जडीबुटीखेतीमा किसानको आकर्षण


साथसाथै न्युज
२७, फागुन २०८०
जडीबुटीखेतीमा किसानको आकर्षण

टीकापुर- कैलालीको टीकापुर, लम्की–चुहा, जानकी, भजनी र बर्दगोरिया पालिकाका दुई सय १२ किसान जडीबुटीखेतीमा लागेका छन्। धान, तोरीपछिको तेस्रो बालीका रूपमा जडीबुटीखेती गर्न लागेका हुन्।

टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीबाट बीउ लगेर जडीबुटीखेती गरिरहेका छन्। यस वर्ष जडीबुटी कम्पनीले मेन्था तेल उत्पादन चार हजार किलो लक्ष्य राखेको छ। अहिलेसम्म रु ५६ लाखको तेल उत्पादन भइसकेको कम्पनीले जनाएको छ।

'एक सय ५२ किसानले मेन्थाखेती गरेको छ भने ५५ किसानले युक्यालिप्टसखेती गरेका छन्। यस्तै पाँचजना किसानले क्यामोमाइलखेती गर्नुभएको छ', कम्पनीका टीकापुर प्रमुख कमल बेल्वासेले भने, 'टीकापुरमा जडीबुटी उत्पादन गर्ने अत्याधुनिक उद्योग सञ्चालनमा छ तर यसले पूरा क्षमता उत्पादन गर्न पाएको छैन।' उनले जडीबुटी उत्पादनका लागि बीउ स्थानीय सरकारले अनुदान दिने हो भने किसानको आकर्षण अझै बढ्ने बताए।

'तेस्रो बालीका रूपमा ९० दिनमा प्रतिकठ्ठा कम्तीमा रु सात हजार प्रतिफल लिन सकिन्छ', उनले भने, 'कम्पनीले किसानको जडीबुटी निःशुल्क प्रशोधन गर्ने गरेको छ भने किसानको उत्पादन कम्पनीले नै खरिद गर्ने गरेको छ।'

बीउ उत्पादनका लागि कम्पनीले आफैँ खेती गरे पनि तारबारको अभावमा संरक्षण हुन नसकेको प्रमुख बेल्बासेले बताए। यसरी जडीबुटी उत्पादन गर्नेमा टीकापुर नगरपालिकाका किसान धेरै छन्। किसानले बजार खोज्नु नपर्ने भएपछि जडीबुटीबाट आम्दानी लिन सहज भएको स्थानीय किसानको भनाइ छ।

'अघिल्लो वर्ष रु सात हजारको बीउ किनेर मकैखेती गर्दा जम्मा रु १२ हजारको मकै भयो, यस वर्ष मकैखेती नगरेर एक बिघा जग्गामा मेन्थाखेती गरेको छु', टीकापुर–१ वनगाउँका किसान दिलबहादुर चौधरीले भने, 'तेस्रो बाली हो, अरु खेती गर्नुभन्दा जडीबुटीखेती गर्दा राम्रो हुन्छ।' जडीबुटीखेती गर्न किसान तयार भए पनि बीउलगायत अन्य सुविधा नभएका कारण समस्या भएको चौधरीले बताए।

एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुने जनाइएको छ। मेन्थाबाट प्रशोधित तेल प्रतिलिटर रु एक हजार चार सय, यूक्यालिप्टस प्रतिलिटर रु एक हजार एक सय ५० र केमोमाइल रु १९ हजार प्रतिकिलोमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरले खरिद गर्ने गरेको छ।

कम्पनीसँग टीकापुरमा साढे चार बिघा जग्गा छ। यही जगामा किसानका लागि आवश्यक पर्ने बीउ उत्पादन गर्ने गरेको छ। अन्य उत्पादनमा अनुदान पाएपछि तीन वर्षअघिदेखि जडीबुटीखेती गरिरहेका किसानले जडीबुटीखेती गर्न छाडेका थिए। यस वर्ष पुनः जडीबुटीखेतीमा लागेको स्थानीय किसानको भनाइ छ।

प्रशोधन कम्पनीसँग जडीबुटी प्रशोधन गर्ने दुई थान मेसिन थिए। खेती गर्ने किसान बढेपछि जडीबुटी प्रशोधन कम्पनीले छ वर्षअघि करिब रु एक करोड ५० लाखमा अत्याधुनिक थप चार मेसिन बढाएर छ थान पुर्याएको छ। जडीबुटीखेती अन्नबालीभन्दा सजिलो र नगदेबाली भएकाले किसानको आकर्षण बढेको उनीहरूको भनाइ छ।

कम्पनीले स्थानीयलाई रोजगार पनि दिएको छ। कम्पनीको टीकापुर शाखामा नियमितरूपमा ३० दैनिक ज्यालादारीमा र सात जना स्थायी कर्मचारी छन्। जडीबुटी उद्योगसँग रहेको छ प्रशोधन मेसिन दैनिक १६ घण्टा चल्छन्। कम्पनीले दैनिक ५० टन जडीबुटी प्रशोधन गर्न सक्ने कम्पनीका प्रमुख बेल्वासेले बताए। 'जेठ र असारमा मेन्था, फागुन र चैतमा क्यामोमाइल प्रशोधन गरिन्छ। अन्य समयमा कोरा जडीबुटी सङ्कलनको काम गर्छौँ', उनले भने।

'मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ', कम्पनीका प्रमुख बेल्वासेले भने, 'सञ्चो र मसाज तेल स्वदेशमा राम्रो खपत भइरहेको छ।' प्रशोधित तेल आफ्नै जडीबुटी कम्पनीले उत्पादन गर्ने तेलमा खपत भइरहेको उनले भने। 'केमोमाइलबाट प्रशोधित तेल भने विदेशमा खपत हुने गरेको छ', उनले भने'मेन्था र केमोमाइलबाट उत्पादित तेल दर्जनौँ औषधि तथा चकलेटमा प्रयोग हुन्छ।'

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend