नारायणगढ - धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेकोे धानमा कालोपोकेको समस्या देखिएसँगै किसान चिन्तित बनेका हुन् ।
भरतपुर महानगरपालिका–१४ पटिहानीमा धानखेती गर्दै आएका किसान उमनाथ पौडेल यस वर्ष धानमा कालोपोके रोग महामारीका रुपमा फैलिएको बताए । उनले भने, “जसरी मानिसमा कोरोना र गाईभैँसीमा लम्पी स्किन रोग फैलियो त्यसैगरी अहिले धानमा कालोपोके रोेग महामारीका रुपमा फैलिएको छ । हामी काम गरेर खाने किसानको बिजोग भयो ।”
खासगरी समूहमा लागाइएको पटिहानीको सावा धानमा कालोपोकेको व्यापक महामारी फैलिएको उहाँको भनाइ छ । उनले भने, “धान काट्नका लागि अझै एक हप्ताजति लाग्छ । यो रोगको समस्या दिनानुदिन वढ्दै गएको छ ।” कालोपोके रोगका कारण धानको बीउ उत्पादन गर्न नमिल्ने भन्दै उहाँले रोग लागेको धान व्यापारीलेसमेत खरिद नगर्ने हुँदा थप समस्या भएको बताउनुभयो । गत वर्षको तुलनामा अहिले आधाभन्दा कम धान उत्पादन हुने उहाँले जानकारी दिए ।
भरतपुर महानगरपालिका वडा नं ५ तोरीखेतका किसान फणिन्द्र पङ्गेनीले पनि पाक्नै लागेको धानको बालामा कालोपोके लागेको र कालोपोकेका कारण धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनी मात्रै नभएर उनीसँगै छर छिमेकमा लगाएको धानखेतीमा समेत कालोपोकेको समस्या देखिए पछि गाउँनै चिन्तित भएको उनले जानकारी दिए ।
गत वर्ष एक कट्ठामा तीन मुरीभन्दा बढी धान उत्पादन गर्नुभएका पङ्गेनी यो वर्ष कट्ठाको एक मुरी दश पाथी पनि भित्र्याउने अवस्था नभएको बताए । “पहिलेका वर्षमा आँफूलाई खान पुग्ने धान अड्कलेर बाँकी धान बिक्रीवितरण गर्ने हामी किसान यस वर्ष बिक्री वितरण गर्न नपाउने भएका छौँ”, उनले भने, “यो वर्ष रोगका कारण किसानको घरमा धान नहुने देखियो । अब के गर्ने ।”
कृषि ज्ञानकेन्द्र चितवनका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ७५ प्रतिशतमा कालोपोकेको समस्या देखिएको हो । सावा मन्सुली, सावित्रीलगायतका धानमा यो समस्या देखिएको छ । कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीले जिल्लामा लगाइएको धानमा कालोपोके, नेक ब्लाष्ट, व्याक्टेरीयल प्यानिकल ब्लाष्ट (दाना नलाग्ने) रोगको समस्याले गर्दा धान उत्पादनमा कमी आउने बताए ।
रोगका कारण जिल्लामा धानको उत्पादनमा ३० देखि ५० प्रतिशत सम्म कमी आउनसक्ने उनको आँकलन छ । कालोपोके तथा बालीमा लाग्ने रोग विशेष गरी बीउ, माटो र हावाका कारण लाग्ने उनले बताए।
अघिल्लो वर्षको बीउमा समस्या हुँदा यो रोगको समस्या बढेको भन्दै उनले कालोपोके रोग ढिलो पाक्ने धानमा पाक्ने समयमा बढी देखिएको जानकारी दिए । बीउ राख्ने समयमा सावधानी अपनाउन नसक्दा र लगातार एउटै बाली खेतमा लगाउँदा रोगको सङ्क्रमण बढी हुने त्रिपाठीले बताए ।
बागमती प्रदेश बीउबिजन प्रयोगशाला, हेटाँैडाका प्रमुख राजन ढकाल बीउ र माटोका कारण रोगको सङ्क्रमण देखिएको बताए। उनले भने, “सावा मन्सुलीमा रोग प्रतिरोधात्मक क्षमता कम हुनेहुँदा हाल चितवनमा कालो पोके रोगको समस्या बढी देखिएको हो ।” कालोपोके रोग र नेक ब्लाष्ट जस्ता रोग लागेको धानको बीउ आगामी वर्ष प्रयोग गर्न नहुने उनले जानकारी दिए। उनले भने “बीउ र सन्तुलित मलखादको व्यवस्थापन हुन नसक्दा बालीमा रोगको संक्रमण बढेको हो ।”