‘बुकी’बाट बेँसी झर्न थाले गोठाला


साथसाथै न्युज
१५, असोज २०८०
‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

म्याग्दी- गाईवस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन्।  शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन्। पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ। 

धौलागिरि गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरेको बताए। 'वैशाखमा उभौलीको पूजा गरेर लेकतिर लागेको गोठ पालुवा पलाउँदै गरेको घाँस खुवाउँदै जेठको अन्तिममा जलजलाको धनमाने खर्कमा पुगेका थियो,' उनले भने, 'तीन महिना बुकीमा चराएर अहिले गाउँको मकै बारीमा उम्रिएको ल्योस (घाँस) खुवाउन ल्याएको हो।'

दसैँमा गाउँ नजिकैको बारीमा रहने गोठ तिहारमा धान भित्र्याएपछि बेँसीको सोलवाङ फाँटमा झार्ने चलन रहेको मगरले बताए। गोठ बेँसी झर्न थालेपछि गाउँघरमा चाडपर्व भित्रिएको महसुस गर्छन्। 

पोसिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन्। गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहलले रौनक छाएको छ। पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन्। ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन्।

महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ। करिब तीन-चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धौलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताए। 

'पहिले हामी गोठमा जाँदा घरमा किनेर तेल खानुपर्दैनथ्यो। घ्यूले पुग्दथ्यो। मोही धेरै भएर खोलामा फाल्नुपर्दथ्यो,' उनले भने, 'अहिले गोठ राख्ने ठाउँसम्म नै गाडी पुगेकाले खाने, बस्ने सामान बोक्नुपरेन। घ्यू र मोहीबाट छुर्पी बनाएर बिक्री गरेर आम्दानी हुन्छ।'

एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन्। वस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन्। ढोरपाटन नजिकैको जलजला र गुर्जाघाट क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकाको कृषकको लागि छुट्टाइएको छ। 

पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन्। यसपालि बुकीमा लम्पी स्किन रोग फैलिएपछि धेरै गाईगोरु बिरामी भए र केही मरेका कृषकले बताएका छन्। 

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बुकीको गोठमै पुगेर लम्पी स्किनबाट बिरामी परेका गाईगोरुको उपचार र खोप लगाइएको बताए। 

सम्बन्धित समाचार

  • जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

    जुम्ला, ४ असारः जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात्

  • नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

    गण्डकी- नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ। पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ

  • पुरैनी तालमा चराको सङ्ख्या घट्यो

    कञ्चनपुर- बेलौरी नगरपालिका ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend