चीनमा आँधीका कारण लाखौँ मानिस प्रभावित, संसारका विभिन्न देशमा प्राकृतिक विपत्ति


साथसाथै न्युज
२, साउन २०८०
चीनमा आँधीका कारण लाखौँ मानिस प्रभावित, संसारका विभिन्न देशमा प्राकृतिक विपत्ति

बेइजिङ- चीनको ग्वान्दोङ प्रान्तमा शक्तिशाली आँधीको प्रभावबाट जोगाउन करिब दुई लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

यस वर्ष त्यहाँ आएको चौथो आँधी 'तलिम' उक्त प्रान्तको दक्षिणी तटमा करिब १४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो।

आँधीले तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ भने हावाहुरी र वर्षाका कारण सयौँ हवाई तथा रेल सेवा रद्द भएका छन्।

अब त्यो भियतनामको क्वाङ निन्ह प्रान्त र हाई फोङ सहरमा पुग्ने पूर्वानुमानपछि ती क्षेत्रका करिब ३० हजार मानिसलाई पनि सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

'तलिम' स्थानीय समयअनुसार करिब साढे दश बजे जमिनमा बज्रिएको चीनको मेटेरोलजिकल एड्मिनिस्ट्रेसनले जानकारी दिएको छ।

मङ्गलवार बिहानसम्ममा उक्त आँधीको गति कम हुन सक्ने र बुधवार “भियतनाम पुगेर कमजोर बन्दै अन्त्य हुनसक्ने” उक्त निकायले जनाएको छ।

चीनको राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार ग्वान्दोङमा उद्धार गरिएकामध्ये आठ हजारभन्दा बढी मानिसहरू माछा फार्मका कामदार हुन्।

स्थानीय अधिकारीहरूले दर्जनौँ तटीय पर्यटकीय गन्तव्यहरू बन्द गर्न निर्देशन दिएका छन्।

चीनको न्याश्नल मेटेरोलजिकल सेन्टरले उक्त आँधी दक्षिण चीन सागरको बेइबु खाडीमा सर्ने अनुमान गरेको छ र मङ्गलवार बिहान गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको तटीय क्षेत्रमा दोस्रो पटक बज्रिन सक्ने जनाएको छ।

दक्षिणी टापु प्रान्त हाइनानमा छ मिटरसम्मको छाल आउन सक्ने स्थानीय सामुद्रिक पूर्वानुमान केन्द्रले चेतावनी दिएको छ।

चीनको सिनजिआङमा हालसम्मकै अधिक ५२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको केही दिनपछि आँधी आएको यूके मेट अफिसले जनाएको छ।

पछिल्लो समय संसारभरका विभिन्न देश फरक फरक प्राकृतिक विपत्तिको मारमा परेका छन्। हाल युरोप र अमेरिकाले अत्यधिक गर्मीको सामना गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको मौसमसम्बन्धी मामिला हेर्ने निकायले युरोपमा गर्मी अगस्टसम्म जारी रहन सक्ने र विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसमी अवस्था चरम बन्दै गएको उल्लेख गरेको छ।

स्वस्थ मानिसहरूलाई पनि जोखिम पुर्‍याउन सक्ने तहमा उच्च तापक्रम बढ्न सक्ने भन्दै इटलीका पर्यटकीय सहरहरू रोम, फ्लोरेन्स र बोलोन्यामा सावधानी अपनाउन भनिएको छ।

अमेरिकाको दक्षिण-पश्चिममा हिट डोम अर्थात् वायुमण्डललाई अधिक तातो समुद्री हावाले ढाकेका कारण दशौँ लाख मानिसहरूलाई अत्यधिक गर्मीको चेतावनी दिइएको छ। क्यालिफोर्नियाको डेथ भ्यालीमा आइतवार ५३.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।

गत साता मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा कीर्तिमान बनेको थियो।

त्यस्तै दक्षिण कोरियामा यसै साताको सुरुवातमा आएको बाढीका कारण कैयौँले ज्यान गुमाएका छन् भने केही बेपत्ता भएका छन्। त्यहाँ अत्यधिक वर्षाका कारण बाढी र पहिरोको गएको छ र विद्युत् कटौती भएको छ। दक्षिण कोरियाका सार्वजनिक सवारी सेवाहरू पनि प्रभावित भएका छन्।

उत्तर अफ्रिका र जापानमा पनि उष्णलहर देखा परेको छ। गत जुलाईको पहिलो साता विश्वको सबैभन्दा गर्मी दिन भएको अमेरिकी मौसमविद्हरूले बताएका थिए।

अमेरिकाका सरकारी वैज्ञानिकहरूले विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियसभन्दा माथि पुगेको बताएका हुन्।

उनीहरूले नयाँ कीर्तिमान १९औँ शताब्दीको अन्त्यसम्मको कुनै पनि उपकरणमा अभिलेख गरिएको सबैभन्दा उच्च रहेको बताएका थिए। उक्त तापमानले यसअघि सन् २०१६ मा कायम भएको सर्वाधिक तापमानको कीर्तिमान तोडेको छ।

चीन, उत्तर अफ्रिका र दक्षिण अमेरिकामा हालै चलेको गर्मीको लहरबाट अवस्था प्रभावित भएको छ। अनुसन्धाताहरूले जलवायु परिवर्तन प्राकृतिक जलवायु अवस्था एल निन्योको सुरुवातसँग सम्बन्धित भएको ठानिएको छ।

यो वर्ष थप गर्मी हुनसक्ने वैज्ञानिकहरूको चिन्ताबीच नेपालको अवस्था कस्तो रहला
तापमान वृद्धि: विश्वले १.५ डिग्रीमै सीमित गरे पनि हिमाली क्षेत्रमा उथलपुथल हुनसक्ने चेतावनी
कतिपयले उक्त जलवायु अवस्था र मानवजातिले निरन्तर गरिरहेको कार्बन डाइअक्साइड उत्सर्जनको संयोजनले तातो बढाएको बताएका छन्।

इम्पेरियल कलेज लन्डनका एक वैज्ञानिक फ्रेड्रिक ओटोले बीबीसीसँग भनिन्, "अहिले हामी जे देखिरहेका छौँ त्यो अझै पनि जीवाश्म इन्धन बालिरहने विश्वकै अवस्था हो।"

मानिस विश्वव्यापी तापक्रम वृद्धिको प्रवृत्तिभन्दा "सत् प्रतिशत पछि" रहेको उनको भनाई छ।

औद्योगिक क्रान्तिपछि मानव जातिले कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको प्रयोग थालेपछि विश्व १.१ डिग्री सेल्सियसले तातेको छ।

डा ओटो भन्छिन्, "हामीलाई नयाँ सामान्य अवस्था कस्तो हुन्छ भन्ने थाहा छैन किनकि अहिलेको जलवायु स्थिर छैन। विश्वले जीवाश्म इन्धनको प्रयोग बन्द गरेपछि र पूर्ण रूपमा हरित ऊर्जाको प्रयोग थालेपछि मात्र हामीले नयाँ जलवायु अवस्था कस्तो हुन्छ भनेर थाहा पाउन सक्छौँ।"

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend