काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सगरमाथाको फेदीबाट 'जीवाश्मा इन्धन युगको अन्त्य गर्नुपर्ने' बताए। त्यसको एक सातामा नै नेपालमा 'जीवाश्मा इन्धन युगको अन्त्य' को सुरुवात भएको सन्देश दिन हाइड्रोजन कार भित्र्याइएको छ।
नेपाल आयल निगमको सहायतामा पहिलोपटक ९ नोभेम्बर २०२३ मा काठमाडौं विश्वविद्यालय (केयू)मा हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी भित्र्याइएको हो।
हाइड्रोजन ऊर्जाका क्षेत्रमा अध्ययन एवं अनुसन्धान गरिरहेको काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी नेपाल ल्याइएको केयू हाइड्रोजन ल्याबका प्रमुख प्रा. डा. विराजसिंह थापाले बताएका छन्।
उनले 'राष्ट्रिय सम्पत्ति'का रूपमा राष्ट्रिय हितलाई प्रबर्द्धन गर्नका लागि हाइड्रोजन गाडी भित्र्याइएको उल्लेख गरेका छन्। अब हाइड्रोजन ऊर्जा र गाडीलाई बजारीकरण गर्ने क्षेत्रमा सजिलो हुने उनले विश्वास व्यक्त गरे।
साथसाथैसँग कुरा गर्दै ल्याबका प्रमुख प्रा.डा. थापाले भने, 'नेपालमा हाइड्रोजनलाई ऊर्जाका रुपमा वर्गीकरण गरिएको छैन। यी यावत कुराहरु र भविष्यमा हाइड्रोजन ऊर्जालाई प्रमुख सवारी इन्धनका रुपमा विकास गर्न, उद्योगमा यसको प्रयोग गर्न र निर्यात गर्नेसम्मको स्थितिमा पुग्न अहिले नै तयारी गर्नु पर्ने र त्यसका लागि हाइड्रोजन सवारी भित्र्याउन निकै आवश्यक थियो। हामीले यो कार भित्र्याइसकेपछि यसका कानुनी जटिलताहरु समाधानका लागि सरकार अग्रसर हुने विश्वास हामीले लिएका छौं।'
जलवायु परिवर्तनमा निकै कम योगदान गरिरहेको नेपालले 'लस एण्ड ड्यामेज फन्ड' का लागि दाबी प्रस्तुत गरिरहँदा हाइड्रोजन सवारी प्रबर्द्धनले थप बल पुग्ने पनि उनको भनाइ छ। प्रा. डा. थापाले थपे, 'अब सरकारले हाइड्रोजन कार भित्र्याउनका लागि सहज नीति बनाएर डिजेल, पेट्रोलबाट चल्ने सवारीको प्रयोगलाई घटाउँदै लैजानुपर्छ। यसका लागि सरकार, कानुन निर्माताहरु, कानुन कार्यान्वयन गर्ने निकाय, लगानीकर्ता अग्रसर भएर यसको महत्व र फाइदाबारे बुझाउने र प्रयोगलाई वृद्धि गर्दै लैजानुपर्छ।'
उनले सरकारले अहिले हाइड्रोजनलाई बिजुलीजस्तै उर्जाको रुपमा मान्यता दिने, अन्य सवारीजस्तै नम्बर प्लेट दिने र लामो दूरीमा हाइड्रोजन सवारीसाधन सञ्चालनका लागि कानुन बनाएर पहल थाल्नुपर्नेसमेत बताएका छन्।
उर्जा मन्त्रालयको विकास सहायता तथा प्रादेशिक शाखाका इन्जिनियर नारायण श्रेष्ठले सरकारले हाइड्रोजन ऊर्जा सम्बन्धी नीति बनाउने काम अन्तिम चरणमा रहेको बताएका छन्। उनले भने, 'हामीले हाइड्रोजन उर्जासम्बन्धी नीति निर्माणका लागि सरोकारवालासँग छलफल गरेर मन्त्रिपरिषद्मा पठाएको थियौं। अहिले मन्त्रिपरिषद्ले योजना आयोगको राय माग गरेकोले उक्त राय प्राप्त हुनासाथ पेश गर्नेछौं।'
उनले यस नीतिले थप कानुन बनाउन सहज गर्ने तथा हाइड्रोजनबाट चल्ने सवारी साधनको प्रयोग र मलको उत्पादनमा समेत सहयोगी हुने र स्वच्छ वातावरणका लागि योगदान गर्ने बताएका छन्। थपे, 'हामीले डिजेल, पेट्रोलबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्दै लैजाने नीति अघि बढाएका छौं। अब हाइड्रोजनबाट सवारी चलाउन सकिने नीति बनेसँगै जलवायु परिवर्तनमा योगदान गरिरहेको डिजेल, पेट्रोललगायतको जीवाश्मा इन्धनको युग विस्तारै अन्त्य हुने जानेछ।'
शुद्ध हाइड्रोजन उत्पादन महँगो भए पनि नेपालमा प्रशस्त मात्रामा विद्युत उत्पादन हुँदा यो सस्तो हुन जाने उनको भनाइ छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै 'हाइड्रोजन गाडी चढ्ने' इच्छा प्रकट गरेका कारण हाइड्रुोजन कार भित्रिनु जीवाश्मा इन्धन युगको अन्त्यका लागि कोशेढुंगा हुने विश्वास गरिएको छ।
“हाइड्रोजन गाडीलाई मार्केटमा लिएर आउन जति नियम, जति व्यवस्थाहरु, जति प्रशासनिक र ब्युरोटक्रेटिक प्रक्रिया छ त्यसका लागि लामो समय लाग्नसक्ने भएकोले हामीले भित्र्याएको हाइड्रोजन कारले यसलाई थप तदारुकता दिन मद्दत हुने हाम्रो विश्वास छ,' प्रा.डा. थापाले भने।
नेपालमा अहिले करिब १५ करोडको लगानीमा हाइड्रोजन कार, बस भित्र्याउनुका साथै हाइड्रोजन स्टेशनको निर्माण पनि गर्न सकिने प्रा.डा. थापाले बताए। यसले मार्गदर्शकका रुपमा काम गरेर भविष्यमा हाइड्रोजन ऊर्जाका क्षेत्रमा सानो हिस्सामात्रै पनि ओगट्न सकेमा त्यसले देशको अर्थतन्त्रलाई योगदान पुर्याउने डा. थापा बताउँछन्।
हुन्डाईको नेक्सो फ्युल सेल
केयूले यसलाई राष्ट्रिय सम्पत्ति भएको बताएसँगै यस हाइड्रोजन गाडीलाई सबै नागरिकले चलाएर अनुभव लिन सक्ने प्रा.डा. थापाले बताए। हुन्डाइको बेवसाइट अनुसार नेक्सो फ्युल सेलको प्रतिमूल्य ६० हजार १३० अमेरिकी डलर अर्थात् ७९ लाख रुपैयाँभन्दा बढी रहेको उल्लेख छ ।
१६१ हर्सपावर क्षमताको गाडीमा एकपटक हाइड्रोजन फुल गर्दा ३८० माइल रेन्ज दिने जनाइएको छ। गाडीमा ६.३३ किलोग्रामको हाइड्रोजन ट्यांक र १२० किलोवाट क्षमताको मोटर रहेको हुन्डाईको वेबसाइटमा उल्लेख छ।
यस्तै, हाई र लो भोल्टेजका बेला प्रयोगमा आउन १.५६ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री छ। हाइड्रोजन ग्यास र वायुमण्डलबाट गाडीभित्र जाने अक्सिजनबीच ‘फ्युल सेल स्ट्याक’मा प्रतिक्रिया भएर विद्युत् उत्पादन हुन्छ। उक्त विद्युत्बाट मोटर घुम्छ र हाइड्रोजन गाडी चल्छ।
पेट्रोलियम गाडीले वातावरण प्रदूषण गर्ने ग्रीन हाउस ग्यास उत्सर्जन गर्छन्। हाइड्रोजन गाडीले पानी मात्र उत्सर्जन गर्छ। त्यसैले जलवायु परिवर्तन र विश्वको तापक्रम वृद्धिलाई रोक्न विद्युतीयजस्तै हाइड्रोजन गाडी अर्को विकल्प मानिएको छ।
जलवायु परिवर्तनविरुद्ध लड्न अत्यधिक हरितगृह ग्यास उत्सर्जन गर्ने जिवाश्म इन्धन विश्वबाट नै विस्थापित हुनुपर्ने दबाब विश्वशक्ति राष्ट्रहरुमाथि छ। यस्तो अवस्थामा शुद्ध इन्धनका रुपमा हाइड्रोजनको अवधारणा अघि बढेको हो। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले सन् २०२१ मा हाइड्रोजनको डिमान्ड ९४ मेगाटन पुगेको जनाएको थियो।
सन् २०२२ मा युरोपको कुल ऊर्जाको २ प्रतिशत भन्दा कम हाइड्रोजन थियो र यसको ९६ प्रतिशत अशुद्ध तरिकाले अथवा कार्बनडाइअक्साइड उत्सर्जन गर्ने प्राकृतिक ग्यास प्रयोग गरी उत्पादन गरिएको थियो। युरोपियन युनियन (ईयु)ले २०३० सम्म एक करोड टन हाइड्रोजन शुद्ध तरिकाले उत्पादन गर्ने लक्ष्य राखेको छ।
अमेरिकी ऊर्जा विभागले पनि सन् २०३० सम्म एककरोड टन शुद्ध हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ । हाल यसै मात्रामा अमेरिकामा अशुद्ध तरिकाले यसको उत्पादन हुने गरेको छ।
चीनले सन् २०३५ सम्ममा यसको विकासका विभिन्न योजनाहरु अघि सारेको छ। सन् २०२५ सम्म ५० हजार हाइड्रोजन कार र एक लाखदेखि दुईलाख टन शुद्ध हाइड्रोजन उत्पादनको लक्ष्य लिएको छ।
हाल करिब २० लाख टनको हाइड्रोजन बजार जापानले सन् २०३० सम्म ३० लाख टनमा पुर्याउने र २०५० मा दुई करोड टनमा पुर्याउने लक्ष्य राखेको छ। २०२५ सम्म जापानले २ लाख हाइड्रोजन कार र ३२० हाइड्रोजन स्टेशनको लक्ष्य राखेको छ।