विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला


८, पुस २०८०
विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला

काठमाडौ‌‌-  तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा बिक्री गरेका छन्। उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका छन् । 

यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन् । कृषक अधिकारीले भने, “ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु । यो वर्ष रु ७५ लाखमा सुन्तला बिक्री गरेको हुँ ।”

जिल्ला विकास समितिका पूर्वसभापति भइसकेका छन् । उनी सुन्तला खेतीबाट सन्तुष्ट छन् । गाउँको भिरालो जमिन सदुपयोग गरी विसं २०५२ देखि व्यावसायिकरूपले सुन्तलाखेती सुरु गरेका अधिकारीले वार्षिक रु ६०/७० लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । 

उक्त सुन्तला बगानमा एक हजार तीन सयभन्दा बढी सुन्तलाका बोट छन् । उनले भने, “गत वर्ष राम्रो उत्पादन भएन । कहिलेकाहीँ समस्या आउँछ ।

म आफैँ पनि बिरामी भएँ, व्यवस्थापन कमजोर भयो ।” सबैभन्दा धेरै यसै वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ थियो । उनले भने, “अन्य वर्ष रु ६०/७० लाखसम्मको सुन्तला उत्पादन भएको थियो । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो ।”

“सुन्तला खेतीका लागि वार्षिक रु १५ लाख खर्च हुने गरेको छ”, उनले भने, “यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ । फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ ।” अधिकारीले भने, “उमाचोक सुन्तला उत्पादनका लागि उर्बर ठाउँ हो । सम्भावना देखेरै नै यो खेतीमा लागेको हुँ । आम्दानी पनि राम्रो भइरहेको छ । यसबाट सन्तुष्ट नहुने कुरै छैन ।”

सुन्तला बिक्रीबाट भएको आम्दानीले नै छोरा इञ्जिनियर र छोरी डाक्टर पढिसकेको उनले सुनाए । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्नसके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन पनि राम्रो हुने उनको भनाइ छ । 

बगानसम्मै सडक जोडिएकाले बिक्रीका लागि सहज भएको सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउने हुँदा बजारको कुनै समस्या नभएको र बिक्री हुँदैन कि भन्ने चिन्ता नभएको अधिकारी बताए ।

सुन्तला खरिद गर्ने ठेकेदार थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताए । “म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।”

जिल्लामा गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । त्यस वर्ष नौ हजार छ सय ४५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर जमिनमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको र कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडाँैका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ ।

यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको सम्बद्ध किसानहरुले बताए । उक्त केन्द्रले चालु आर्थिक वर्षमा सुन्तला खेतीमा सहयोग गर्न रु एक करोड बजेट विनियोजन गरी किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ । 

(रासस)

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend