अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै


साथसाथै न्युज
२, वैशाख २०८१
अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ। सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको  हो।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ। यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ। यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताए।

‘चालु आवमा जिल्लामा एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ, गत आवमा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो’, उनले भने, ‘जिल्लामा पछिल्लो दुई/तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ।’

आव २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएकोमा जम्मा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो। पहिला–पहिला खोलाबाट कुलोमार्फत सिँचाइ पुगेको स्थानमा मात्र चैते धान खेती गरिन्थ्यो भने अहिले डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुगेको ठाउँमा पनि यो खेती गर्न थालिएकाले क्षेत्र विस्तार भएको ढकालले बताए। सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानले चैते धानलाई प्राथमिकता दिन थालेका छन्। चैते धान खेतीको क्षेत्र विस्तार भएसँगै उत्पादन पनि बढ्न थालेको छ।

बालीविज्ञ ढकालले भने, ‘जिल्लामा गत आवमा चैते धानको उत्पादन छ हजार एक सय २३ मेट्रिक टन भएको थियो भने यो सिजनमा क्षेत्र बढेकाले छ हजार सात सय ५० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ।’ वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलाई प्राथमिकता दिन थालेको उनको बुझाइ छ। कतिपय स्थानमा किसानले एउटै धानको बीउ धेरै वर्षसम्म लगाउँदा उत्पादनमा वृद्धि हुन नसकेको ढकालले जानकारी दिए।

जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेती हुने गरेको छ। यहाँ चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।

‘धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा अनुदान प्रदान गरेको छ’, उनले भने, ‘जिल्लाभित्र उत्पादन हुने चैते धान कृषक आफैँले बिक्री गर्ने गरेका छन्।’

जिल्लाको भौगोलिक अवस्थाअनुसार माघ अन्तिम हप्तादेखि सुरु भएको चैते धान रोपाइँ चैत अन्तिम हप्तामा सकिएको प्रमुख तिवारीको भनाई छ। जिल्लामा चैते धानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उनले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्र धान निर्यात गर्न सकिने बताए। -रासस  

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend