पुर्ख्यौली जग्गामा कृषि उद्यम गर्दै सुशील


३०, फागुन २०८१
पुर्ख्यौली जग्गामा कृषि उद्यम गर्दै सुशील

म्याग्दी - मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गर्नुभएको छ । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गर्नुभएको हो । मङ्गला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गर्नुभएको छ । 

“हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए”, खड्काले भन्नुभयो, “जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ ।”

अमेरिकाको भेण्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौँमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गर्नुभएको छ । खड्काको सातबिसेमा एक सय रोपनी पुख्र्याैली जग्गा छ ।

सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए । सातवटा २० रूपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ । खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए । 

पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका जानुभएका सुशील सन् २०१५ मा नेपाल आउनुभएको थियो ।

कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उहाँलाई पुख्र्याैली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गर्नुभएका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गर्नुभएको छ । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थाल्नुभएको हो । 

केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाउनुभएको छ । केरा बेचेर पछिल्लो एक वर्षयता रू एक लाख आम्दानी गर्नुभएका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा हुनुहुन्छ । आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उहाँको योजना छ । 

“देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो”, खड्काले भन्नुभयो, “जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो ।”

राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend