गोरखा- गोरखाको गण्डकी गाउँपालिका–२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आजभोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ। कक्षा ५ सम्ममात्र पढ्नुभएकी उहाँले घरसँगै जोडिएको सानो टहरामा बनाउनुभएको कुखुरा फार्ममा बोइलर जातको कुखुरा पाल्न थालेपछि दैनिकी फेरिएको हो।
थोरै जग्गा जमिन र त्यसबाट हुने उब्जनीले तीनजनाको परिवार पुग्न धौधौ हुने भएपछि सिर्मलकी श्रीमान् वैदेशिक रोजगारीमा गए। घरमा आफू पनि केही न केही आर्थिक आयआर्जनमा जोडिनुपर्छ भन्ने ठानेर व्यावसायिक कुखुरापालन तालिम लिएर उहाँले सानो खोर बनाएर कुखुरापालन सुरु गरिन् अहिले त्यहीँ तालिमले उहाँलाई स्वरोजगार बनाएको छ।
'तालिम लिएपछि थोरै भए पनि आम्दानी हुन्छ भनेर सुरुसुरुमा खोरमा १०-१५ वटामात्र बोइलर कुखुराको चल्ला हालेर व्यवसाय सुरु गरेँ,' उनले भनिन्, 'यसबाट मासिक रु दुईचार हजार आम्दानी हुन थालेपछि अहिले घरमै बसेर पनि आम्दानी गर्न सकिँदोरहेछ भन्ने लागेर व्यावसायिक रुपमा कुखुरापालन गरिरहेको छ, यसले राम्रो आम्दानी दिएको छ।'
व्यावसायिक रुपमा कुखुरापालन तालिम लिएर कुखुरा पाल्न थालेपछि घरमै बसेर पनि वार्षिकरुपमा करिब रु एक लाख ८० हजारसम्म आम्दानी गर्ने गरेको सिर्मलले बताइन्। 'अहिले ७० वटा जति कुखुरा हालेको छु,' उनले भनिन्, 'पैतालिस दिन जतिमा बेच्न हुन्छ त्यसले दैनिक घरखर्च चलाउन मलाई श्रीमान्ले विदेशबाट पैसा पठाउनु परेको छैन।'
विपन्न तथा सीमान्तकृत महिलाका आयआर्जन वृद्धिका लागि गण्डकी गाउँपालकाको समन्वय, युएसएआइडीको आर्थिक सहायोग र नेपाल महिला दलित उत्थान स्ङ्घ (एडवान) को आयोजनामा सञ्चालित तालिम लिएपछि व्यावसायिक कुखुरापालन गरेर आफैँले कमाएर घरखर्च चलाउन सक्नुपर्छ भन्ने लागेर कुखुरा पालन सुरु गरेको उनको भनाइ छ।
'तालिम लिएपछि सानो भए पनि केही न केही आर्थिक आयआर्जन हुने व्यवसाय गनुपर्दो रहेछ भन्ने लाग्यो, सिर्मलले भनिन्, 'सानोबाट सुरु गरेर विस्तारै बढाउँदै लैजान सकिन्छ भनेर १५-२० वटाबाट सुरु गरेर अहिले ७० वटासम्म पाल्ने गरेको छु।'
व्यवसाय सुरु गरेसँगै दैनिकरुपमा घरखर्च टार्न पैसाको अभाव नभएको सिर्मलको भनाइ छ। 'कुखुरा नपाल्दा पैसाको अभाव हुन्थ्यो, कुखुरा पालेदेखि आफूलाई खर्च गर्ने अनि बच्चा पढाउन धेरै सजिलो भएको छ,' उनले भनिन्, 'एकदुई वटा बिचबिचमा बिक्री भइरहने हुँदा समस्या छैन।'
सुरु सुरुमा डोकोमा बोकेर होटल, पसल र गाउँगाउँमा कुखुरा बेच्नु परेको दुःख सुनाउने उहाँले अहिले भने बिक्रीका लागि कठिनाइ नभएको बताइन्। 'अहिले त नम्बर राख्छु, होटलले समेत सम्पर्क गरेर लैजान्छ,' सिर्मलले भनिन्। व्यवसाय सुरु गरेपछि विदेशमा श्रीमान्ले कमाएका पैसा घर खर्चका लागि खर्च गर्नु नपरेको सिर्मलले बताइन्। सानै उमेरमा बिहे गरेकी उनले अरुको मेलापात गरेर जीविकोपार्जन गर्दै आएको भए पनि अहिले भने कुखुरा पालनबाट सन्तुष्ट छन्।
कुखुराको चल्ला राख्दा खोर सफा गर्ने, औषधि खुवाउने, दाना खुवाउनेलगायतका कुरा तालिममा सिकेको उनको भनाइ छ। नपढेको भए पनि सानोसानो व्यवसाय गरेर आफ्नो आर्थिक कमजोरीलाई उकास्न सक्ने भन्दै उनले गर्न चाहे घरमै बसेर पनि थोरै थोरै आम्दानी गर्न समस्या नहुने बताइन्।
अर्काको काम गर्दा भन्ने बित्तिकै ज्याला पाउन पनि सजिलो छैन, सिर्मलले भनिन्, 'विदेशमा दुःख गरिरहनुभएको श्रीमान्ले पनि भन्ने बित्तिकै पठाइदिनु भन्न पनि मिल्दैन, श्रीमान्लाई पिर्ने कुरा पनि भएन त्यस कारणले पैसाको अभाव हुन्थ्यो, अहिले कुखुरा पाल्न थालेपछि यसैबाट आउँछ सजिलो भएको छ।'
जङ्गलको छेउमा गुन्द्रीको ढोका हालेर जीवन गुजार्दै आएकी सिर्मलको अहिले गाउँमा चिटिक्क परेर बलियो घर छ। 'आर्थिक अवस्था कमजोर भएकाले दुःख पनि सिकायो,' उनले भनिन्, 'नपढे पनि अहिले आफ्नो खुट्टामा आफैँ उभिनसक्ने भएको छु आफैँलाई खुसी लाग्छ।' पहिला-पहिला बिहान बेलुकी छाक टार्न नै गाह्रो हुने सुमनाको परिवारमा अहिले दुईचार हजारका लागि कसैकोमा धाउनु परेको छैन।