काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०४५ सम्ममा ‘नेट–जिरो’ (शून्य कार्बन उत्सर्जन) मा पुग्ने प्रतिबद्धता दोहोर्याएका छन्।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको मुख्यालयमा भएको ‘क्लाइमेट एम्बिसन समिट’ लाई सम्बोधन गर्दै नपेरिस सम्झौतालाई पालना गर्न नेपाल प्रतिबद्ध दोहोर्याएका हुन्।
पेरिस सम्झौताको मुख्य उद्देश्य पृथ्वीमा बढ्दो तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने हो। त्यसका लागि सदस्य मुलुकहरूले कार्बन उत्सर्जनलाई हटाउँदै जाने हो। नेपालले यसअघि स्कटल्याण्डको ग्लासगोमा भएको कोप-२६ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले सन् २०४५ सम्म नेट जिरो लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले दोहोर्याएका हुन्। ल
प्रधानमन्त्री प्रचण्डले एलडीसी मुलुकहरुले जलवायु परिवर्तनको असर भोगिरहेको पनि उल्लेख गरेका छन्। उनले एलडीसी मुलुकले ३.३ प्रतिशतमात्र कार्बन उत्सर्जन गरेको बताए। प्रचण्डले एलडीसी मुलुकहरूलाई जलवायु परिवर्तनको सामना गर्न ५ कुरा गर्नुपर्ने प्रस्ताव पनि राखे।
उनले दोहा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लानुपर्नेसमेत बताएका छन्। त्यसका लागि आवश्यक स्रोत–साधनका साथै प्रविधिहरूको बृहत् रूपमा प्रयोगबाट जलवायु परिवर्तनको बिग्रँदो अवस्थालाई सम्बोधन गर्न सकिने उनको भनाइ थियो।
सन् २०२५ सम्ममा जलवायु परिवर्तनको क्षेत्रमा लगानीलाई दोब्बर बनाउनुपर्ने उनले उल्लेख गरेका छन्। तेस्रो प्रस्तावका रूपमा जलवायु परिवर्तनको सामना गर्नका लागि १०० बिलियन अमेरिकी डलर लगानीको वाचा गरिएकामा त्यसलाई पूरा गर्नुपर्ने बताए। जसले गर्दा एलडीसी मुलुकहरूलाई सहयोग मिल्ने उनको भनाइ थियो।
उनले विश्वका ४८ प्रतिशत जनसंख्या विद्युत्को पहुँचबाट बाहिर रहेको उल्लेख गर्दै दिगो विकासका लक्ष्यहरू अन्तर्गतको ७ नम्बरको लक्ष्य पूरा गर्न पहल र सहयोग गर्नुपर्ने धारणा राखे। प्रधानमन्त्री प्रचण्डले कोप–२८ का दौरान आलोचनात्मक रूपमा जलवायु परिवर्तनको समीक्षा गरेर पृथ्वीको तापक्रमलाई १.५ अन्तर्गत नै राख्नका लागि काम गर्नुपर्ने उल्लेख गरे।
उनले सन् २०३० भित्र मुलुकको ४५ प्रतिशत भूभागमा वनले ढाक्ने लक्ष्य राखेको बताए। उनले क्लिन इनर्जीतर्फ नेपालले अहिले १४ सय मेगावाट रहेकामा सन् २०३० भित्र १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य रहेको उल्लेख गरे।