कृषिबाटै करोडपति बनेका कृष्ण राई  


साथसाथै न्युज
२७, फागुन २०८०
कृषिबाटै करोडपति बनेका कृष्ण राई  

धरान ।  कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्छन्।

कृषिबाटै नाम र दाम कमाएका उनी भन्छन्, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ’, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गरेका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आएका छन् । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोड्नु भएको छ, भव्य घर बनाएका छन् । कृषिबाट उनी आफुले मात्र कमाएका छैनन्, अरुलाई पनि रोजगारी दिएका छन् ।

कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ विघा किनिसकेका छन् । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन् भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाएका छन् । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन् ।

त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्छन् भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्छन् । उनले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पालेका छन् । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गरेका छन् भने त्यससँगै माछा पनि पालेका छन् ।

उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उहाँले १६ जनालाई रोजगारीसमेत दिएका छन् । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहेका छन् । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक १२ लाखको हाराहारीमा कमाई भइरहेको उनी बताउँछन् ।

पचपन्न रुपैयाँबाट सुरु  

अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । उनी भन्छन्, ‘सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो ।’

सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देखे ।

त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाए । ‘त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ’, उनी सम्झ्छिन्, ‘त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।’

कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उनका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले । पत्रपत्रिकामा कृषिका समाचार देख्ने बित्तिकै पढ्न थाले । उनी भन्छन्, ‘कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थे, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।’

खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोगे तर समस्यासँग कहिल्यै हार मानेनन् । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनी अरुलाई पनि सिकाउँछन् । उनले केही वर्षअघि बसन्तटारमा रु ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन् । उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उनी भन्छन्, ‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’

रासस

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend