वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन


४, पुस २०८०
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन

काठमाडौं - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन्। 
 
माछापालन गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको कावासोती–७ का  किसान देवराज सुब्बाले बताउनुभयो। वनको सीमासँग जोडिएका यहाँका बासिन्दाको प्रायः घरैपिच्छे माछापोखरी रहेको उहाँले बताउनुभयो। “यहाँ करिब ७० घरपरिवार सबैजसोको पोखरी छ, वनसँग जोडिएको ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प माछापोखरी बनेको छ”, उहाँले भन्नुभयो। माछापालनबाट आम्दानीसमेत राम्रो हुँद आएको उहाँले बताउनुभयो। 
 
पहिले धानखेती लगाउँदै आउनुभएका यमबहादुर नेपालीले पनि पछि माछापोखरी खन्नुभएको छ। दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि यस माछापोखरी निर्माण गर्ने क्रम बढेको उहाँले बताउनुभयो। जिल्लाको देवचुली, कावसोती, मध्यविन्दु नगरपालिकाको मध्यवर्ती आसपासका क्षेत्रमा दिनप्रतिदिन माछापालन गर्ने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ। वनको सीमा क्षेत्रमा रहेका जग्गामा माछापोखरी निर्माणका लागि यहाँका सामुदायिक वनले समेत सहयोग गर्दै आएका छन्। 
 
माछापालन गर्न चाहनेका लागि नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले सहयोग गर्ने गरेको वनका अध्यक्ष खिलबहादुर गुरुङले बताउनुभयो। नमूना मध्यवर्ती सामुदायिक वन  र कृष्णसार मध्यवर्ती सामुदायिक वनअन्तर्गत पर्ने यस क्षेत्रमा मात्रै एक सय ४०  माछापोखरी रहेका छन्। माछापालनले बन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनमा समेत सहयोग पुगेको अध्यक्ष गुरुङले बताउनुभयो। अन्य बाली लगाउँदा वन्यजन्तुले क्षति पु-याउने हुँदा वन नजिकमा माछापालन व्यवसाय फस्टाउँदै गएको उहाँले बताउनुभयो। यसले वन्यजन्तुले बाली मास्ने समस्या पनि हटेको र माछापालन व्यवसायबाट मनग्य आम्दानी हुने गरेको उहाँले बताउनुभयो। 
 
कावासोती नगरपालिकाले माछापालनमा मध्यवर्ती क्षेत्रका बासिन्दा आकर्षित भएसँगै वडाहरूलाई पकेट क्षेत्रका रुपमा घोषणा गरी अनुदान उपलब्ध गराउँदै आएको छ। कावासोती नगरपालिकाभित्रका वडा नं ७ र १३ लाई माछा पकेट क्षेत्रका रुपमा विकास गर्दै अनुदान उपलब्ध गराउने गरेको कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताउनुभयो। “मध्यवर्ती आसपासमा माछापालन गर्ने क्षेत्र बढ्दै जाँदा नगरपालिकाबाट आवश्यक अनुदान उपलब्ध गराउन थालेका छौँ, किसानले पनि राम्रो आम्दानी लिने गरेका छन्”, उहाँले भन्नुभयो। 
 
 (रासस)

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend