्थित जलवायु विज्ञानका प्राध्यापक पाउलो सेपीले पृथ्वीमा ‘विगतमा नदेखिएको अवस्था उत्पन्न हुनुमा’ खनिज इन्धनले निम्त्याएको जलवायु परिवर्तन र सन् २०१८ यता एल निन्यो नामक प्राकृतिक मौसम प्रणालीका कारण वृद्धि भएको तापक्रम जिम्मेवार रहेको बताए।

यो गर्मीयाममा कम्तिमा चार वटा मौसम सम्बन्धी कीर्तिमान तोडिएका छन्।

हालसम्मकै सर्वाधिक गर्मी दिन

सन् २०१६ मा कायम विश्वव्यापी औसत तापक्रमको कीर्तिमान भङ्ग गर्दै यो जुलाईमा हालसम्मकै सर्वाधिक गर्मी दिन महसुस गरियो।

विश्वको औसत तापक्रम पहिलो पटक १७ डिग्री सेल्सियसभन्दा माथि पुग्यो। जुलाई ६ मा औसत तापक्रम १७.०८ सेल्सियस पुगेको युरोपेली सङ्घको मौसम निगरानी सेवा कपर्निकसले जनाएको छ।

तेल, कोइला र ग्यासजस्ता खनिज इन्धनको प्रयोगबाट हुने उत्सर्जनलाई पृथ्वीमा तापक्रम बढ्नुको कारण मान्ने गरिन्छ।

इम्पेरिअल कलेज लन्डनका जलवायु वैज्ञानिक फ्रेडरिक अट्टोका अनुसार हरितगृह ग्यासका कारण तात्दै गएको विश्वमा यस्तो हुने भविष्यवाणी यसअघि नै गरिएको थियो।

सबैभन्दा तातो जुन महिना

औद्योगिक काल सुरु हुनुअघिको जुन महिनाको साधारण तापक्रम भन्दा यसपटकको जुन महिनाको तापक्रम १.४७ सेल्सियसले बढी थियो।

सन् १८०० आसपास औद्योगिक क्रान्ति सुरु भएपछि मानिसहरूले हरितगृह ग्यासलाई वायुमण्डलमा पठाउन थाले।

एक दशकअघि सन् २०२३ को गर्मीमा यस्तो परिस्थिति आउने भविष्यवाणी गर्न सकिने अवस्था थियो?

यो प्रश्नको जवाफमा लन्डन स्कुल अफ इकोनोमिक्सका स्मिथ "मौसम सम्बन्धी अवधारणाहरूले लामो समयको प्रवृत्तिबारे राम्रोसँग भविष्यवाणी गर्न सक्ने भए पनि १० वर्षको पूर्वानुमान गर्न अप्ठेरो हुने" बताउँछन्।

चरम सामुद्रिक उष्णलहर

विश्वभरका समुद्रको औसत तापक्रमले पनि मे, जुन र जुलाई महिनाको विगतको तथ्याङ्कमा नयाँ कीर्तिमान रचेको छ।

त्यो सन् २०१६ को समुद्री सतहको सर्वाधिक तापक्रमको दिशामा उन्मुख भइरहेको छ। तर वैज्ञानिकहरूलाई मुख्य गरी उत्तर आन्ध्र महासागरमा बढिरहेको तापक्रमले चिन्तित तुल्याएको छ।

युनिभर्सिटी अफ ब्रिस्ट्रोलकी पृथ्वी विज्ञान सम्बन्धी प्राध्यापक डेनियला स्मिट भन्छिन्, “हामीले आन्ध्र महासागरको यो क्षेत्रमा उष्णलहर कहिल्यै पनि देखेका थिएनौँ। मैले यस्तो अपेक्षा गरेको थिइनँ।”

जुन महिनामा आयरल्यान्डको पश्चिमी तट छेउको तापक्रम ४ देखि ५ डिग्री सेल्सियसको बीचमा थियो। त्यसलाई न्याश्नल ओसियानिक एन्ड एटमोसफिअरिक एडमिनिस्ट्रेशनले ‘क्याटेगोरी पाँचको हिटवेभ’ अर्थात् ‘चरम भन्दा खराब’ मौसमका रूपमा उल्लेख गरेको थियो।

प्राध्यापक स्मिटका अनुसार विश्वमा तापमान वृद्धि भइरहँदा वायुमण्डलको अधिकांश तापलाई समुद्रले सोसिरहेको प्रस्ट छ।

उनले तापक्रम बढ्दा त्यसले विश्वको ५० प्रतिशत अक्सिजन उत्पादन गरिरहेको समुद्री पर्यावरण चक्रमा पनि प्रभाव पर्ने बताइन्।

“जब हामी उष्णलहरको कुरा गर्छौँ मानिसहरूले रुख र घाँसहरू मरिरहेको सोच्छन्। आन्ध्र क्षेत्रमा हुनुपर्ने भन्दा ५ सेल्सियस तातो भएको अवस्थामा त्यहाँका जीवहरूलाई सामान्य जस्तो रहनका लागि ५० प्रतिशत बढी आहारा चाहिन्छ।”

एन्टार्क्टिकमा समुद्री बरफले ढाकिएको क्षेत्र विगतका जुलाई महिनाको तुलनामा हालसम्मकै कम छ। सन् १९८१ देखी २०१० सम्मको औसतसँग तुलना गर्दा त्यहाँ यूकेको आकारको १० गुणा बरफ हराएको छ।

जलवायु परिवर्तनसँगको खास सम्बन्ध केलाउने प्रयास गरिरहेका वैज्ञानिकहरू यो देखिएर चिन्तित छन्।

विश्वमा भएको तापक्रम वृद्धिले एन्टार्क्टिक सीको बरफको तह घटाउनसक्ने भए पनि अहिलेको नाटकीय कमी स्थानीय मौसम वा समुद्री करेन्टहरूले पनि निम्त्याएको हुनसक्ने ब्रिटिस एन्टार्क्टिक सर्भेकी वैज्ञानिक क्यारोलिन होम्ज बताउँछिन्।

उनले कीर्तिमान तोडिएको भन्दा पनि नराम्रोसँग भङ्ग गरिएको उल्लेख गरिन्।

“जुलाई महिनामा यस्तो कहिल्यै देखिएको थिएन। विगतको कम भन्दा यो १० प्रतिशत कम हो जुन ज्यादै ठूलो हो।”

जलवायु परिवर्तन के हो?

वैज्ञानिकहरूले जलवायु परिवर्तनले समुद्रको बरफमा कुनै विन्दुमा प्रभाव पार्ने विश्वास गरेका थिए। तर द्रुत गतिमा देखिएका परिवर्तनले उनीहरूलाई आश्चर्यमा पारेको छ।

डाक्टर होम्ज भन्छिन्, 'तपाईँले यसलाई हामी भीरबाट लडिसकेको अवस्थासँग तुलना गर्न सक्नुहुन्छ। तर हामीलाई त्यसको मुन्तिर के छ भन्ने अझै थाहा छैन।' वैज्ञानिकहरूले यस्ता कीर्तिमानहरू आगामी वर्षहरूमा अझै भङ्ग हुँदै जानसक्ने ठानेका छन्। - बीबीसी

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend