काठमाडौं- चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधार शिविर पुगेका छन्।
उनले उक्त स्थानबाट जलवायु परिवर्तनले पारेको असरलाई आफैंले अवलोकन गर्नुका साथै स्थानीय समुदायसँग अन्तर्क्रिया पनि गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयले महासचिव गुटेरेसले जलवायु परिवर्तनमा नगण्य मात्रै योगदान रहेको नेपालले यसको ठूलो नकारात्मक असर पारेको बताएको उल्लेख गरेको छ।
मन्त्रालयले ट्विट गर्दै भनेको छ, 'आज बिहान अन्नपूर्ण आधार शिविरको भ्रमण गरी जलवायु परिवर्तनको प्रभावको अर्को दृष्टान्त अवलोकन गरे। एसजीले जलवायु परिवर्तन र त्यसमा नगण्य योगदान दिए पनि नेपालमा त्यसले पार्ने नकारात्मक असरबारे महत्त्वपूर्ण सन्देश दिएका थिए।'
यसअघि महासचिव गुटेरेसले सोमबार सोलुखुम्बुको स्याङबोचे पुगेर नेपालमा जलवायु परिवर्तनले भयावह असर गरेको बताएका थिए।
उनले भनेका थिए, 'विश्वलाई सन्देश दिन नेपालमा छु। जलवायु परिवर्तनका सन्दर्भमा दुई चरणको खतरनाक अध्यायबाट दुःखद घटना हुन लागेको छ। पहिलो चरण हिमनदी र बरफ पग्लने कथा हो। उल्लेख्य तापमान भनेको उल्लेख्य ग्लेसियर पग्लनु हो। नेपालले ३० वर्षको अवधिमा झन्डै एकतिहाइ बरफ (हिउँ) गुमाएको छ।'
संकटले गति लिइरहेको उल्लेख गर्दै उनले यो त्रासदीको दोस्रो चरण अझ ठूलो हुने बताएका हुन्। उनले भने, 'हिमतालहरू बरफका जलाशय हुन्। यहाँ हिमालयमा रहेका जलाशयले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी आपूर्ति गर्छन्। जब तिनीहरू संकुचित हुन्छन्, त्यसरी नै नदीहरू बग्दछन्। हामीले अग्रपंक्तिमा रहेका मानिसलाई जोगाउन अब प्रयास गर्नुपर्छ। सबैभन्दा खराब जलवायु परिवर्तनको अराजकताबाट बच्न विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न प्रयास गरिहाल्नुपर्छ। संसारले पर्खन सक्दैन।'