सिँचाइको लागि पानी नहुँदा रोपाइँ भएन, खेत बाँझै हुने चिन्ता


साथसाथै न्युज
७, साउन २०८०
सिँचाइको लागि पानी नहुँदा रोपाइँ भएन, खेत बाँझै हुने चिन्ता

धनुषा- कमला नदीमा पानीको सतह कमहुँदा सिरहा र धनुषाका किसानलाई सिँचाइ गर्न समस्या भएको छ।  कमला नदीमा पानीको सतह घट्दा कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको कमला सिँचाइ नहर प्रणालीमा पर्याप्त पानी पुग्न सकेको छैन।

'धान रोपाइँ गर्न ढिलाइ भइसक्यो, तर खेतमा पर्याप्त पानी पुग्न सकेको छैन', धनुषाका किसान अमोद यादव भन्छन्, 'वर्षा कम भए पनि अघिल्लो वर्ष हामीले कमला नदी प्रणालीबाटै सिँचाइ गरेर धान रोपाइँ गर्यौँ।' तर अहिले कमला नदीमा पानीको सतह घटेर खेतसम्म पानी पर्याप्त पुग्नै सकेको छैन, यसका कारण खेती गर्न ठूलो समस्या भएको उनको भनाइ छ।

'पहिला–पहिला असार, साउन र भदौ महिनामा कमला नदीमा ठूलो बाढी नै आउथ्यो', सिरहाको औरहीका किसान राघव साह भन्छन्, 'हामी कमला सिँचाइको नहरबाटै सिँचाइ गरेर धान रोपाइँ गर्दथ्यौँ, तर पछिल्लो केही वर्षदेखि कमला नदीमा पानीको बहाव घट्दै गएको छ, नहरमा पनि चाहिएको जति पानी आउँदैन।'

पानीकै आभावमा अघिल्लो वर्ष पनि हामीले खडेरीको मार खेप्यौँ, यसपालि त झन् ठूलो समस्या खेप्नुपर्ने देखिन्छ', उनको दुःखेसो थियो।

धानखेतीका बेला पानीको अत्यधिक माग भए पनि कमला नदीमा पानीको बहाव घटेर नहरमा पानी कम आउन थालेपछि किसान चिन्तामा डुबेका छन्। 'एकातिर लामो समयदेखि वर्षा भएको छैन, अर्कातिर नहरमा चाहे जति पानी आएको छैन', राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासङ्घका अध्यक्षसमेत रहेका धनुषाका किसान गजाधर यादव भन्छन्, 'यस्तो अवस्थामा किसानले कसरी सिँचाइ गर्छ र धान रोपाइँ गर्छ रु यो ठूलो प्रश्न र चिन्ताको विषय बनेको छ।' 

विश्वव्यापीरूपमा देखिएको जलवायु परिवर्तनको प्रभावका कारण इतिहासमै पहिलोपटक यस वर्ष कम वर्षा भएर नदीमा पानीको बहाव कम हुँदै गएको उनको कथन छ।

'कमला नदीमा पानीको बहाव कम हुनु किसानका लागि असाध्यै चिन्ताको कुरा हो', उनी भन्छन् 'सिँचाइका लागि कमला नदीमा पर्याप्त पानी आवश्यक छ, वर्षैभरि कमला नदीमा पानी ल्याउन तत्काल सुनकोशी–कमला डाइभर्सनको काम तत्काल अघि बढाउनुबाहेकको विकल्प छैन।'

सुनकोशीबाट कमला नदीमा पानी झार्न सकिए वर्षभरि कमला नदीमा पानी आउँछ, यसबाट सिरहा, धनुषा र सप्तरीमा सिँचाइ सुविधा पुग्ने उनको दाबी छ। 

अहिले कमला नदीमा पानीको सतह कम भएर सिँचाइ नहरमा पानी पर्याप्त नआउँदा कतिपय ठाउँमा किसानबीच कुटाकुटसमेत हुने गरेको छ। कमला सिँचाइ नहर प्रणालीमा कम पानी आउँदा किसानबीच पहिला म खेतमा पानी हाल्छु त पहिला म हाल्छु भन्दै झडप र कुटपिटसमेत हुन थालेपछि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले आलोपालो विधिबाट किसानको खेतमा पानी पठाउन थालेको छ।

'पानीका विषयमा कतिपय ठाउँमा किसानबीच विवाद हुने र कुटपिटसमेत हुने गरेको पाइएकाले अहिले आलोपालो गरेर पानी पठाउन थालेका छौँ', कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले भने, 'अहिले पानीको माग धेरै छ, तर नहरमा कम पानी आइरहेको छ, यस्तो अवस्थामा आलोपालोबाट पानी नपठाउनेबाहेक हामीसँग कुनै विकल्प छैन, अहिले आलोपालो गर्दा पुछारका किसानले पनि पानी पाइरहेका छन्, नत्र पहिला मुहानका किसानले मात्र पानी पाउने र पुछारका किसानले पानी नै नपाउने अवस्था थियो।' 

'साधारणतया कमला नदीमा पानीको स्तर बढ्दा किसानलाई सिँचाइ गर्न सहज हुन्छ तर अहिले नदीमा पानी नै छैन', प्रमुख यादव भन्छन्, 'पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिँचाइको पहुँच पुगेको त छ, तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिँचाइ गर्न समस्या भएको हो।'

नहरमा पानी कम आउँदा पनि अचेल रातदिन खटेर किसानको खेतमा पानी पुर्याइरहेको प्रमुख यादव बताउछन्। निर्माण गरिएको कमला सिँचाइ पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुँदै आएको छ।

विगतका वर्षमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरिएको प्रमुख यादवको भनाइ छ। 

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend