जुनार बेच्न भ्याइनभ्याइ


साथसाथै न्युज
२९, मंसिर २०८०
जुनार बेच्न भ्याइनभ्याइ

काठमाडौं -  रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ। जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उनले बताए। तामाङले भने– “बजारको समस्या छैन।”  व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उनको भनाइ छ। 

जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन। धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन्। मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ।  
 
सुन्तला बगैँचाबाटै प्रतिकिलो रु एक सय र जुनार प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ। पहँेलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं बिद्यालयका विद्यार्थी आउने गरेका तामाङले बताए।   
   
रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ। यसअघि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० मेट्रिक टनका दरले उत्पादन बढेको हो। 

जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग किरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन्। 

जुनार किलोका हिसाबले भन्दा पनि बगैँचामा फलेका आधारमा बिक्री गर्ने गरिएको तामाङले बताए।  अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै बजार मूल्य पनि बढेको छ। गत वर्ष जुनार बगैँचाबाट प्रतिकिलो रु ३० देखि रु ४० मा बिक्री हुने गरेको थियो।  

केही वर्ष यहाँको जुनारमा फल कुहाउने आँैसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो। थोरै बाँकी रहे पनि त्यसमा किरा भेटिन्थे। यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताए। 
 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार यस  वर्ष रामेछापमा जुनारको उत्पादन ह्वात्तै बढेको छ। उनका अनुसार प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन पुगेको छ। यो उत्पादन अहिलेसम्मकै उच्च हो। कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ। उक्त परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताए। 

अघिल्ला वर्षमा बोटमा भन्दा भुइमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताए। फल कुहाउने औँसाबाट जुनार जोगाउनका लािग १० पटकसम्म विषादी छरेको उनका भनाइ छ। 
 
जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो। रामेछाप नगरापालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोगकिरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन्। विगतका वर्षहरुमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको कृषक हिमाल तामाङले बताए।  

रामेछापको ओख्रेनी र सुकाजोरका बगैँचामा जुनार पाकेर पहेँलपुर देखिन थालेका छन्। कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ। गत वर्ष १५ हजार  मेट्रिक टन उत्पादन भएकोमा य वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ। जिल्लाको रामेछाप, रामपुर , सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ। कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषिउपज र फलफूलको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताए।  


 (रासस)

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend