देशभर फैलियो मनसुन तर तत्काल छैन झरीको सम्भावना


११, असार २०८१
देशभर फैलियो मनसुन तर तत्काल छैन झरीको सम्भावना

१० असार, काठमाडौं ।  सरदर मितिभन्दा तीन दिन छिटो नेपाल भित्रिएको मनसुन अघिल्लो वर्षभन्दा १५ दिन ढिलो गरी देशभर फैलिएको छ । गत वर्ष सरदर मिति (१३ जुन) भन्दा एक दिन छिटो नेपाल भित्रिएको मनसुन ९ दिन ढिलो गरी देशभर फैलिएको थियो ।

यस वर्षको मनसुन २८ जेठ अर्थात् १० जुनमा कोशी प्रदेशमा भित्रिएको थियो । आज असार १० गते अर्थात् २४ जुनमा सुदूरपश्चिम प्रदेशभर मनसुन फैलिएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज देशभर मनसुन फैलिएको जानकारी दिए ।

तत्काल छैन झरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना औंल्याएको छ ।
मनसुन देशभर फैलिए पनि तत्काल देशभर झरीको सम्भावना भने नरहेको मौसमविद बताउँछन् । ‘मनसुन देशभर फैलिए पनि तत्काल लगातार झमझम पानी पर्ने सम्भावना देखिँदैन,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद झाले त्यसको कारण खुलाए, ‘किनभने मनसुन ट्रफ (न्यूनचापीय रेखा) बनेकै छैन ।’

न्युनचापीय रेखाको सरदर स्थान भारतको कलकत्ता आसपास हुन्छ । त्यो रेखा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा झरी पर्छ । यदि फेरि भारततिरै सरेमा भारतमा झरी पर्छ । अहिले त्यस्तो रेखा बनेको नदेखिएको मौसमविद झाको भनाइ छ ।
वरिष्ठ मौसमविद एवम् जलवायु विश्लेषक डा. इन्दिरा कँडेलका अनुसार हावाको चाप जहाँ कम हुन्छ, त्यतै हावा सोरिएर जम्मा हुन्छ । त्यहाँ बादल बन्छ र पानी पर्छ । जहाँ बढी पानी पार्ने बादल जम्मा हुन्छ त्यसैलाई न्यूनचापीय रेखा भनिन्छ । माथिल्लो वायुमण्डलमा बन्ने यस्तो रेखा तटस्थ हुँदैन । यो जता सर्छ, त्यतै बढी पानी पर्छ ।
मौसमविदहरुका अनुसार यस वर्षको मनसुन अवधिमा नेपालका अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ ।

क्षितिजबाट बर्षेको मुसलधारे झरि ।
तर सुरुका केही दिन राम्रोसँग पानी नपर्ने मौसमविदहरु बताउँछन् । किनभने यस वर्ष मनसुन अवधिको सुरुका दुई महिना (जुन–जुलाई)मा ‘अल–निनो’को स्थिति तटस्थ अवस्थामा रहने सम्भावना छ । ‘अल–निनो’को प्रभाव हुँदा कम वर्षा हुन्छ ।

त्यसपछिका दुई महिना अर्थात् (अगस्ट–सेप्टेम्बर) मा भने ‘ला–निनो’को अवस्था हुने मौसमविदको निष्कर्ष छ । ‘ला–निनो’को अवस्थामा बढी पानी पर्छ ।

यस वर्ष ‘अल–निनो’को प्रभाव भएकाले कम पानी पर्दा देशभर अचाक्ली गर्मी बढेको थियो । कोशी प्रदेशमा मनसुन भित्रिँदा पनि पश्चिम तराईका भूभागमा तातो हावाको लहर चल्दा जनजीवन प्रभावित भएको थियो ।

आज देशभर मनसुन देशभर फैलिएको दिन पनि लुम्बिनी र पश्चिम तराईका केही जिल्लामा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि देखिन्छ ।

मौसमविदहरुका अनुसार जलवायु परिवर्तनको असरका कारण पानी पर्ने प्रवृत्तिमा पनि परिवर्तन हुँदै आएको छ । केही वर्षयता सरदर मितिभन्दा नेपालमा मनसुन आगमन र बहिर्गमन मिति पनि ढिला हुँदै गएको छ ।

हेर्नुहोस् नेपालमा मनसुन आगमन र बहिर्गमनको मिति

Mansoon-onset-and-withdrawal-date-in-Nepal-scaled.jpg
मनसुन अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको सरदर ८० प्रतिशत पानी पर्दछ । अवधिमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्छ । कुनै वर्ष त्योभन्दा १० प्रतिशत घटी वा बढी वर्षा भए पनि औसत नै मानिन्छ ।

मनसुन अवधिमा धेरै पानी पर्ने भएकाले बाढी पहिरो र डुबानको समस्या बर्सेनि हुने गर्दछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने प्रक्षेपण गर्दै पूर्वसतर्कता अपनाउन सबैलाई आह्वान गरेको छ ।

सम्बन्धित समाचार

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान

    काठमाडौँ- यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग

  • पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

    काठमाडौँ- यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend