वर्षाले राहत : मूल फुट्ने आश


३०, वैशाख २०८१
वर्षाले राहत : मूल फुट्ने आश

महोत्तरी- गर्मी बढेर पानीका स्रोतका रुपमा रहेका मुहान सुक्दै गएका बेला एक साताभित्रै दुईपटक वर्षा भएपछि महोत्तरीमा सर्वसाधारणले राहत महसुस गरेका छन् । वैशाखको अन्तिम साताको प्रारम्भ र अन्त्यतिर दुईपटक  पानी परेपछि अब पानीका स्रोतका रुपमा रहेका मुहान रसाउने सर्वसाधारणले आश गरेका हुन्। 

घामको रापले खानेपानीका इनार, चापाकल र खोल्सीका जरुवा सुकेपछि जिल्लाका धेरैजसो बस्तीमा खानेपानीको हाहाकार नै पर्लाजस्तो भइसकेको छ ।

यसैगरी पोखरी, नदी र खोल्साखोल्सी स्याप्पै सुकेपछि गाईबस्तुलाई पानी खुवाउन, आहाल बसाउन र चर्को घामले घाँसपात डढेपछि चरनको पनि समस्या बढिरहेकामा पानीले सर्वसाधारणमा अब मुहान रसाउने आश जागेको हो। 

“यसै साताको सुरुमा पनि एक दिन राम्ररी नै पानी प-यो, आज पनि बिहानैदेखि सिमसिम पानी परिरहेको छ, यसले सुख्खा माटोमा चिस्यान भर्ने र पानीका स्रोतका मुहान रसाउने आश छ” भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय रामजुलुम बाँतर भने, “यो पानीले चउर र पर्तीजग्गामा घाँस पलाउला, यसपछि अलि राहत पाइएला।”

अहिले जिल्लाभर नै पानीका स्रोतका रुपमा रहेका मुहान सुक्दै गएका छन्।  जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका अधिकांश बस्तीमा खानेपानीको हाहाकार नै परेको छ। “र्हेनोस् न, हाम्रो यो वडाका पाँच टोलबस्तीभित्र ३०० को हाराहारी चापाकल होलान्, कुनैमा पानी झर्दैन” भङ्गाहा–४ का पूर्व वडाध्यक्ष अशोककुमार महतो भन्नुहुन्छ, “इनारमा पनि बाल्टिन डुब्न छोडेको छ, खै थोरै पानी त प-यो, अब मुहान रसाउँछ कि !” आफ्नो वडाका रामनगर, प्रेमनगर, थारुटोल बनरा, पलार र टोका बस्तीका करिब पाँच सय घरधुरीबीच चार/पाँचवटा इनारबाट खानेपानीको जोहो भइरहेको महतोको भनाइ छ। 

एक साताभित्रै दोस्रोपटक पानी परेपछि यसको सकारात्मक प्रभाव फलफुल, तरकारी र मकै, कोदोसहितका अन्नबालीमा पनि परेको छ। यो साताको पहिलो वर्षालगत्तै सुक्नै लागेको मकै फेरिएको छ। अब चाहिँ मकैमा घोगा लाग्ने आश जागेको बर्दिबास–७ मनहरिपुरकी किसान मुना खत्री बताए। 

पछिल्लो साताको दोस्रो वर्षाले आँप, लिची, रुख कटहरलगायतका फलफुलका रुखका जालो र आँपमा लाग्ने मधुवा कीरा पखालिएको किसान बताउँछन् । अब फलफुलका चिचिला, पोटिला र भरिला हुने गौशाला–१२ कालीपुरका महेश्वर महतोको आश छ।

यसैगरी घामको रापले ओइल्याउँदै गएका लहरे तरकारी  वर्षापछि लहलहाउन थालेको देखिएको छ। वर्षाले अहिले माटोमा राम्रो चिस्यान भएको हुँदा मकै छर्ने, कोदो र धानको ब्याड राख्न अनुकूलता भएको किसानको भनाइ छ। वैशाख मसान्तताकाको यो वर्षाले पानीका स्रोतका मुहान  रसाउने र बालीनालीमा अनुकूल प्रभाव पारेपछि किसानलाई अब खडेरीको मारमा नपरिने विश्वास जागेको छ।

राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend