काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।
नेपालको संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेका गुटेरेसले नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका हुन्।
उनले जलवायु कार्यमा नेपाल अग्रपंक्तिमा रहेको बताए। नेपाल सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यतिर अघि बढेकोमा उनले प्रशंसा गरे। नेपालको वनले करिब आधा भाग ओगटेको उनले बताए।
‘तपाईंहरू सबै पहलका लागि हाम्रो पूर्वचेतावनी प्रणालीका अग्रगामीहरूमध्ये एक हुनुहुन्छ, जसको लक्ष्य २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई सुरक्षित राख्नु हो,’ उनले भने, ‘वैश्विक संकटहरूले नेपाललाई अझै नराम्ररी प्रहार गरिरहेका छन् किनकि नेपाल विश्वका विकासोन्मुख देशहरूमध्ये एक हो।’
उनले वैश्विक कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश भएको, तर नेपालले नकारात्मक असर व्यहोर्नुपरेको बताए। ‘तर मनसुन, आँधीबेहरी, पहिरो तीव्रता र भीषणताको हिसाबले बढ्दै छन्,’ उनले भने, ‘हिमनदीहरू असामान्य गतिमा पग्लिरहेका छन्। नेपालले ३० वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एकतिहाइ गुमाएको छ।’
महासचिव गुटेरेसले जलवायु परिवर्तनको विनाशकारी प्रभाव देखिएको बताए। ‘पानीले भरिएका ताल फुट्दै छन्। नदी र समुद्रको पानी बढ्दै छ। पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ,’ उनले भने।
एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी दिने हिमालयका नदीहरू संकुचित हुँदै गएपछि ठूलो जनसंख्यालाई गम्भीर संकटमा पार्ने भन्दै उनले ध्यानाकर्षण गराए। ‘भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्रजस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुनेछ,’ उनले भने, ‘पानी तथा जमिनका लागि भयंकर प्रतिस्पर्धा हुनेछ। जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा के भइरहेको छ त्यो डरलाग्दो अन्याय हो। जलवायु संकटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति म अति चिन्तित छु। संयुक्त राष्ट्रसंघ उनीहरूको साथमा छ।’
उनले भने, ‘मैले दिगो विकास लक्ष्य र जलवायु कार्यका लागि किफायती दीर्घकालीन वित्तपोषणमा कम्तीमा पाँच खर्ब डलर प्रतिवर्ष वितरण गर्ने प्रस्ताव गरेको छु। सदस्य राष्ट्रहरूले गत महिनाको महासभामा प्रस्तावलाई स्वागत गरे र यसलाई अगाडि बढाउन प्रतिबद्ध भएका छन्। म उनीहरूलाई यी प्रतिबद्धताहरूलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि अब कार्य गर्न आह्वान गर्दछु,’ महासचिव गुटेरेसले भने। विकसित देशहरूले वार्षिक एक खर्ब डलर दिने वाचा पूरा गर्नुपर्ने उनको भनाइ थियो। उनले यस वर्षको कोप २८ (जलवायु परिवर्तनसम्बन्धी सम्मेलन)मा सबै पक्षहरूले नोक्सान र क्षति कोषलाई परिचालन गर्नुपर्ने भन्दै नेपाली जनता त्यसैमा निर्भर रहेको पनि बताए।